मुख्यमन्त्री सिंह नेतृत्त्वको टोली अयोध्यामा, आज भगवान रामको तिलकोत्सव

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंह नेतृत्त्वको टोली अयोध्या पुगेको छ ।

यहि मङ्सिर २१ गते हुने राम जानकी विवाह महोत्सवका लागि निम्तो दिन र विवाह अघि हुने तिलकोत्सव समारोहका लागि मुख्यमन्त्री सिंह २५१ जनाको नेतृत्त्व गर्दै शनिवार अयोध्याका लागि प्रस्थान गरेका थिए ।

अयोध्यामा आज भगवान रामको तिलकोत्सव समारोहको आयोजना हुनेछ ।

भगवान रामको तिलकका लागि जनकपुरधामबाट अयोध्या पुगेको टोलीको भव्य स्वागतको तयारी गरिएको छ ।

अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा पछि पहिलोपटक हुन लागेको तिलकोत्सव आज दिउँसो २ बजे आयोजना गरिने छ ।

तिलकोत्सवका लागि जनकपुरबाट गएका अतिथिलाई अयोध्यामा परम्परा अनुसार खानपानको व्यवस्था गरिएको छ ।

भगवान श्रीरामको तिलकोत्सव रामसेवकपुरममा हुनेछ । जहाँ अतिथि र अन्य दर्शकको सङ्ख्यालाई ध्यानमा राखी व्यवस्था गरिँदैछ । तिलकका लागि तयार मञ्चमा रामको स्वरुपमा १८ वर्षीय एकजना युवकलाई पिठोले बनाइएको कुर्सीमाथि राखिने छ । तिलक समारोह पारम्परिक हुनेछ । जसमा चाहिने आवश्यक सामग्री परम्परा अनुसार जनकपुरबाट गएका तिलक टोलीले आफ्नो साथमा लगेका छन् । काँसको थाल, दुईवटा कचौरा, चम्मचसहित ५ वटा परम्परागत भाडाकुडा बाहेक उपहारमा दिनका लागि अन्य भाडाकुडा पनि रहने छ ।

त्यसबाहेक पहेँलो रंगको धोती, तौलिया, बेसारको डल्लो, चन्दन, धान, पहेँलो चामल, दुबो र घाँस लगायतका सामग्री उपहार स्वरुप दिइने छ । त्यस्तै चाँदीको सिक्का, अलैँची र सुपारी पनि दिइने छ । तिलक चढाउनका लागि जनकपुरबाट सिताको कान्छो भाइको भूमिका जानकी मन्दिरका छोटे महन्त रामरोशन दासले निर्वाह गर्नेछन् ।

भगवान सिताको माइती जनकपुरबाट गएका अतिथिहरूको खानपानका लागि विशेष मेन्यू पनि तयार गरिएको छ । जसमा विभिन्न प्रकारका चाट (आलू टिक्की चाट, पापडी चाट, दहि भल्ले) लगायतका हुनेछन् भने छोला, भात, पुरी तरकारी, मिक्स तरकारी, पापड, रायता, मिठाई र हलुवा लगायत अन्य व्यञ्जन पनि हुनेछन् ।

तिलकोत्सव पछि २६ नोभेम्बरमा अयोध्याबाट जन्ती जनकपरका लागि प्रस्थान गर्नेछन।

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: