दिलीपलाई सहिद घोषणा गर्न प्रदेश मन्त्री साहलाई पनि ज्ञापन

जनकपुरधाम । नदीजन्य पदार्थको अवैध उत्खननविरुद्धका अभियन्ता दिलीप महतोलाई वातावरण अभियन्ता तथा पर्यावरण सहिद घोषणा गर्न माग गर्दै मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहलाई पनि ज्ञापन पत्र बुझाएको छ ।

युथ एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष राहुलराज यादव नेतृत्वको युवाहरुले मन्त्री साहलाई ज्ञापन पत्र बुझाएका छन् ।

टिपरले किचेर हत्या गरिएका धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीप महतो (ओमप्रकाश) लाई वातावरण अभियन्ता तथा पर्यावरण सहिद घोषणा गराउँन मंगलबार उनीरुले मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । यसअघि उनीहरुले वनमन्त्री रामसहाय यादवलाई पनि ज्ञापन पत्र बुझाएको थियो ।

वनमन्त्री यादवले ज्ञापन पत्र बुझ्दै दिलीपलाई सहिद घोषणा गर्न गृह मन्त्रालयलाई पत्राचार गरी सहिद घोषणा गराउन पहल गर्ने आवश्वासन दिएको थियो । तर, गत बुधवारनै वनमन्त्री यादवले ज्ञापन पत्र बुझेपनि हालसम्म केही पहल नभएको युथ एसोसिएसन अफ नेपालका संस्थापक अध्यक्ष राहुलराज यादवले बताएका छन् ।

त्यस्तै मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले पनि दिलीपलाई वातावरण अभियन्ता तथा पर्यावरण सहिद घोषणा गराउनको लागि पहल गर्ने आवश्वासन दिएको अध्यक्ष यादवले बताए ।

दिलीपलाई सरकारले सहिद घोषणा नगरुञ्जेल आफुहरु सरकारलाई ध्यानाकषर्ण गराईरहने उनले बताए ।

मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चारमन्त्री मन्त्रालय जनकपुरधाममा अध्यक्ष यादव नेतृत्वमा मनोहर यादब, सचितानन्द साह, अमीत मण्डल लगायत युवाहरु पुगेको थियो ।

प्रतिक्रिया