जनकपुरमा बौलाहा कुकुरको टोकाइबाट बालिकाको मृत्यु
जनकपुरधाम । जनकपुरमा बौलाहा कुकुरले टोक्दा एकजना बालिकाको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा कुकुरको टोकाइबाट ६ वर्षीया बालिकाको मृत्यु भएको हो ।
मंगलबार बेलुका करिब ४ बजेको समयमा बौलाहा कुकुरले टोकेपछि शहीदनगर नगरपालिका ३ यदुकोहा घर भई जनकपुरधाममा बस्ने दिपक साहको छोरी ६ वर्षीया सन्ध्या साहको मृत्यु भएको हो । बच्चाहरुसँग बगैचामा आँप टिप्न गएको बेला हातमा खानेकुरा देखेर बौलाहा कुकुरले हातमा टोकेपछि उपचारको लागि अस्पताल लग्न नपाउँदै बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिएको छ ।
बालिकाको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको प्रहरीले जनाएको छ ।
‘बालिकालाई टोकेको कुकुर अरु कसैलाई टोकेको छैन् । कुकुलाई नियन्त्रणमा लिइएको पनि छैन् । प्रवक्ता अवा भन्छन्, बौलाहा कुकुरहरुको व्यवस्थापन गर्ने काम स्थानीय सरकारको हो । यहाँ घटेको यो पहिलो घटना हो । यद्यपि हामी यस्ता कुकुरहरुको नियन्त्रणको लागि नगरपालिकासँग समन्वय गर्दैछौं ।’
मृतक बालिकाको बुवा दिपक र आमा पुलचोकमा कोठा भाडा लिएर लौण्ड्रीमा काम गर्दै आएका थिए ।