जेएमसीको दादागिरीः विकृतिविरुद्ध बोल्नेलाई फेल गरिदिने धम्की,आईओएमलाई पैसाले किनेको घुर्की

कागजमा धेरै लेक्चररहरू छन्, तर नामका लागि मात्रै

जनकपुरधाम । शिक्षा धर्म हो। यसलाई सेवा पनि भनिन्छ। तर, शिक्षालाई सेवाको रुपमा नभएर केहीले धन्धा बनाईदिएका छन्। यसको प्रत्यक्ष उदाहरण हो, धनुषाको क्षिरेश्वरनाथ नगरपालिका १ रमदैयास्थित करिब २२ वर्षदेखि सञ्चालनमा रहेको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल।

जानकी मेडिकल कलेज देखाउने नाम हो। यथार्थमा यसलाई ज्यान मार्ने अस्पताल भन्दा फरक नपर्ला। कारण, एकातिर स्थानीय नागरिक उपचार गराउने क्रममा मर्ने जोखिम यस अस्पतालमा सँधै उच्च रहन्छ भने अर्कोतिर आफ्नो सन्तानलाई डाक्टर बनाउँछु भन्दै बैँकबाट लाखौँ ऋण र खेतघडेरी बेचेर डाक्टर बन्न पठाएका अभिभावकको पीडा।

घटना १ः २०८० वैशाख पहिलो साता लक्ष्मिनियाँ गाउँपालिका ५ बनिनियाका दुखरण यादवको १४ वर्षीय छोरा अनिष कुमार यादवको मृत्यु भयो। जानकी मेडिकल कलेज (जेएमसी) मा भर्ना नलिएपछि अनिषको मृत्यु भएको उनको परिवारजनको आरोप छ। अनिषका काका बलराम यादवका अनुसार वैशाखको पहिलो साता शनिवार साँझ घरमै अल्मुनियम सल्फेट विषादी सेवन गरेपछि उपचार गराउन जानकी मेडिकलमा पुग्दा चिकित्सक नभएको भन्दै भर्ना नलिएपछि उपचारको क्रममा जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा अनिषको मृत्यु भएको थियो।

विषादी खाएका ती बालकलाई जानकी मेडिकलमा सो दिन साँझ साढे ७ बजे लगिएकोमा इमर्जेन्सी कक्षमा ड्युटीमा रहेका डा.शिवराम कृष्ण यादव (बिमलेश) ले बिरामीको अवस्था गम्भीर हेरेपछि आफूकहाँ चिकित्सक नभएको बहाना बनाएको काका बलिराम बताउछन्।

अल्मुनियम सल्फेट सेवन गरेपछि बिरामीको मुत्युदर अत्यधिक हुन्छ एकजना चिकित्सक बताउछन्। उनी भन्छन्, ‘त्यस्ता केसलाई बचाउन सक्ने कमै सम्भावना हुन्छ। सक्दो छिट्टो उपचार पाए ती बालक बाच्न पनि सक्थ्यो। त्यस्तो बिरामीलाई भर्ना नै नलिनु अस्पतालले अपराध नै गरेको हो।’ चिकित्सा पेशमा लामो समय अनुभव भएका उनले समयमै उपचार पाएको त्यस्ता कति बिरामी बाँचेको प्रमाणहरू रहेको दावी गरे।

यो पनिः जानकी मेडिकलले भर्ना लिन नमाने पछि बालकको मृत्यु, अस्पतालमा बनिनियाका बिरामी भर्नामा निषेध गरिँदै !

घटना २ः गत वैशाख ३१ गते ९ बजे यस अस्पतालमा लक्ष्मीनिया गाउँपालिका ५ बनिनियाका अमर यादवकी श्रीमति २७ वर्षीया अनिताकुमारी यादवको मृत्यु भयो। वैशाख २९ गते शनिवार सुत्केरी व्यथा लागेपछि भर्ना भएकी उनले आइतवार बिहान ११ बजे शल्यक्रियाबाट छोरालाई जन्म दिइन्। तर, चित्किसले लापारबाही गर्दा अवस्था बिग्रिएको कारण सोमबार बिहान उनको मृत्यु भएको आफन्त वीरेन्द्र यादवको भनाइ थियो। शल्यक्रियाको बेला एनेस्थेसियाका चिकित्सक नभई सिकारुले बेहोस गरेकाले विस्तारै अवस्था गम्भीर हुँदै मृत्यु भएको परिवारजनको आरोप थियो।

शल्यक्रियामा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै मृतकको परिवारले तोडफोड र प्रदर्शन गरेपछि मृतक र अस्पताल प्रशासनबीच भएको वार्तामा साढे १३ लाख रकम र एकजनालाई रोजगारी दिने सहमति भयो। मृतकको किरिया खर्च बापत ३ लाख ५० हजार र तीन छोराछोरीको पठनपाठनका लागि १० लाख रुपैयाँ गरी १३ लाख ५० हजार रुपैयाँ दिने र श्रीमानलाई योग्यता अनुसारको जागिर दिने सहमति भएको उनको आफन्तले बताएको थियो। सहमतिपछि मृतकका परिवारले शव बुझे।

अस्पतालले उपचारमा लापरवाही नभएको दाबी गरे। तर अस्पतालमा तोडफोड हुँदा प्रहरीले समेत सहयोग नगरेपछि बाध्य भएर वार्तामार्फत समस्या समाधान गरेको अस्पतालको भनाई थियो।

यो पनिः जानकी मेडिकल शिक्षण अस्पतालमा सुत्केरीको मृत्यु, साढे १३ लाखमा मिलापत्र

घटना ३ः लक्ष्मीनियाँ गाउँपालिका ५ कै अर्का ३१ वर्षीय अन्जु यादवलाई पनि जानकी मेडिकलमा उपचार नगरिदिएको उनको देबर बलराम यादवले आरोप लगाए। चुलेसीमा खुट्टा काटिएपछि उपचारको लागि जानकी मेडिकलमा लग्दा उपचार नगरिदिएको उनले बताए। शनिवार ११ बजे खुट्टा काटिएपछि उपचार गराउन जाँदा अस्पतालले उपचार नगरिदिएको बलरामले आरोप लगाए।

माथि उल्लिखित घटनाहरू उदारण मात्रै हुन्। शिक्षण अस्पतालको रुपमा स्थापित यो अस्पताल दुई दशकभन्दा बढीदेखि सञ्चालनमा रहेको भएपनि रेफरल सेन्टरको रुपमा स्थापित भइसकेको छ। जसकारण सर्वसाधारणले उपचार अभावमा ज्यान गुमाउनु परिरहेको छ। उपचार नपाएर रेफरल सेन्टर जेएमसीबाट बाहिँरिदा कतिजना त मर्छन् नै, बल्लतल्ल सामान्य उपचार पाउने आशाले यहाँ भर्ना भएका सर्वसाधारण गुणस्तर स्वास्थ्य सेवाबाट बञ्चित भइरहेका छन्। साथै जेएमसीको नवनिर्मित पक्की भवन यति कमजोर छ की ठूलो धक्का दियो वा कथमकदाचित भुकम्प आयो भने त्यहाँका बिरामी किचिएरै मर्छन्।

यो पनि: अस्पतालको चार तल्ले भवनमा कमसल सामग्री प्रयोग, नक्सा पास नभएको सो भवन भूकम्प प्रतिरोधक नभएको हुनसक्ने

उता सर्वसाधारण त यावत कारणले मर्छन् नै अभिभावक भने खेत घडेरी बेचेर बोकेको बैंककै ऋणमा मर्न बाध्य छन्। तर, चिकित्सा शिक्षा आयोग र चिकित्सा शास्त्र अध्ययन संस्थानका पदाधिकारीहरूले यी यावत समस्या नदेखेझँै गरिदिँदा यहाँका कैयन व्यक्तिको ज्यान सिंगो जानकी मेडिकल कलेजका सञ्चालक ओम प्रकाश पाण्डेको हातमा छ। यसको जिम्मेवार अस्पताल सञ्चालक पाण्डे मात्रै होईन् आयोग र अध्ययन संस्थानका निरीक्षण टोली लगायतका मेडिकल कलेजलाई सम्बन्ध दिने निकायका पदाधिकारी पनि रहेका छन्।

यसको जिम्मेवार जति उनीहरू छन्, त्यतिकै सोझासाझा, निमुखा सर्वसाधारणका मत लिएर सरकारमा बसेका जनप्रतिनिधिहरू पनि जिम्मेवार छन्। विभिन्न झमेलाकाबीच वर्षौदेखि सञ्चालनमा रहेको शिक्षण अस्पतालको यो सारांश मात्रै थियो।त्यहाँ लाखौं तिरेर अभिभावकको ज्यान मुट्ठीमा लिएर पढिरहेका चिकित्सा शास्त्रका विद्यार्थीको पीडा र सर्वसाधारणको ज्यानको मोल नभएको अस्पताको दृष्टान्त कथा हो यो।

जेएमसीमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीहरुको यस्तो छ दुखेसो :

कलेजमा मापदण्ड अनुसार केही पूरा भएको छैन्। मेडिकल कलेज चलाउन चाहिने आवश्यक पूर्वाधार, जनशक्ति र स्वास्थ्य उपकरणहरू छैन। छ त केबल पैसा असूली गर्ने धाकधम्की दिने सञ्चालनद्वारा खटाइएका केही थान बाउन्सरहरू।

कलेजमा अध्ययनरत एकजना विद्यार्थीले नाम खुलाउने शर्तमा भने, ‘यो कलेज ‘खरे बाबा’। ‘खरे बाबा’ अर्थात निरीक्षणको बेला विभिन्न ठाउँबाट प्लेन बस चढेर अस्पतालमा आउने टोलीको अगाडी परिचयपात गर्ने अनि अलिअलि पैसा लिने र जाने चिकित्सक तथा घोषित रुपमा अस्पतालले बनाएको कलेजमा कहिल्यै नआउने प्रोफेसरहरू।’

विद्यार्थीहरू भन्छन्, ‘कागजमा धेरै लेक्चररहरू छन्। तर, नामका लागि मात्रै। अलि अलि पैसा लिन्छन् काम नगरी संस्थाबाट एक्सपेरिएन्स बटुल्छन र निरीक्षणको बेला खडा भईदिन्छन्।’

कलेजका दोस्रो दशकका ब्याचमा अध्ययरत विद्यार्थीदेखि सबैको समस्या प्रायः उस्तै छ। अहिले कलेजमा १९ औं ब्याच चलिरहेको छ। यो वर्ष आयोग र चिकित्सा शास्त्र अध्ययन संस्थानले सम्बन्धन दियो भने २० औं ब्याच आउने तयारी चलिरहेको छ। जसका लागि न्यूनतम मापदण्ड नपुगेका कलेजमा निरीक्षण आउने तयारी जोडतोडका साथ चलिरहेको छ।

निरीक्षण टोली आउन ढिलाइ गरेपछि आत्तिए भाडाका बिरामीहरू

कलेजमा अहिले ड्रामा चलिरहेको छ। कलेजसँग सम्बन्धित एकजना भन्छन्, ‘अस्पतालमा केही दिनअघि बिरामी नैन थिएनन्। तर, अहिले अस्पताल बिरामीले भरिभराउ छ। उनीहरू बिहान बेलुकै अस्पतालमा बस्न आउँछन्। खाने बस्ने र भत्ताको व्यवस्था गरिएको छ।’ उनका अनुसार सम्भवतः आइतवार, सोमवार तिरै आउने भनिएको निरीक्षण टोलीले ढिलाई गरेपछि भाडाका बिरामीहरू आत्तिन थालिसकेका छन्।

उनी भन्छन्, ‘आफैँ सम्बन्ध राख्ने कलेजको बारेमा यस्तो भन्न त नहुने हो। तर यस्तो कहिलेसम्म चल्छ ? अब कोही न कोही त बोल्नैपर्छ भनेर बोलेको हुँ।’

कलेज सञ्चालक पाण्डेको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा पनि शेयर छ। केएमसी कति राम्रो र व्यवस्थित छ। तर जेएमसी किन यति अव्यवस्थित ? उनको प्रश्न छ। जबकी केएमसीमा पनि उनको आफ्नै छ तर त्यहाँ जति छ यहाँ त्यहाँ भन्दा कमै गरेपनि पुग्ने रहेछ। उनले सञ्चालक पाण्डे सिरियस नभएको गुनासो गर्छन्।

उनी भन्छन्, ‘यहाँका गाउँका मान्छेहरुलाई सञ्चालक पाण्डेले चिनिसकेका छन्। उनले जेएमसीको बेथिती बिरुद्ध बोल्ने मध्ये कसैलाई काम लगाई दिएको छ, कसैको छोरालाई निःशुल्क पढाईदिएको छ, कसैलाई निःशुल्क उपचार गरिदिएको छ, कसैलाई दुई पैसा दिदिएको छ । र, त्यसको भरमा यहाँका सोझासाझा सर्वसाधाराहरुलाई लुट्ने काम गरिरहेको ठगिरहेको छ।’

विकृतिविरुद्ध बोलेपछि फेल गराईदिने धम्की

‘यहाँ बोल्ने कोही छैन्। त्यही भएर यहाँ बेथिति छ। सर्वसाधारण यहाँ ठगिन बाध्य छन्। विद्यार्थी बोलेपछि फेल गराईदिन्छु भनेर धम्की दिइन्छ। अस्ति पैसा माग्न गएको थियो। विद्यार्थीहरूलाई समस्या आएको बेला जाँदैन्। परीक्षा अघि पैसा माग्न आउँछन् र दिएन भने परीक्षा दिन दिँदैनौं भन्छ र फेल गरिदिन्छ’, अध्ययनरत विद्यार्थीहरू बताउछन्।

कलेजलाई सुधार्ने कसरी भन्ने विषयमा बोल्ने कोही नभएपछि विद्यार्थीहरू पीडित भइरहेका छन्। नराम्रो विषयमा कलेजको सामाचार आयो भने बोल्ने विद्यार्थीलाई धम्की आउँछ। फेल गराईदिन्छ। नेता बन्न खोज्यो भन्छ। यस्ता अनेक समस्या कलेजका विद्यार्थीहरूले भाग्दै आइरहेका छन्।

गत आईतबार दिउँसो कलेज सञ्चालक ओम प्रकाश पाण्डेका छोरा श्रीमणि पाण्डे र प्रबन्ध निर्देशकले धम्की शैलीमै विद्यार्थीसँग पैसा माग्ने प्रयास गरेको पनि बताइएको छ।

निरीक्षण टोलीलाई नै करोडौं दिएर कुरा मिलाएका छौँ

एउटा ब्याचबाट करिब २५ देखि ३० करोड रुपैँया आउँछ। जसमा निरीक्षण टोलीलाई २ देखि ३ करोड दिइन्छ। अनि सबै कुरा मिल्ने गरेको कलेजसँग सम्बन्धित एकजना व्यक्तिको भनाइ हो, यो। उनी भन्छन्, ‘अनि सञ्चालकले अलिअलि ब्याज तिर्छ र बाँकी सबै पैसा कुम्ल्याउँछ। जसका कारण न यहाँको व्यवस्थापन राम्रो छ न केही।

राम्रोलाई टिक्नै ग्राहो

राम्रो र गर्न चाहने व्यक्ति यस संस्थामा धेरै टिक्न सक्दैनन्। कलेजका प्रिन्सीपल वरिष्ट सर्जन जयनारायण साह (जेएन साह) ले राम्रो गर्न चाहेपछि उनलाई विभिन्न षड्यन्त्र गरेर दबाइयो। र, अन्ततः उनले कलेजको जिम्मेवारी छोडे। करिब डेढ वर्ष अघि उनी कलेजमा प्रिन्सिपल भएर आएका थिए। तर, धेरै समय टिक्न सकेनन्। करिब ६ महिना अघि उनी प्रिन्सीपलको जिम्मेवारी छोडेर कलेज छोडे। प्रबन्ध निर्देशक धर्मदत्त सुवेदी र प्रिन्सिपल साह एकै पटक आएका थिए। सुवेदी अहिले पनि कार्यरत नै छन्।

कलेजमा व्यवस्थापक राम्रो नभएर अहिले पनि कतिपय डाक्टर र प्रोफेसरहरूको लाखौं रुपैया बाँकी छ। कसैको पैसा कलेजले नदिएको बुझिएको छ।

व्यवस्थापननै कमजोर भएको कारण, डा. राकेश पण्डित, डा. परशुराम मिश्रा, डा. अजय साह, डा. संतोष गिरी लगायतले पनि छोडेर गए । कलेजमा आएर डा. शम्भु पहाडी पनि फसेको बुझिन्छ । उनी पनि छोड्ने तयारीमा रहेको श्रोत बताउछन् । तर छोडेर गएपछि ९० प्रतिशत कर्मचारी मध्ये कसैले गरेको कामको पारिश्रमिक नपाउने गरेको पनि बुझिएको छ ।

डा. अजय साहको दुई वर्षको पैसा बाँकी छ । उनी छोडिसकेको छ, श्रोत भन्छ, उनको पैसा नदिएर उनी काम छोडेर बाहिर काम गरेपनि त्यहाँको क्वार्टर खाली गरेको छैन् ।

कलेजमा नयाँ अनुहारहरू देखिन थाल्यो

कलेजका तत्कालिन प्रिन्सीपल जेएन साह जिम्मेवारी छोडेर हिँडेपछि अहिले सञ्चालकले भारतको बिहारतिरबाट नयाँ प्रिन्सीपल ल्याएका छन्। सिन्हा थर भएका उनी केही दिन अघिदेखि मात्रै कलेजमा देखिन थालेका हुन्।

कागजमा बाहेक यहाँ प्रोफेसर लेभलका कोही नभएको कलेजकै एक कर्मचारीले बताए। कलेजमा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त बाल रोग विशेषज्ञ दिपक गुप्ता र प्रबन्ध निर्देशक धर्मदत्त सुवेदी मात्रै छन्।

भौतिक पूर्वाधार पनि उतिकै कमसल

अस्पतालमा चिकित्सकको लागि छुट्टै शौचालयको व्यवस्था छैन। लाइब्रेरी पनि छैन्। विद्यार्थीसँग आवासको वर्षमा एक लाख असूल गरिन्छ। तर सुरक्षा, बिजुली बत्ति र फोहोर व्यवस्थापनको राम्रो प्रबन्ध छैन्। खेलकुद मैदान पनि अहिले पोखरी नै बनेको छ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले केही दिन अघि कलेजमा निरीक्षणको क्रममा विभिन्न विषयमा सुधार गर्न ध्यानाकर्षण पनि गराएका थिए। प्रदेश मातहतमा कलेज नपरेपछि निरीक्षण गर्न पुगेका उनले प्रबन्ध निर्देशक सहितका टोलीलाई उनले विभिन्न सुझावहरू दिएका थिए।

छैन आवश्यक उपकरण

शिक्षण अस्पतालमा ईन्डोस्कोपी मेसिन छैन्। भएको मेसिन पनि बिग्रेको अवस्थामा छ। सिटिस्क्यान मेसिन छ। तर रेडियोलोजिष्ट नभएको बुझिएको छ। ८ वर्ष पढेको रेडियोलोजिष्ट हुनुपर्नेमा कलेजले कक्षा १२ पढेर तालिम प्राप्त सोनोलोजिष्टसँग र कुनै कुनै बेला कन्सलटेन्ट हायर गरेर सिटिस्क्यानको रिपोर्ट बिरामीलाई दिने गरेको बुझिएको छ।

सम्बन्धित निकायबाट नक्सा नै पास गराइ भवन बनाइँदै

निरीक्षण टोलीलाई देखाउन केही दिन अघि मात्रै नक्सा स्केच गरिएको एकजना कर्मचारीले बताए। हालसम्म कलेजको कुनै पनि भवनको नक्सा पास भएको छैन्। स्थानीय तह स्थापना पश्चात बनेको भवनको पनि नक्सा पास छैन्। उता कमरसियल भवनको नक्सा अभिलेखिकरण नहुने भएको क्षिरेश्वरनाथ नगरपालिकाका ईन्जिनियरले बताउछन्। कमर्सियलमै सर्टर जस्तो विल्डिंग भएको भए अभिलेखिरका हुने थियो, ईन्जिनियर भन्छन्, अस्तापलको केसमा भविष्यको सुरक्षालाई मध्यनजर गर्दै पनि अभिलेखिरण गर्न मिल्दैन् ।

तर, बन्ने बेलादेखि नै नगरपालिकाले पटकपटक ताकेता गरेपनि बनाइएको भवनको नक्सा अभिलेखीकरणका लागि कलेजले बल्ल सुरसार गरिरहेको बुझिएको छ।

यो पनिः जानकी मेडिकल कलेजमा विद्यार्थीको भविष्य र जनताको स्वास्थ्यसँग खेलबाड, छैन कुनै मापदण्ड पूरा

ऐन कानूनलाई ठाडो चुनौती दिँदै जानकी मेडिकल कलेज, नक्सा पास बिनै भवन निर्माण

जानकी मेडिकलको भवनको निर्माण कार्य रोकिएन, नगरपालिकाको निर्देशन अटेरी

भवन निर्माण कार्य रोक्का गर्न जानकी मेडिकल कलेजलाई निर्देशन

जानकी मेडिकललाई ५० लाख जरिवाना, मन्त्रीको सचिवालय बार्गेनिङ्गमा

सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै स्रोतहरुको नाम गोप्य राखिएको छ – सम्पादक ।

प्रतिक्रिया
नागरिक मिरर