सिरहा कारागारमा बेथिती : रिहा हुने कैदीबाट नाइकेले असुल्छन् साढे १० हजार, एसपीदेखि सिडिओसम्मको मिलेमतो

जेलभित्रै किन्न पाइन्छ मदिरादेखि लागुऔषधसम्म

सिरहा । गोलबजार नगरपालिका–१० का ज्ञान यादवको सिरहा कारागारबाट रिहा हुने दिन नजिकिँदै थियो। कारागारमुक्त हुँदैछु भन्ने कुराको खुशीभन्दा तनाव बढी देखिन्थ्यो उनको अनुहारमा।

कैदमुक्त हुनुभन्दा दुई दिनअघि उनलाई जेलका नाइके विजय महतोले भेटेका थिए। भेटमै थाहा भयो कैदमुक्त हुनले महतोलाई साढे १० हजार रूपैयाँ बुझाउनुपर्ने रहेछ। त्यसलाई उनीहरू नजराना रकम भन्दा रहेछन्।

ज्ञानको परिवारको आर्थिक अवस्था कमजोर छ। साढे १० हजार रूपैयाँ जुटाउनु उनीहरुका लागि फलामको चिउरा चपाउनुसरह हो। तैपनि उनले घरमा फोन गरे र रकम जुटाइदिन रोइकराइ गरे।

छोरा छुटाउनका लागि उनका परिवारले अनेक गरेर साढे दस हजार जुटाए। त्यही पैसा नाइके विजय महतोलाई दिएपछि ज्ञान कैदमुक्त हुन पाए।

सिरहा कारागारमा यस्तो घटना अपवाद होइन।

यहाँबाट रिहा हुने हरेक कैदीबन्दीले कैदमुक्त हुनु दुई दिनअघि नाइके विजय महतोलाई त्यति रकम बुझाउनैपर्छ । यसले रिहाइको दिन नजिकिएसँगै त्यति रकम कहाँबाट जोहो गर्ने भन्ने विषयलाई लिएर कैदीबन्दी तनावमा हुन्छन्।

’कैदमुक्त हुनुभन्दा दुई दिनअघि नै उसले जेलका नाइके महतोलाई १० हजार ५ सय नजराना चढाउनैपर्छ । रिहा हुने एक साता अघि नै नाइके महतोले चेतावनी दिन्छन् । चेतावनी दिएको तीन दिनभित्र रकम नबुझाए कुटपिट गर्न थाल्छन् । यातना दिन थाल्छन्। कैदी बन्दीले घरमा फोन गरेर रकम मगाउँछन्,’ ज्ञानले भने।

धरौटी राख्न ढिला हुँदा दुई दिनका लागि कारागार चलान गरिएका राजदेव यादवले पनि नाइके महतोलाई १० हजार ५ सय दाम चढाउनैप¥यो।

‘त्यति रकम नदिएसम्म कारागारबाट निस्कनै दिएनन्,’ उनले भने। उनका अनुसार मन्दिर बनाउने, कारागारको भित्ता रंगाउने वा मर्मत गर्ने नाममा नाइके महतोले हरेक मुक्त हुने कैदीबन्दीसँग रकम असुल गर्छन्।

’सिरहा जेलभित्र नेपालको कानून चल्दैन । त्यहाँ विजय महतोले जे बोल्यो त्यही कानून बनेर लागु हुन्छ,’ उनले भने।

हात हतियार खर खजाना मुद्दाबाट सजाय पाएर जेलमुक्त भएका कल्याणपुर नगरपालिकाका कैदी सकिल अन्सारीले पनि साढे १० हजार बुझाएको बताए। अझै आफूले त यातनासम्म भोग्नुपरेको उनले बताए।

’नाइके महतोसँग जेल प्रशासन, सिडियो र एसपी सबैको मिलोमतो छ । नाइके महतोले जिल्लाका हाकिमहरुसँग फोन संवाद गरिरहन्छन्,’ उनले भने।

‘जेलभित्र नाइके महतोले ठूलो व्यापार चलाएको पनि उनी बताउँछन्।

त्यहाँ चुरोटदेखि लागुऔषध र मदिरासम्म किनेर खान पाइने व्यवस्था रहेको कैदमुक्त भएकाहरू बताउँछन्। यद्यपि बाहिरभन्दा दोब्बर तेब्बर महँगो मूल्य राखिएको उनीहरू बताउँछन्।

’चुरोट सूर्य ४५, शिखर २५, खुकरी २०, प्रति खिल्ली र राज निवास गुट्खा प्रति प्याकेट २५ रुपैयाँमा बिक्री गर्छन् । थरीथरीका मदिरा, लागू औषध जेलभित्र उपलब्ध छ,’ उनले भने।

तर जसले जे किने पनि नाइकेकै पसलबाट किन्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन्। ’बाहिरबाट मगाएको थाहा पाएभने उनले कैदीलाई कुटपिट गर्छन । कैदीको गुनासो कसैले सुन्दैन,’ उनले भने।

अन्सारी अगाडि भन्छन्,‘कसैले बाहिर गएर पत्रकार वा मानव अधिकारकर्मीहरुलाई केही सुनायो भने उसलाई फेरि कुनै मुद्दामा फसाएर जेलभित्र मगाउँछु, त्यसपछि कुट्छु भनेर धम्की दिन्छन् । नाइके महतोले प्रहरी प्रशासन आफ्नै हातमा भएको घमण्ड गर्छन ।’

अन्सारीका अनुसार नाइके महतोले मोबाइल राखेका छन् । जेलभित्रका झण्डै ५५० कैदीले त्यहीबाट घरमा फोन गर्नुपर्छ । त्यसको शूल्क भने चर्को लिइन्छ । फोनबाट मात्र उनले करिब तीन लाख महिनाको आम्दानी गर्छन् । सिरहा जेलमा लागुऔषध र रक्सी जति पनि पाइन्छ ।

जेलको सुरक्षार्थ खटिएका एक सुरक्षाकर्मीले नाम उल्लेख नगर्ने शर्तमा बताए अनुसार नाइके महतोले जेलभित्र बसेर मासिक १० लाखभन्दा बढी असुल गर्छन्।

‍‘हामी सानाको काम ड्युटी गर्नु हो । ठूलाले मोज गर्छन् । आम्दानीबाट नाइके महतोले जेलर, प्रमुख जिल्ला अधिकारी र एसपीलाई समेत नजराना पठाउँछन् । महिनैपिच्छे घुमुवामार्फत ठूला हाकिमहरुले रकम असुलेर लान्छन्,’ उनले भने।

तीन महिनाअघि सिरहा कारागार भित्र नाइके महतोले लागू्औषध र मदिराको व्यापार चलाएको सञ्चार माध्यमहरुमा समाचार आएको थियो ।

त्यसपछि छानबिनका लागि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले एक समिति गठन गरेका थिए । तर धेरै दबाब दिंदा पनि प्रजिअ दाहालले सो छानविन समितिको प्रतिवेदन सार्वजनिक गरेनन् ।

प्राप्त जानकारी अनुसार गृह मन्त्रालयबाट आएको पत्रमा कर्तव्य ज्यान मुद्दामा जन्मकैदमा सजाय पाएका नाइके विजय महतोलाई जेल सरुवा गर्न भनिएको छ । तर प्रमुख जिल्ला अधिकारी दाहालले नै उनको जेल सरुवा टार्न खोजेको बताइन्छ ।

यस सम्बन्धमा सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालसँग जिज्ञासा राख्दा उनले भने, ‘हामीले पनि हिजो मात्र यो यस्तो घटना सुन्यौं । जेल प्रमुखलाई छानविन गर्न भनेका छौं । बुझ्ने काम हुँदैछ ।’

प्रहरी उपरीक्षक रमेश पण्डितले यसबारे सोधिखोजी सुरु भएको बताए। ’छानविन गर्दैछौं । प्रमाणित भए उनीहरुलाई थप सजाय हुन्छ,’ उनले भने।

कारागार प्रमुख राजन घिमिरेले भने आफू भर्खरै आएकाले ती विषयमा जानकारी नभएको बताए।

‘म भर्खरै आएको छु । दिउँसो जिल्ला प्रशासनमा काम गर्छु । साँझमा कारागार हेर्न पुग्छु । जेलभित्रका कुरा हामीलाई पनि सजिलै थाहा हुँदैन । म सुक्ष्म तरिकाले अध्ययन अनुसन्धान गर्दैछु । तथ्य फेला परेपछि कारबाही गर्छौं।’

(समाचार संस्था नेपाल न्युज बैंकका लागि राहुल रायले तयार गरेको रिपोर्ट)

प्रतिक्रिया