गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए मधेश प्रदेश सरकार एसईईबाट अलग हुने चेतावनी

जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट नभए मधेश प्रदेश सरकारले परीक्षा प्रक्रियाबाट अलग हुने चेतावनी दिएको छ। आइतबार मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णद्वारा जारी विज्ञप्तिमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयअनुसार गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले एसईई परीक्षा सञ्चालन प्रक्रियामा भाग नलिन सक्ने जनाइएको छ।

मुख्यमन्त्री सिंहले प्रदेशको शैक्षिक सुधारका लागि परीक्षा प्रणालीमा आवश्यक सुधार गर्न केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने भन्दै सम्बद्ध निकायलाई निर्देशन दिएका थिए। सोहीअनुसार प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्ने निर्णय गरी जिल्ला परीक्षा समन्वय समितिलाई पठाए पनि विभिन्न जिल्लामा पूर्ववत् प्रणालीअनुसार विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय परीक्षा बोर्ड नियमावलीअनुसार परीक्षा केन्द्र निर्धारण, केन्द्राध्यक्ष तथा कर्मचारी नियुक्ति र परीक्षा सञ्चालनका लागि जिल्ला परीक्षा समन्वय समितिसँग समन्वय गर्नुपर्ने प्रावधान छ। तर, बोर्डले जारी गरेको निर्देशिकामा केन्द्राध्यक्ष नियुक्ति परीक्षा केन्द्रकै प्रधानाध्यापकलाई दिने प्रावधान राखिएकाले यसले नियमावलीसँग विरोधाभास सिर्जना गरेको प्रदेश सरकारको दाबी छ।

विज्ञप्तिमा, शिक्षा विकास तथा समन्वय एकाइ प्रमुखको स्वार्थप्रेरित तथा यथास्थितिवादी सोचका कारण परीक्षा प्रणालीमा सुधार हुन नसकेको उल्लेख छ। केन्द्राध्यक्षमा विद्यालयकै प्रधानाध्यापक रहने प्रथाले अनियमितताको सम्भावना बढ्ने विश्लेषण सार्वजनिक भइरहेका बेला पुरानै व्यवस्था दोहोर्याउने प्रयास भइरहेको भन्दै प्रदेश सरकार परीक्षालाई स्वच्छ र मर्यादित बनाउन प्रतिबद्ध रहेको बताइएको छ।

मुख्यमन्त्री सिंहले परीक्षा प्रणालीमा शक्ति र प्रभावको दुरुपयोग रोक्न गोलाप्रथाबाटै केन्द्राध्यक्ष चयन गर्नुपर्नेमा जोड दिएका छन्। प्रदेश सरकारका अधिकारीहरू यस विषयमा राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको जनाइएको छ।

गत फागुन २६ गते जनकपुरधाममा आयोजित ‘माध्यमिक शिक्षा परीक्षा २०८१ सञ्चालन तथा व्यवस्थापन’ सम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा प्राप्त सुझावका आधारमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले केन्द्राध्यक्ष नियुक्ति प्रक्रिया पारदर्शी बनाउन जेष्ठ शिक्षकहरूको रोस्टर तयार गरी गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्ने निर्णय गरेको उल्लेख छ।

प्रतिक्रिया