मधेश प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा साह नियुक्त
जनकपुरधाम । मधेश प्रदेश सरकारको नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. सोहनप्रसाद साह नियुक्त भएको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले डा.साहलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा बिहिवारको मन्त्रिपरिषद्को बैठकले उनलाई मधेश प्रदेश नीति योजना आयोगको उपाध्यक्षमा डा.साहलाई नियुक्त गर्ने निर्णय गरेको हो । नीति आयोगको उपाध्यक्षमा नियुक्त डा. साह जनकपुरधाम उपमहानगरपालिका १ मिल्सएरियाका स्थायी बासिन्दा हुन् ।
करिब एक दशक बढी समयदेखि अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएका डा.साह जवाहर लाल नेहरु विश्वविद्यालयबाट पिएचडी गर्नुभएको छ । उहाँ मधेसको शिक्षा सुधार अभियन्ताको रुपमा समेत चिनिन्छन् ।
नवनियुक्त उपाध्यक्ष डा. साहले सबैभन्दा पहिलो आफु प्रदेश सरकारको इमेज बिल्डिंगमा काम गर्ने बताए । उनले अहिले संघीयतालाई लिएर धेरै नकारात्मक टिप्पणी भईरहेकोले यसलाई चिर्न नीतिगत रुपमा आयोगमार्फत सरकारको लागि प्रभावकारी रुपमा काम गर्ने बताए ।
डा.साहले आयोगलाई प्रदेश सरकारको रिसोर्स थिंक ट्याकको रुपमा आयोगलाई अघि बढाउने बताए । उनले सरकारलाई नयाँ–नयाँ कार्यक्रम दिने आफ्नो प्रयास रहने बताए ।
‘मधेश प्रदेशमा बेरोजगारीको समस्या निकै ठुलो छ, उनले भने, पछिल्लो पटक हुलाकी राजमार्गमा रोजगारलाई केन्द्रित गरी हुलाकी संवाद गरेको थिए । यस पटक झन सरकारबाट थप जिम्मेवारी आउँदा बेरोजगारीलाई मध्यनजर गर्दै मधेशमा रोजगार सम्बाद गर्ने प्रयास गर्छु ।’ बौद्धिक र इमान्दार छवि बनाएका डा. साहले यसअघि आयोगमा सदस्य हुँदा शैक्षिक नीति ल्याउने कार्यको लागि महत्वपूर्ण कार्य गरेको थियो ।
‘मधेश प्रदेशका जनतालाई सुशासनको प्रत्याभूति गराउन मुख्यमन्त्री ज्यूले थाल्नुभएको अभियानलाई पनि सघाउछु,’ उनले भने । डा. साह यसअघि मुख्यमन्त्री सरोज कुमार यादव नेतृत्वको सरकारमा नीति तथा योजना आयोजको सदस्यको रुपमा काम गरिसकेको छ ।
जनमत पार्टी सरकारमा रहँदा उहाँ सदस्य हुनुभएको थियो । पछि जनमत पार्टीले गत माघ ९ गते सरकार छाडेपछि तत्कालिन सरकारले उनलाई बर्खास्त गरेको थियो ।
प्राविधिक धारको उच्च शिक्षा प्रदान गर्ने जनकपुर कम्युनिटी कलेको संस्थापक प्रिन्सिपल समेत उनी हुन् । अघिल्लो वर्ष उनले सम्पादन गरेको मधेश प्रदेशमा पैदल अनुसन्धान नामक पुस्तक पनि सार्वजनिक भएको थियो । जुन पुस्तकमा मधेशको वास्तविकता झल्काईएको छ ।
अध्ययन अनुसन्धानको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका योजना आयोगका उपाध्यक्षमा नियुक्त डा. साहले प्रदेशको विकासबारे योजना बनाउन तथा प्रदेश सरकारको आर्थिक सल्लाहकारको रुपमा काम गर्नेछ ।
प्रदेशमा आयोगको अध्यक्ष मुख्यमन्त्री रहने व्यवस्था छ ।