मधेस प्रदेशमा जेठ १९ र २० गते ‘श्रमाधान रोजगार मेला’ हुँदै, श्रममन्त्री अर्यालले उद्घाटन गर्ने

जनकपुरधाम । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालको रोजगारी परिदृश्यको विशेष आवश्यकतालाई सम्बोधन गर्न रणनीतिक रूपमा “श्रमाधान रोजगार मेला” को आयोजना गर्न लागेको हो। नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले सातै प्रदेशमा मेला आयोजना गर्न लागेको हो ।

मधेस प्रदेशमा सो मेला यहि जेठ १९ र २० गते आयोजना हुन लागेको बिहीबार जनकपुरधाम उद्योग वाणिज्य संघमा पत्रकार सम्मेलनमार्फत मेलाको बारेमा जानकारी गराईएको हो । मधेस प्रदेशमा मेलाको आयोजना श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा यातायात मन्त्रालय मधेस प्रदेश, जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा गर्दैछन् । सह-आयोजक नेपाल उद्योग परिसंघ रहेको जनाइएको छ।

जनकपुरधाममा दुई दिन चल्ने मेलाको उद्घाटन श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गर्नेछ । पत्रकार सम्मेलनमा बोल्दै श्रम मन्त्रालयका उपसचिव एवंम् मेलाका मधेस प्रदेश संयोजक दिपेन्द्र पौडेलले मेलाले श्रमिक र रोजगारदातालाई जोड्ने बताए।

यस्तै, मेलाले रोजगार खोज्नेहरू, रोजगारदाताहरू र विभिन्न क्षेत्रका सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर कार्यक्रमले नेटवर्किङ र रोजगारीको लागि अनुकुल वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

‘मेलाले नेपालको रोजगारी परिदृश्यमा सकारात्मक परिवर्तन ल्याउनेछ । यसले राष्ट्रलाई थप समृद्धि र सफलतार्फ लैजानसक्ने लचिलो र समावेशी जनशक्ति निर्माण गर्न सहज गर्छ’ उनले भने, ‘मधेस प्रदेशमा हुने मेलामा बेरोजगार युवाहरूको ज्ञान, सीप, क्षमताका आधारमा मागहरू संकलन गरिनेछ ।’

श्रम तथा यातायात कार्यालय जनकपुरधामका प्रमुख धर्मराज रोकायाले मधेस प्रदेशमा हुन गइरहेको श्रमाधान रोजगार मेलाले रोजगारदाता र श्रमिकहरूमा उत्साह थपिएको बताए । यो मेलामा सहभागिताका लागि ३५ स्टल राख्ने र ३० भन्दा धेरै स्टल बुकिङ भइसकेको पनि उनले जानकारी दिए । मेला भव्य र सफल बनाउन लागि सबै सरोकारवालाहरूलाई सहयोग गर्न आग्रह समेत गरे ।

प्रतिक्रिया