क्रसिङ्ग सुरु भइसक्दा पनि सरकारले उखुको समर्थन मूल्य तोक्न सकेन

काठमाडौँ । सरकारले यस वर्षको उखुको समर्थन मूल्य तोक्न ढिलाई गर्दा किसान अन्यौलमा परेका छन् ।

सामन्यतया कात्तिक मसान्तसम्म उखुको समर्थन मूल्य तोकिसक्नु पर्नेमा सरकारले भने यसवर्ष उखु क्रसिङ्ग सुरु भइसक्दा पनि समर्थन मूल्य तोक्न सकेको छैन ।

उखु किसानहरूले उखु क्रसिङ्ग सुरु भइसक्दा पनि सरकारले समर्थन मूल्य नतोकिदिँदा समस्या भएको भन्दै उखुको कुन मूल्य पाउने भन्ने अन्यौल उत्पन्न भएको बताएका छन् ।

सर्लाहीका उखु किसान हरिश्याम रायले सर्लाहीको केही क्षेत्रमा उखु क्रसिङ्ग सुरु भइसकेको बताए । उनले उखु क्रसिङ्ग सुरु भइसक्दा पनि सरकारले मूल्य नतोकिदिँदा गत वर्षकै मूल्य पाउने हो कि नयाँ कति मूल्य पाउने ठेगान नभएको बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा.हरि बहादुर केसीले उखुको समर्थन मूल्य तोक्न केही ढिलाई भएको भन्दै मङ्सिर मसान्तसम्म मूल्य तोकिसक्ने बताए ।

उनले भने, ‘सामान्यतया कात्तिक मसान्तसम्म उखुको समर्थन मूल्य तोकिने गरेकामा केही ढिलाई भएको छ । मङ्सिरसम्म उखुको समर्थन मूल्य तोकिसक्ने मन्त्रालयको तयारी छ ।’

प्रतिक्रिया
नागरिक मिरर

    ट्याग: