विश्वको सबैभन्दा वृद्ध व्यक्तिको ११२ वर्षको उमेरमा निधन

बेलायत । विश्वका सबैभन्दा वृद्ध व्यक्ति, बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा निधन भएको छ ।

गिनिज वर्ल्ड रेकर्डले मङ्गलवार उनको परिवारलाई उद्धृत गर्दै उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा जोनको निधन भएको बताएको हो ।

टिनिसवुडको जन्म सन् १९१२ अगस्ट २६ मा लिभरपुलमा भएको थियो र सोमबार उनको निधन भयो ।

अप्रिलमा भेनेजुएलाका ११४ वर्षीय जुआन भिसेन्टे पेरेजको निधनपश्चात् उनी विश्वका सबैभन्दा वृद्ध व्यक्ति बनेका थिए ।

“उहाँको अन्तिम दिन सङ्गीत र प्रेमले घेरिएको थियो”, परिवारले एक विज्ञप्तिमा भनेको छ, “वर्षौंदेखि उहाँको हेरचाह गर्ने सबैलाई धन्यवाद ।”

टाइटानिक जहाज डुबेको सोही वर्ष जन्मिएका र दुवै विश्वयुद्धबीच जीवित रहेका टिनिसवुडले गिनिज विश्व रेकर्ड्सलाई उनको दीर्घायुको रहस्य ‘शुद्ध भाग्य’ रहेको बताएका थिए ।

“तपाईं या त लामो बाँच्नुहुन्छ वा तपाईं छोटो बाँच्नुहुन्छ र तपाईं यसका बारेमा धेरै गर्न सक्नुहुन्न”, उनले भनेका थिए ।

उनले स्वस्थ रहन सबै कुरामा संयम अपनाउन सल्लाह दिएका थिए । “यदि तपाईँ धेरै पिउनुहुन्छ वा धेरै खानुहुन्छ वा धेरै हिँड्नुहुन्छ भने, यदि तपाईँले धेरै केही गर्नुभयो भने, तपाईँले अन्ततः कष्ट भोग्नुहुनेछ”, उनले भने ।

दोस्रो विश्वयुद्धको समयमा टिनिसवुडले रोयल आर्मी पे कर्प्समा प्रशासनिक भूमिका निर्वाह गरे र पछि शेल र बीपी जस्ता तेल कम्पनीहरूमा हिसाब किताबको काम गरे ।

उनी लिभरपुल फुटबल क्लबका आजीवन समर्थक थिए र हरेक शुक्रबार माछा र चिप्स खान्थे ।

विश्वको सबैभन्दा वृद्ध महिला जापानकी ११६ वर्षीया टोमिको इटुका हुन् । एएफपी

प्रतिक्रिया
नागरिक मिरर