नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ लाख नाघ्यो, ११ हजारभन्दा बढीको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ लाख नाघेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ६ सय ६२ नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ लाख नाघेको हो ।

कोरोना सम्बन्धी नियमित जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले गत २४ घन्टामा देशभर ८ हजार ४ सय २६ कोरोना परीक्षण गरिएको बताउनुभयो । उहाँका अनुसार गत २४ घन्टामा दशेभर ७ हजार २२ आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ५ सय ३५ र १ हजार ४ सय ४ एन्टीजेन विधिबाट परीक्षण गर्दा १ सय २७ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ८ लाख ७ हजार ५२ र एन्टीजेन विधिबाट ९३ हजार ६ सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने आरटी पिसिआर र एन्टीजेन दुबै विधिबाट हालसम्म ९ लाख ७ सय ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये ७ सय ५८ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ७ लाख ८४ हजार १ सय ५५ पुगेको छ ।

यस्तै गत २४ घन्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय १८ पुगेको छ । गत २४ घन्टामा देशभर ९ हजार ८ सय २ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हाल देशभर ११ हजार ५ सय ७९ सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया