औरही गाउँपालिकालाई जनमतको ज्ञापन
सिरहा । गाउँपालिकामा ढिलासुस्ती र अपारदर्शीता बढ्दै गएको भन्दै औरही गाउँपालिकालाई केन्द्रित गरेर जनमत पार्टीले विभिन्न छ सुत्रिय माग अघि सार्दै ज्ञापन पत्र बुझाएको छ ।
जनमत पार्टी औरही गाउँपालिकाका अध्यक्ष रामभुवन यादवद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा पशु सेवा शाखामा देखिएको औषधी अभावलाई तत्कालै अभाव सहजता, औरही गापामा बारुणी यन्त्रको व्यवस्था, जग्गा वर्गीकरणको समस्या समाधान, औरही गाउँपालिकाबाट भएको विज्ञापन तथा परिक्षाहरुको नतिजा प्रकाशन, गाउँपालिकाबाट हुने सार्वजनिक सरोकारका विषयमा माग गरि बमोजिमको सूचनाहरु उपलब्ध गराउन र स्वतःप्रकाशन गरि सुसूचित गर्नुपर्ने लगायतका मागहरु उल्लेख गरिएका छन् ।
स्थानीय तहको निर्वाचन पछि नेतृत्वकर्ता फेरिएपनि काम गर्ने शैलीमा सुधार नआएको स्थानीयहरुले गुनासो गरेका छन् । गाउँपालिकामा कुनै पनि शाखा व्यवस्थित नभएको स्थानीयहरुले दुखेसो पोखेका छन् ।
हरेक नेपाली नागरिक सुसूचित हुन पाउने संविधानमै उल्लेख गरिएको भएपनि औरही गाउँपालिकाले त्यसको खासै व्यवहारमा लागु नगरेको उनीहरुको ठहर छन् । कार्यालयको दर्ता र चलानी पुस्तिका कार्यालयमा रहनुपर्नेमा त्यसलाई कार्यालय प्रमुख सर्बजित झाले आफ्नो नियन्त्रणमा राखेको श्रोतले बताए । श्रोतका अनुसार कार्यालयको समयमा दर्ता र चलानीको पुस्तिका नहुँदा धेरै समस्या प¥यो ।
यसबारे प्रतिकृया लिन प्रमुख प्रशासकिय अधिकृत सर्वजित झा सम्पर्कमा आउन चाहेन् । कैऔं पटक फोनमा गरिएको प्रयास विफल भयो ।