केआईआईटीका उपकुलपतिले मागे माफी

काठमाडौं । भारतको ओडिशा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका उपकुलपतिले माफी मागेका छन् ।
नेपाली विद्यार्थीको मृत्यु प्रकरणबारे आन्दोलनतरत नेपाली विद्यार्थीमाथि दमन गर्दै सोमवार त्यहाँ अध्ययनरत झन्डै एक हजारभन्दा बढी नेपाली विद्यार्थीलाई कुटपिट गर्दै बाहिर निकालिएको घटनाबारे केआईआईटीले माफी मागेको हो ।
विश्वविद्यालयका उपकुलपति प्राध्यापक शरनजित सिंहले एक विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति माफी मागेका हुन् । उनले नेपाली विद्यार्थीमाथि भएको घटनाप्रति पछुतो रहेको पनि बताएका छन् । साथै उपकुलपति सिंहले नेपाली विद्यार्थीलाई आफ्नो नियमित अध्ययनमा सहभागी हुन पनि आग्रह गरेका छन् ।
केआईआईटीमा अध्ययनरत एकजना नेपाली विद्यार्थी २० वर्षीया प्रकृति लम्सालको आइतवार होस्टलमा शव भेटेको थियो । घटनाबारे छानबिन हुनुपर्ने मागसहित शान्तिपूर्ण तरिकाले आन्दोलन गरिरहेका नेपाली विद्यार्थीलाई सोमवार विश्वविद्यालय प्रशानसले प्रहरी, स्थानीय बाउन्सर, होस्टल वार्डेन लगायतको सहयोगमा अमानवीय तरिकाले कुटपिट गर्दै निकालेका थिए ।
उनीहरुले नेपाली विद्यार्थीलाई ओडिशा र कटकको रेलवे स्टेशन, बस स्टेशन लगायतमा लगेर छाडेका थिए । विश्वविद्यालयको उक्त कदम पछि अधिकांश नेपाली विद्यार्थी आफ्नो अनुकुलता अनुसार नेपाल फर्किसकेका छन् भने केही बाटोमा रहेका छन् ।
