पत्रकार विनयको हत्या नै हुनसक्ने प्रमाणहरु धमाधम फेला पर्दै, के गर्दैछन् प्रहरी !
जनकपुरधाम । धनुषाका पत्रकार विनय कुमार यादवको हत्या हुनसक्ने प्रमाणहरु धमाधम फेला परिरहेको छ । मंगलबार बिहान दुर्घटनामा मृत्यु भएको भनिएको पत्रकार यादवको हत्या भएको प्रमाणहरु भेटिदै गएको छ ।
पत्रकार यादवले आफै चलाएको मोटरसाईकल अनियन्त्रित भई मृत्यु भएको घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय ढल्केवरका सई प्रमोद कुमार साहले बताएका थिए । तर, अहिले पत्रकार यादवसँग रहेको ललनकुमार यादवले चलाएको धनुषा प्रहरीले पुष्टि नै गरेको छ । ललनलाई प्रहरीले नियन्त्रणमा लिएपछि नै प्रारम्भिक अनुमानमा पत्रकार यादवको हत्या हुनसक्ने बुझिएको थियो । भने अहिले ललनले नै मोटरसाईकल चलाएको सिसिटिभी फुटेज फेला परेपछि यादवको हत्या नै हुनसक्ने लगभग बुझिएको छ ।
घटनाको अघिल्लो राति होटेलको सिसिटिभी, ढल्केवरबाट महेन्द्रनगरतर्फ आईरहेको सिसिटिभी फुटेज लगायतका सबै प्रमाणहरु अहिले धनुषा प्रहरी समक्ष पुगिसकेको छ । यससँगै धनुषा प्रहरीले पत्रकार यादवको हत्या वा दुर्घटनाबारे अनुसन्धान गदैछ ।
के भेट्यो होटेलको सिसिटिभी फुटेजमा
पत्रकार विनय कुमार यादव राती २ः३० बजेदेखि लालगढको एक होटेलमा आरोपितहरुसँग देखिएका छन् । जसमा धामी भन्ने श्रीनारायण यादव, विनयको मोटरसाईकल चलाएका ललन भन्ने लक्ष्मीनारायण यादव (अहिले पक्राउ परेको), एक पालिकाका ईन्जिनीयर, स्कोरपियो चालक प्रशान्त महतोले होटेलमै सँगै देखिएको छ ।
त्यसपछि पत्रकार यादवले आफैँले फ्रिजरबाट एक बियर निकालेर उनको मोटरसाईकल चालक ललनलाई खानको लागि दिएको देखिन्छ । त्यसअघि ललनले पत्रकार यादवको ब्यागबाट दुई वटा पैसाको गड्डी निकालेको देखिन्छ । पत्रकार यादवले ब्यागमा नगद बोकेर एक साथीको सापटी बुझाउन गएको बेला पैसाकै लोभमा ललनसहितका व्यक्तिहरुले उनको रकम ब्यागबाट निकालेको देखिन्छ ।
घटनास्थल नजिकको सिसिटीभि फुटेजमा पनि यस्तो देखियो
विनय यादवको घटनास्थलभन्दा करिब २०० मिटर उत्तर जडान गरिएको एक सिसिटिभी फुटेजमा समेत विनयको गाडी ललनले चलाएको देखिएको छ । घटनापछि ललनले प्रहरीलाई दिएको बयानमा गाडी विनयले नै चलाएको र आफै अनियन्त्रित भएर दुर्घटना भएको भनेपछि ललनले गाडी चलाएर लगेको देखिएको छ ।
मँगलबार विहान ३ः४१ मिनेटपछि विनय सवार गाडी महेन्द्रनगर तर्फ गएको देखिन्छ । जसमा ललनले चलाएको र विनय उनको काँघमा दुवै हात राखेर बसिरहेको देखिन्छ । त्यो भन्दा अगाडी ४÷५ वटा चारचक्के र मोटरसाईकल उत्तै तर्फ गएको देखिन्छ । घटना हुनुभन्दा पूर्व नै एक गाडीमा दुई जना सवार उल्टो लेनमा तिव्र गतिमा गाडी कुदाउँदै ढल्केवरतर्फ गएको देखिएको छ ।
ललनले भनेको समय र सिसिटिभीमा देखिएको समयानुसार दुर्घटना ३ः४२ बजे हुनुपर्ने देखिन्छ । उनको गाडीको स्पीड भने बढीमा २५ किलोमिटरप्रतिघण्टाको देखिन्छ । कहिल्यै तिव्र गतिमा मोटरसाईकल नचलाउने विनयले ललनलाई पनि सोही स्लोमा चलाउँदै लैजाँदै गरेको देखिएको छ ।
यता ललनले तीव्र गतिको कारण मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको भनेपछि गाडीको स्पीड हेर्दा दुर्घटना हुनै नसक्ने देखिन्छ भने दुर्घटना भएपनि समान्य चोटपटक बाहेक गम्भिर चोट लाग्ने सम्भावना अति न्यून छ ।
घटनास्थलको प्रकृति अनुसार पनि मोटरसाईकल, हेल्मेटमा कुनै क्षति देखिदैनन् । जबकी विनयको दाहिने कन्चटमा गम्भिर चोट लागेर घटनास्थलमै मृत्यू भएको देखिन्छ । उत्तरबाट दक्षिण गएको मोटरसाईकल दुर्घटना भएपनि उनलाई बायाँ कन्चट वा टाउकोमा चोट लाग्नुपर्नेमा उल्टो चोट लागेको देख्दा दुर्घटना नभई सुनुयोजित घटना रहेको बुझ्न सकिन्छ ।
दुर्घटना भनिएको घटनामा ललनलाई गहिरो चोटपटक पनि लागेको देखिदैन । अस्पतालको रिपोर्टमा उनलाई एकदम समान्य चोट लागेको छ । नत विनयलाई शरिरको कुनै अन्य भागमा चोट लागेको देखिन्छ नत ललनलाई नै । झन मोटरसाईकल र हेल्मेटसमेत सुरक्षित रहेको पाइएको छ ।
यस्तै विनयको ब्यागमा रहेको दुई वटा बियरको बोतलमा समेत कुनै क्षति पुगेको देखिदैनन् । दुर्घटना हुँदा उनले बोकेको ब्यागमा क्षति पुग्ने थियो भने हल्का चोटमै फुट्ने बीयरको बोतल पनि सुरक्षित नै छ ।
मोटरसाईकलको स्पीड र घटनास्थलको प्रकृति हेर्दा मेल नखाएको हो । यता, जिल्ला प्रहरी कार्यालय धनुषाको अपराध अनुसन्धान शाखाले विभिन्न प्रणाली र विधिबाट अनुसन्धान सुरु गरेको छ । मुद्दा फाँटका प्रहरी नीरिक्षक नवराज खडका नेतृत्वको मुचुल्का टोलीले घटनास्थलसहित उनी गएका होटेलहरु समेत अनुसन्धान गर्दा ललनले गाडी चलाएर ल्याएको प्रमाण फेला पारेको हो ।
परिवारजनको यस्तो छ आरोप
पत्रकार विनयका परिवारजनले विनयलाई जालमा पारेर ललनले धनुषाधाम नगरपालिका वडा नम्बर ५ नौयसयविघा बस्ने सुशिल यादवका छोरा धीरेन्द्र यादव, बीरेन्द्र यादव र जसपाका मेयरका प्रत्यासी विनोद भर्खेरको योजनामा कर्तव्य गरी ज्यान मारेको आरोप लगाएका छन्। विगतदेखि नै उनीहरुसँग विनयको दुश्मनी रहँदै आएकोमा पटक पटक मारिदिने, ज्यान मार्न लगाईदिने, गाडीले किचिदिने जस्ता धम्की दिँदै आएको छ । उनीहरुले दिँदै आएको धम्पीको विभिन्न प्रमाणहरु परिवारजनसँग रहेको बताइएको छ ।
यता, घटनामा परिवारजनबाट आरोपित भनिएका धीरेन्द्र यादव, बीरेन्द्र यादव, स्कोरपियो चालक प्रशान्त महतो, विनयसँग होटेलमा रहेका धामी भन्ने श्रीनारायण यादव गाउँबाट फरार भएका छन् ।
के भन्छ प्रहरी
घटनको विषयमा सुक्षम रुपमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रञ्जन अवाले बताएका छन् । उनका अनुसार चिकित्सकका पोष्टमार्टममा रिपोर्टमा दुर्घटना टाइपको देखिएको छ । तरसँगै रहेको ललनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । प्रवक्ता अवाले मोटरसाईकल विनयले नभएर ललनले चलाएको देखिएको लगभग पुष्टि भएको बताए ।
यता कानूनमा दुर्घटना हुँदा चालक जिम्मेवार हुने हुँदा सो ललनलाई नियन्त्रणमा लिएर सवारी ज्यान कर्तव्यमा मुद्धा प्रक्रिया अगाडी बढाइएको प्रवक्ता अवाले बताए ।
परिवारजनले पत्रकार यादवको हत्या भएको आरोप लगाउँदै आएपनि प्रवक्ता अवाले मृत्यु वा हत्या प्रष्ट नभइसकेको बताए ।