नेपाल र भारतबीच दोस्रो भिडन्त, जित निकाल्न आतुर नेपाल
काठमाडौं । नेपाल र भारतबीचको दोस्रो अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेल आइतबार साँझ हुँदैछ । खेल साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । घरेलु मैदानमा नेपालले जित हासिल गर्न आतुर रहेको प्रतिक्रिया दिएको छ ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो खेलमा भएका गल्ती सच्याएर टिम विजयी नतिजा ल्याउन आतूर रहेको बताएका छन् । उनले पहिलो खेलमा १–१ को बराबरी भएपछि नेपाली फुटबल फ्यानहरुसँग माफीसमेत मागेका थिए ।
खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई शुरुआती अग्रता दिलाएका थिए । तर ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
नेपाली टिमका मुख्य प्रशिक्षक अलमुताइरीले खेलमा अग्रता लिएर पनि त्यसलाई बचाइराख्न नसक्नु आफूहरुको दुर्भाग्य भएको बताएका थिए । दोस्रो खेलमा भने जित नै निकाल्ने उनको दाबी छ । त्यस्तै भारतले पनि पहिलो खेलमा भएका गल्ती सच्याएर सुखद अन्त्य गर्न चाहेको बताएको छ ।
माल्दिभ्समा आगामी महिना अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) सम्म आयोजना हुने साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपालले भारतसँग दुई वटा मैत्रीपूर्ण खेल खेलिरहेको हो । भारत पनि तयारीमै छ ।
हेड टु हेड
नेपाल र भारतले अहिलेसम्म २० खेल खेलिसकेका छन् । हेड टु हेडमा भारत अगाडि छ । भारतले १३ खेल जितेको छ ।
नेपालले दुई खेल जितेको छ । बिहीबारको समेत गरी पाँच खेल बराबरीमा सकिएका छन् ।
नेपालले पछिल्लो पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो ।