मधेसमा ३५ वटा एकीकृत सेवा केन्द्र निर्माण गरिने

महोत्तरी । मधेसमा कृषि तथा पशुपक्षीपालक किसानलाई लक्षित गरी ९१ करोड लागतमा ३५ वटा आधुनिक एकीकृत सेवा केन्द्र भवन निर्माण हुनेभएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमातहत बर्दिवासस्थित आर्थिक करिडोर आयोजना कार्यालयले मधेसका ३५ ठाउँमा कृषि तथा पशुपंक्षी सेवाका लागि आधुनिक सुविधासम्पन्न भवन निर्माण गर्ने भएको हो ।
यी स्थानबाट माटो परीक्षण, प्राङ्गारिक खेतीका लागि प्रयोगशाला, पशुको गोबर जाँच, उपचार र पशुपालक किसानलाई प्राविधिक परामर्श प्रदान गरिने आर्थिक करिडोर आयोजना कार्यालय बर्दिवासले जनाएको छ । आयोजना कार्यालय प्रमुख राजेश साहले भन्नुभयो, “यीमध्ये १० वटा सेवा केन्द्र निर्माण सम्पन्न भइ स्थानीय तहमा हस्तान्तरण भइसकेका छन् ।” हस्तान्तरण भइसकेका सेवा केन्द्र महोत्तरीका सम्सी, सर्लाहीको कौडेना, धनुषाको मिथिला र कमला, सिरहाको भगवानपुर, रौतटहको राजापुर, सप्तरीको बिहुल, बाराको फेटा र पर्साको जगननाथपुरसहित १० स्थानीय तहमा निर्मित छन् । विश्व बैंकको सहयोगमा सञ्चालित आयोजना कार्यालयका कार्यक्रमले प्रदेशभित्रका पूर्वपश्चिम तथा हुलाकी राजमार्गले छोएका ८४ वटा स्थानीय तहलाई समेटेको छ ।
यसैगरी दोस्रो चरणमा सम्झौता भएको भवनको ६५ प्रतिशत भौतिक प्रगति र तेस्रो चरणमा सम्झौता भएका ४५ प्रतिशत भौतिक प्रगति भएको छ । यसैगरी अन्तिम चरणमा भएको सम्झौताका भवनको भौतिक प्रगति ६५ प्रतिशत भएको आयोजना कार्यालयका सूचना अधिकारी सन्तोष प्रकाशले जानकारी दिए।
किसानलाई यसले हौसला मिलेको सम्सी–६ का इम्तियाज अहमद बताउनुहुन्छ । सेवा केन्द्र निर्माणले स्थानीय तहबाट दिइने कृषि सेवा निकै सहज बनेको सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादवको ठम्याइ छ । यसअघि आयोजना कार्यालयले मधेसका आठवटै जिल्लामा गरी एक सय ७९ समूहमा आबद्ध पाँच हजार बढी किसान लाभान्वित हुनेगरी दुई अर्ब अनुदान उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । किसान समूहले प्रस्तुत गरेका प्रस्तावनाका आधारमा अनुदानका लागि समूह छनोट भएका छन् ।