जानकी मेडिकल कलेजमा विद्यार्थीको भविष्य र जनताको स्वास्थ्यसँग खेलबाड, छैन कुनै मापदण्ड पूरा
भाडाका विरामी देखाएर संस्थानलाई झुक्याउँदै, टेर्दैनन् स्थानीय सरकारलाई पनि
जनकपुरधाम । झन्डै २ दशकदेखि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयामा रहेको जानकी मेडिकल कलेज (जेएमसी) ले त्यहाँ अध्ययनरत विद्यार्थी र जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आएको छ। रामजानकी हेल्थ फाउण्डेसन अन्तर्गत सञ्चालित जेएमसीले चिकित्सा अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त गरेपनि अन्य पालन गर्नुपर्ने कुनैपनि मापदण्ड पूरा नगरी विद्यार्थी र नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्दै आएको हो।
नागरिको स्वास्थ्यसँग जोडिएर सेवा प्रदान गर्ने प्रतिबद्धताका साथ सञ्चालनमा आएको जेएमसीले पूरा गर्नुपर्ने सामान्य मापदण्डहरू पनि पूरा गर्न सकेको छैन।
नागरिक मिररलाई प्राप्त केही महत्त्वपूर्ण कागजातहरूका अनुसार जेएमसीले न्यूनतम स्वास्थ्य सेवाका मापदण्ड समेत पूरा नगरी त्यस क्षेत्रका हजारौँ नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेको छ।
मधेश प्रदेशको राजधानी जनकपुरधामसँगै रहेको जेएमसी स्वास्थ्य उपचारको हिसाबले सुविधा सम्पन्न हुनुपर्ने हो। तर, चिकित्सक र अन्य आवश्यक कर्मचारीबिनै नागरिकको स्वास्थ्यलाई बेवास्ता गर्दै आएको छ। जसका कारण शिक्षण अस्पतालको रुपमा स्थापित जेएमसीमा दैनिक आउने बिरामीको सङ्ख्या १०० भन्दा बढी कहिल्यै हुदैन् ।
यो पनिः जानकी मेडिकलले भर्ना लिन नमाने पछि बालकको मृत्यु, अस्पतालमा बनिनियाका बिरामी भर्नामा निषेध गरिँदै !
अस्पतालकै एकजना कर्मचारीले नाम नखुलाउने शर्तमा भने, ‘एक दुई दिनमा चिकित्सा अध्ययन संस्थानबाट निरीक्षणका लागि टोली आउँदै छ। त्यहाँबाट निरीक्षण टोली आउने भएपछि अस्पतालमा बिरामीदेखि चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरू भरिभराउ हुन्छन्। त्यसपछि फेरि अस्पतालको अवस्था त्यस्तै हुन्छ।’
अस्पतालले प्रत्येक वर्ष संस्थानबाट हुने निरीक्षणको बेला विभिन्न ठाउँहरबाट गरिब, दलित लगायतका व्यक्तिहरुलाई भाडामा बिरामी बनाएर र चिकित्सक तथा अन्य आवश्यक स्वास्थ्य उपकरणहरू पनि कलेजमा ल्याएर निरीक्षण टोलीलाई देखाउने गरेको बुझिएको छ। यस वर्षको निरीक्षण सम्भवतः यसै साता हुन सक्ने अनुमान गरिएको छ।
कलेजमा ५० जना विद्यार्थीको सिट भएकोमा दैनिक १२५ देखि २५० जना बिरामी भर्ना हुनुपर्ने हो। अहिले भने दैनिक ७०–८० जना बिरामी पनि दैनिक पुग्न गाह्रो हुने गरेको छ। अचम्म त के छ भने अस्पतालको अवस्था सुधार गर्नुभन्दा निरीक्षण टोली आउने समयमा अस्पतालले १ हजारका दरले बिरामी भाडामा ल्याउने र टोलीलाई नै अँध्यारोमा राख्ने काम अस्पताल प्रशासनले गर्दै आएको छ।
कलेजले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने हो तर, कलेज बाहिर आफ्नै अस्पताल नहुँदा त्यो पनि हुन सकेको छैन। चिकित्सक छन् तर, अस्पतालमा हुनुपर्ने आवश्यक उपकरण र त्यसलाई आवश्यक पर्ने जनशक्ति नहुँदा संवैधानिक व्यवस्था अनुसार नागरिकले पाउनुपर्ने स्वास्थ्य सेवा पनि पाउन सकिरहेका छैनन्। र गुणस्तरीय शिक्षा प्रदान गर्छु भनेर शिक्षण अस्पताल संचालन गरेको जेएमसीले विद्यार्थीको भविष्यसँग पनि खेलवाड नै गरिरहेको छ।
५० वटा सिट भएको जेएसीले विद्यार्थीलाई विषय विज्ञ लगायतका समस्याले गुणस्तरीय शिक्षा प्रदान गरेको छैन्। तर केही दिन अघि सिट बृद्धिका लागि फेरी सम्बन्धित निकायमा आवेदन गरेका हुन् । जेएमसीले सिट बृद्धिका लागि करोडौं रुपैया आयोगमा बुझाएको श्रोकको भनाई छ ।
सुरुवाती चरणमा जेएमसीले राम्रो नतिजा ल्याउन सफल भएका थिए । यहाँबाट अध्ययन गरेका चिकित्साशास्त्र पढेका विद्यार्थीहरु राम्रो स्थानमा पुग्न सफल भएका थिए । जसकारण कलेजले विद्यार्थी सिट बढी पाएका थिए । तर पछि व्यवस्थापकीय विवाद लगायतका समस्यामा अल्झेका जेएमसीले पाएका सो सिट संस्थानले घटुवा गरिदिएका थिए ।
त्यतिमात्रै होईन कलेजको अस्पताल तर्फ कुरुवा घर पनि नरहेको बुझिएको छ। आँखा जाँच्ने छुट्टै विभाग पनि कलेजको अस्पतालमा छैन।
आवश्यक लेक्चरर छैनन्
कलेजमा बेसिक साईन्स एनाटोमी, फिजियोलोजी, माईक्रो बायोलोजी, प्याथोलोजी फर्माकोलोजीको लागि ३ जना लेक्चरर हुनुपर्ने हो । तर, यी विषयहरु मध्ये चार वटा विषयको एक एक वटा र दुईवटा विषयको दुई दुई वटा रहेको बुझिएको छ । श्रोतका अनुसार पदपूर्ति रहेको लेक्चररहरुको पनि त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त छैनन् ।
यस्तै क्लिनिकल साईन्स अन्तर्गत ईएनटी, गाईनोकोलोजी, पेडियाट्रिक, अपथाल्मोलोजी, रेडियोलोजी, एनेस्थेसिया, साईक्याट्रिकतर्फ पनि लेक्चररहरू छैनन्।
भएका मध्ये पनि कतिपयको त्रिभुवन विश्वसवद्यालयबाट मान्यता प्राप्त छैन। यसमा ईएनटी तर्फ चारजना हुनुपर्नेमा २ जना, गाईनोकोलोजीमा चारजना हुनुपर्नेमा दुईजना, अपथाल्मोलोजीमा तीनजना हुनुपर्नेमा दुईजना मात्रै रहेका छन्।
त्यस्तै रेडियोलोजीमा १८ महिने कोर्स गरेको सोनोग्राफी सेवा दिँदै आएको बुझिएको छ।
सबै विषयमा ५० वटा सिट रहेको कलेजले आवश्यकता अनुसारको लेक्चरर नराखेर कलेजमा अध्ययनरत विद्यार्थीहरूको शिक्षामा गुणस्तर प्रदान नगरिरहेको बुझिएको छ। कलेजले विभिन्न प्रलोभन देखाएर चर्को रुपैयाँ विद्यार्थीहरूसँग असुल गरेको शिक्षाको नाउँमा चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज र चिकित्सा शिक्षा आयोगको मिलोमतोमा ठगी मात्रै होईन विद्यार्थीको भविष्यसँग पनि खेलबाड गरिरहेको छ।
भवन पनि अवैध
कलेजको नाममा ७ विघा जग्गा रहेको छ । र त्यसै जग्गामा भौतिक संरचना होस्टेल, हस्पिटल, एकेडेमिक विभाग, प्रशासकीय शाखा रहेको छ । तर त्यो पनि मापदण्ड विपरित बनाएको बुझिएको छ । बनाइएको उक्त भौतिक संचरना स्थानीय तहबाट नक्सा पास गराउनुपर्ने हो । तर, क्षिरेश्वरनाथ नगरपालिकामा पर्ने कलेजले हालसम्म पालिकाबाट नक्सा पास गराएको छैन् ।
हालसालै बनेको भवनको पनि नक्सा पास नभएको नगरपालिका एकजना ईन्जिनियरले बताए । कलेजको निर्मित भवनहरू भूकम्प प्रतिरोध क्षमताको जाँच समेत भएको छैन् । जसले गर्दा अस्पताल जस्तो संस्थामा पनि जोखिमयुक्त रहेको सहजै अनुमान लगाउन सकिन्छ ।
कलेजले हालसालै बनाएको भवनको नक्सा पनि पास गराएको छैन् । नगरपालिकाका प्राविधिकहरुले कलेजको नक्सा पास नगरिदिने बताउछन् । उनीहरु भन्छन्, आवासीय भवनको अभिलेखकरण त हुनसक्छ । तर कलेजको त्यो कमर्सियल बिल्डिंगको अभिलेकरण नहुने भएकाले सो कार्य आफुहरुले नगर्ने बताउछन् ।
क्षिरेश्वरनाथ नगरपालिकाले जेएमसीलाई भवन बनाउदा बखत नै नक्सा पास गरेर भवन बनाउन परिपत्र नै गरेको थिए । नक्पा पास गर्न मात्रै परिपत्र होईन् भवन निर्माणको कार्य नै रोक्न निर्देशन दिएको थियो । तर कलेजले स्थानीय सरकारलाई पनि अटेर गर्दै सो भवन निर्माण सम्पन्न गरे । हाल सो भवनमा अस्पताल संचालन गर्दै आएको छ ।
यो पनिः ऐन कानूनलाई ठाडो चुनौती दिँदै जानकी मेडिकल कलेज, नक्सा पास बिनै भवन निर्माण
अव्यवस्थित आवास, अनुशासन बाहिर विद्यार्थी
कलेजको आवास पनि व्यवस्थित नभएको बुझिएको छ । सो आवासमा फोहोरमैलाको पनि व्यवस्थापन नभएको कलेज श्रोतले बताएको छ । छात्र छात्रा दुबैको आवास भएको ठाउँमा आवास वार्डेन, डाक्टर र लेक्चरर हुनुपर्ने ठाउँमा स्थानीयलाई राखेपछि विद्यार्थीहरू पनि अनुशासनहिन भएको बुझिएको छ । जसका कारण कलेजमा बेला बेला झगडा पनि परिरहेको बुझिएको हो ।
कलेजमा लाईब्रेरी हुनुपर्ने हो । छ तर लाईब्रेरेरियन नहुँदा लाईब्रेरी पनि अव्यवस्थित जस्तै छन् ।
वातावरणीय प्रभाव मूल्याङकन बिना सञ्चालनमा
दुई दशकदेखि सञ्चालनमा रहेको कलेजको हालसम्म वातावरणीय प्रभाव मूल्याङ्कन भएको छैन् । वन संरक्षण ऐन, २०७६ मा स्पष्ट रुपमा अस्पताल सञ्चालनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन गराउनुपर्ने हो । तर, हालसम्म सो कार्य पनि नगरी ऐन, कानूनलाई ठाडो चुनौती दिएर कलेज सञ्चालनमा रहेको छ । जसतर्फ सम्भवतः कसैको पनि ध्यान आजसम्म पर्न सकेको छैन वा भनौँ सबैले जानेर पनि आँखा चिम्लेका छन्।
यो पनिः जानकी मेडिकललाई ५० लाख जरिवाना, मन्त्रीको सचिवालय बार्गेनिङ्गमा
कागजमा मापदण्ड
यता कलेजकै एकजना कर्मचारीले जेएमसीले मापदण्ड पुरा गरेको भएपनि सो कागजमै सिमित भएको बताए । उनका अनुसार सम्बन्धनका लागि कलेजले कागज मिलाएरै संस्थानलाई झुक्याएर वा प्रलोभनमा पारेर सम्बन्धन लिएको हुनसक्छ । किन भने यहाँ केही छदै छैन् । उता आयोगले विना कागज सम्बन्धन दिदैन । र यता अस्पतालमा केही छैन् । यसको अर्थ काजगमा मात्रै मापदण्ड पुरा भएको उनको भनाई छ ।
यस विषयमा कलेजका प्रबन्ध निर्देशक धर्मदत्त सुवेदीसँग प्रतिकृया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेन । उनलाई नागरिक मिररले निजको ९८******७४ मा पटक पटक सम्पर्क गर्न खोजेको हो ।