प्रदेश २ ले पायो स्थायी राजधानी, जनकपुरधामलाई स्थायी राजधानी बनाउन २ तिहाइले गरे मतदान
जनकपुरधाम । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरलाई कायम गरिएको छ ।
दलहरूको साझा प्रस्तावको रुपमा जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाई मत प्राप्त भएपछि जनकपुरधाम नै स्थायी राजधानी कायम भएको हो ।
प्रदेश सरकार गठन भएको ५ वर्ष हुनै लाग्दा प्रदेश नम्बर २ ले स्थायी राजधानी पाएको हो । तर, नाम भने अझै टुङ्गो लाग्न सकेको छैन । प्रदेश सरकार गठन भएको बेला जनकपुर अस्थायी राजधानीको रुपमा कायम गरिएको थियो ।
प्रदेश सभामा हाल कायम रहेका १ सय ४ सदस्यमध्ये मतदानमा ९९ जना सहभागी थिए । जसमध्ये जनकपुरधामको पक्षमा ७८ मत परेको थियो । दुई तिहाइभन्दा बढी मत परेकाले जनकपुरधाम नै स्थायी राजधानी कायम भएको सभामुख सरोज यादवले बताए ।
राजधानीका लागि पनि जनकपुर र वीरगञ्जलाई केन्द्रमा राख्दै त्यसमा वरिपरिका विभिन्न क्षेत्र समेटेर ७ वटा नाम प्रस्ताव गरिएका थिए ।
तर, पुस १३ गतेको प्रदेश सभा बैठकले नाम र राजधानीको विषय टुङ्गो लगाउन सभामुख सरोजकुमार यादवको सभापतित्वमा १६ सदस्यीय समिति गठन गरेको थियो । प्रदेश सभाको त्यस दिनको बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो ।
समिति सभापतिमा सभामुख यादव र उपसभापतिमा उपसभामुख उपमा कुमारी देव थिए । त्यस्तै, सदस्यहरुमा उपेन्द्रप्रसाद कुशवाहा, किशोरी साह (कमल), जगतप्रसाद यादव, दीलिपकुमार साह, परमेश्वर साह, विन्देश्वरप्रसाद यादव, शत्रुधन महतो, शारदादेवी थापा, शिवचन्द्र चौधरी, शैलेन्द्रकुमार यादव, सञ्जयकुमार यादव, सावित्रीदेवी साह, सुन्दरबहादुर विश्वकर्मा र सुरिताकुमारी साह थिए ।
समितिको प्रस्ताव आइतबारको प्रदेश सभा बैठकमा पेस भएको थियो ।