महोत्तरीमा आगलागीबाट प्रभावित विद्यालय जाने बालबालिकालाई शैक्षिक सामाग्री वितरण
जनकपुरधाम । महोत्तरीका आगलागीबाट प्रभावित विद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । बिहिबार सेभ द चिल्ड्रेन, मटिहानी नगरपालिका एवं रतौली युवा क्लबको समन्वयमा २ सय २१ जना बालबालिकालाई कापी, कलम, पोशाक, पानी बोतल, झोला सहितको १५ भन्दा बढी प्रकारका शैक्षिक सामग्रीहरू वितरण गरिएको छ ।
बालविकासदेखि कक्षा ५ सम्मका जम्मा ७६ जना बालक र ८३ जना बालिका तथा कक्षा ६ देखि कक्षा १२ सम्मका जम्मा ३२ जना बालक र ३० जना बालिकाहरू गरि जम्मा २ सय २१ जनालाई रकम शैक्षिक सामग्री वितरण गरिएको हो । उनीहरुलाई ३ लाख ७१ हजार ५ सय ६७ बराबरको शैक्षिक सामग्रीहरू (Student Kit) वितरण गरिएको छ ।
कक्षा ४ मा अध्यनरत १२ बर्षकी लक्ष्मिनियाले शैक्षिक सामग्री पाएपछि खुशी व्यक्त गर्दै भन्छिन् “ आगलागीबाट मेरो सबै किताब कापी जलेर केहि बाँकि थिएन । पढ्न पनि पाएको थिएन , आज कपि , कलम, व्याग, पानीको बोतल, ड्रेस, झोला, किताबहरू पाएपछि म धेरै खुशी भएको छु, अब म विद्यालय निरन्तर जाने र खुब मन लागाएर पढ्ने छु ” भन्दै आफू ठूलो भएर म्याडम (शिक्षक) बन्ने रहर व्यक्त गरिन् ।
त्यस्तै नगर प्रमुखज्यूले रतौली युवा क्लव तथा सेभ द चिल्ड्रेनलाई धन्यवाद दिंदै विगतमा आधा दर्जन भन्दा बढी संघ—संस्थाहरूले केहि सामग्रीहरू सहयोग गरिए पनि बालबालिकाका लागि शैक्षिक सामाग्रीहरू अपुग नै रहेको थियो । तर, आज सेभ द चिल्ड्रेनबाट वितरण गरिएका यी शैक्षिक सामग्रीहरू मार्फत सबै बालबालिका लाभान्वित भएको र तिनीहरूको शैक्षिक गुणस्तरमा केहि हदसम्म वृद्धी हुने कुरा व्यक्त गरे ।
गत १२ गते जरलहवा गाछी वडा नम्बर – ६, मटिहानी नगरपालिकामा आगलागी भएर १ सय ५ घरधूरी क्षतिग्रस्त भएको छ । आगलागीबाट परिवारका ५ सय ७० सदस्यहरू प्रभावित भएको थियो । जसमध्ये २० वर्ष मुनिका ३७१ जना बालबालिकाहरू रहेका छन् भने त्यसमध्ये २ सय २१ जना विद्यालय जाने बालबालिका रहेका छ । सो आगलागीमा सबै बालवालिकाका शैक्षिक सामग्रीहरू जलेर नष्ट भएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीमा भएको बैठकको निर्णय अनुसार सेभ द चिल्ड्रेन, मटिहानी नगरपालिका एवं रतौली युवा क्लबको समन्वयमा गत वैशाख १४ गते आगलागीबाट प्रभावित १ सय ३ घरधूरीलाई शेल्टर किट, डिग्निटी किट, सरसफाई सामग्री किट, भान्सा घरमा प्रयोग हुने भाडा बर्तनको सेट, साथै ० देखि २ वर्ष र ३ देखि ५ वर्ष मुनिका बालबालिकाहरूका लागि आवश्यक सामग्रीहरूको वितरण गरिसकिएको छ ।