महायज्ञको नाममा दलितमाथि अन्याय गरेको औरही गाउँपालिका अध्यक्षसहित तीनजना फरार

सिरहा । सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञको नाममा दलित समुदायका व्यक्तिमाथि अन्याय भएको घटना सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षसहित तीन जना फरार भएका छन्। फरार हुनेमा औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव, महायज्ञ आयोजक बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव रहेका छन्।

घटना बाहिर आएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी प्रमुख रमेश पण्डित घटनास्थल तथा गाउँपालिका कार्यालय पुगेका थिए। तर, ती तीनै जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

प्रहरी प्रमुख पण्डितका अनुसार उनीहरूलाई खोजी गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णलाई सहयोग गर्न आग्रह गरेको छु। हामी घटनाबारे जानकारी लिन गएका थियौं, तर उनीहरू भागिसकेका रहेछन्,’ पण्डितले भने।

गाउँपालिका अध्यक्ष यादवसहित उनीहरूले आगामी चैत १७ गतेदेखि आयोजना हुन लागेको महायज्ञका नाममा ३० वर्षदेखि बसोबास गर्दै आएका स्थानीय दीपक मल्लिकको घर गाउँपालिकाको डोजर प्रयोग गरेर भत्काएका थिए।

जातीय विभेद गर्दै घरबाट हटाइएका मल्लिक परिवार हाल गाउँकै सामुदायिक विद्यालयको जग्गामा अस्थायी टहरा बनाएर बसिरहेका छन्।

प्रतिक्रिया