पत्रकार महेश सिंहलाई पुत्र लाभ, सञ्चार माध्यममा बधाईको ओइरो

विवाहको तरखरमा रहेका पत्रकारहरु उत्साहित !

जनकपुरधाम । विवाहको प्रसंगलाई लिएर विवाह अगावैदेखि चर्चामा रहदै आएको चर्चित पत्रकार महेश सिंहलाई पुत्र लाभ भएको छ ।

सिरहा जिल्लालाई कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका सिंहलाई पुत्र लाभ भएको स्थानीय नेत्रदैनिक अनलाइनको आधिकारीक फेसबुक पेजमा समाचार प्रकाशित भएको छ ।

०७८ सालमा वैवाहिक जीवनमा बाँधिएका सिंहकी पत्नी आरती सिंहले बिहिबार पहिलो सन्तानको रूपमा पुत्रलाई जन्म दिएको हो। यतिबेला सामाजिक संजाल तथा सञ्चार माध्यममा समाचार प्रकाशन भएपछि पत्रकार सिंहलाई बधाईको ओइरो लागेको छ । यसअघि २०७८ सालमा विवाह बन्धनमा बाँधिदा पनि सिंहको विवाहले सञ्चार माध्यममा समाचारको रूपमा खुबै चर्चा पाएका थिए ।

राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका नेता, अभिनेताहरूको मात्रै विभिन्न प्रसंगमा समाचारहरुले स्थान पाइरहेको बेला पब्लिक फिगर नै मानिने पत्रकारको विवाह, सन्तान लाभ लगायतको समाचारले सञ्चार माध्यमहरूमा स्थान पाउन थालेकोमा मधेस प्रदेशका चर्चित पत्रकार काशिन्द्र शर्माले खुशी व्यक्त गरेका छन् । उनी भन्छन्,–‘पत्रकारको हकमा यो ट्रेण्ड चल्नु राम्रो हो । यसले हामी उत्साहित भएका छौँ ।’

पत्रकार शर्मा स्वयं पनि विवाह गर्ने तरखरमा रहेका छन् ।

विवाहको तरखरमा रहेका अर्का पत्रकार शिव अधिकारी यदुवंशी भन्छन्,–‘यस्तो समाचार आउनु एकदमै सुखद सुरुवात हो, यसले हाम्रो मनोबल बढेको छ ।’ उनी अगाडी थप्छन्,–‘पत्रकार पनि सामाजिक सेलिब्रेटी नै हो, सबैको समाचार पत्रकारले लख्ने । पत्रकारको समाचार कसल लेख्ने ? यो ट्रेण्ड स्वागतयोग्य छ ।’

विवाहकै तरखरमा रहेका मधेसका चर्चित पत्रकारहरू जयन्त ठाकुर, राजकरण महतो, गोविन्द महतो, कमलेश ठाकुर, रोहित महतो, विजय कुमार सिंह, शिव अधिकारी यदुवंशी, दिवाकर उप्रेती, राजा झा, मनोज मोरबैता, उमेश यादव, मनिष कुमार यादव, सम्राट खनाल, कृष्णा यादव, सुमित मिश्रा, सुरेश राय, विनय यादव, शम्भु यादव, गणेश ठाकुरलगायतले यो ट्रेण्ड सकारात्मक रहेको र आफूहरूका लागि पनि निकै राम्रो भएको बताउँछन् ।

पत्रकार राजकरण महतोले पनि पत्रकार सिंहलाई बधाई दिएका छन् । उनले भने,–‘हाम्रो विवाह हुने पनि समय आईरहेको छ । यस्तो समयमा यो ट्रेण्ड चल्नु खुशीको कुरा हो । हामीहरुको विवाहमा पनि सबैले बधाई दिनुपर्ने उनको अपेक्षा रहेको छ ।

यता पत्रकार शैलेन्द्र महतो क्रान्तिले यो ट्रेण्ड ढिलो अउनु दुःखद भएपनि राम्रो सुरुवात भएको प्रतिक्रिया दिए । उनको विवाह करिब सात वर्ष पहिले भईसकेको छ ।

यस्तै खोज पत्रकारितामा रुची राख्ने मधेस प्रदेशका अर्का चर्चित पत्रकार संतोष सिंह पनि क्रान्तिको भनाइमा सहमत छन् ।

विवाहको तरखरमा रहेका पत्रकारहरुले आफुहरूको विशेष समारोहमा लेभल अनुसारको पत्रकारहरूलाई तिनै तहको सरकारबाट आधिकारिक रूपमा नै बधाई पाउनुपर्ने माग राखेका छन् ।

नोट : यो समाचार व्यंग्यात्मक शैलीको रूपमा प्रकाशन गरिएको छ ।-सम्पादक

प्रतिक्रिया
नागरिक मिरर