धनुषाको सतलोक आश्रममा तीन दिवसीय महायज्ञ सुरु
जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका २ बेलाचापीस्थित सतलोक आश्रममा तीन दिवसीय महायज्ञ सुरु भएको छ ।
सन्त रामपालजी महाराजको अवतरण दिवसको अवसरमा शुक्रबारदेखि महायज्ञ सुरु भएको हो । महायज्ञसँगै अमर ग्रन्थको तीन दिवसीय अखण्ड पाठ तथा विशाल भण्डाराको पनि आजबाटै सुरु भएको छ । बिहान सबा ९ बजेदेखि सन्त गरीबदासजी महाराजद्वारा रचित अमर ग्रन्थको पाठ प्रकाश गरी उक्त कार्यक्रम प्रारम्भ भई तेश्रो दिन भोगका वाणीका साथमा सम्पन्न हुनेछ ।
कार्यक्रममा भारी संख्यामा श्रद्धालुहरु भक्तजनहरुको सहभागिता रहेको आश्रमले जनाएको छ । कार्यक्रम अन्तर्गत भोलि शनिबार कैयौं जोडीहरुको दाइजोमुक्त सामुहिक विवाह हुनेछ ।
सोही अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ ।
कार्यक्रममा पाखण्ड र सामाजिक विकृतिहरुमाथी प्रहार गर्दा कबीर साहेबले आफ्नो मानवलीलाको क्रममा गरेको संघर्ष र भोग्नुपरेको यातनाहरुको बारेमा चित्रण गरी आध्यात्मिक प्रदर्शनी लगाइएको छ । जसमा सन्त रामपाल महाराजले सत्य ज्ञान प्रचार शुरु गरेदेखि वर्तमान समयसम्मको संघर्षको गाथा देखाइएको चित्रहरु लगाएको छ ।