श्रम गरेको पारिश्रमिक पाउन डेढ वर्षदेखि श्रम कार्यालय धाउँदै एभेरेष्ट पेपर मिल्सका मजदुर
जनकपुरधाम । महेन्द्रनगरका नारायण साह तलव लिन डेढ वर्षदेखि जनकपुर धाइरहेका छन् । महेन्द्रनगरकै एभेरेष्ट पेपर मिल्सले तलव दिन आलटाल गरेपछि उनी श्रम कार्यालय जनकपुर धाउने गरेका छन् । यो अवधिमा नारायण कयौैं पटक जनकपुर आए । तर, रित्तै फर्किए । सोमबार पनि नारायण त्यँही कार्यालय अगाडी हुलमा देखिए । मजदुरी गरी घर परिवार चलाउँदै आएका नारायाण निकै चिन्तित थिए । पसिना बगाएर काम गरेको तलब मालिकले डुबाउने पीरले उनी चिन्तित छन् ।
‘कहिले सोचिन, आँफैले काम गरेको तलब लिन यति समस्या हुन्छ । १३ महिना काम गरेको पैसा फैक्ट्रीले अहिलेसम्म दिएको छैन्,’ उनले भने, ‘तलव दिलाउन डेढ वर्षदेखि श्रम र जिल्ला प्रशासन कार्यालयको कर्मचारीलाई हारगुहार गरिरहेको छु । उनीहरू आश्वासन मात्रै दिन्छ ।’
ऋण लिएर घर खर्च चलाउने गरेका नारायण ३६ प्रतिशत ब्याजदरमा ५४ हजार रुपैयाँ ऋण लिएर नाती नातीनीको विद्यालय शुल्क तिरेको बताउँछन् । सुरु–सुरुमा समस्या भएपछि छिमेकीसँग सापटी लिएर जसोतसो गुजरा गरेका नारायणले गत साउनमा सापटी तिर्न ऋण लिएको सुनाए । ‘ऋण लिएको पैसा विद्यालय शुल्क, लत्ताकपडा र सापटी तिर्दा नै सकियो,’ नारायणले भने, ‘पैसा अभावमा उपचार गराउन सकिरहेको छैन् ।’
नारायाण जस्तै, सोही उद्योगका अर्का मजदुर रामबाबु महतोको पीडा पनि उस्तै छ । उनलाई १३ महिना काम गरेको पैसा उद्योगले दिन अनाकानी गर्दा छाक टार्न समस्या भइरहेको छ । रामबाबु महेन्द्रनगरमै कोठा लिएर बस्ने गरेका छन् ।
पुसदेखि उद्योगले न काम दिएको छ, न पुरानो तलव । काम गरेको तलव नपाउँदा उनले अनेकन पीडा भोग्ने गरेका छन् । ‘पैसा नहुँदा चिसो मौसममा पनि न्यानो कपडा किन्न सकिन । म त चिसो खेप्न सक्छु । तर मेरो बाल बच्चा ?,’उनले भावुक हुँदै सुनाए ।
सम्झौता हुन्छ, कार्यन्वयन हुँदैन
मजदुरका प्रतिनिधि सत्येन्द्र सिंहले दुई सय ५० मजदुरको करिव दश करोड रुपैयाँ उद्योगले पचाउने दाउमा रहेको आरोप लगाए । सबै मजदुरको साढे १३ महिना काम गरेको तलव बाँकी रहेको उनले बताए । उद्योगका व्यवस्थापन पक्ष पटक–पटक मजदुरसँग वर्ता गरेपनि सहमती भएको कुरा लागु नगरेको उनको भनाइ छ ।
डेढ वर्षको अवधिमा उद्योगका प्रबन्धक संतोष दहालसँग दुई पटक त्रिपक्षीय सम्झौता भएपनि तलव दिन नमानेको उनको गुनासो छ । ०७७ फागुण २८ र ०७८ असार २९ गते श्रम तथा रोजगार कार्यालय जनकपुरको रोहबरमा भएको सम्झौता हाल सम्म कार्यन्वयन हुन सकेको छैन् ।
जिल्ला प्रशासन कार्यालय र श्रम कार्यालयले पत्राचार गर्दा जवाफमा लचिलोपन देखिएपनि तलव दिन नटेरेको मजदुर तथा वर्ता कमिटि सदस्य सतेन्द्र सिंहले बताए । ०७८ मंशिर १३ र पुस ९ गते फेरी श्रम तथा रोजगार कार्यालय जनकपुरले सम्झौता कार्यन्वयन गर्न उद्योगलाई पत्रचार गरेको छ ।
सञ्चय र बीमामा पनि जालझेल
मजदुर मदन कर्णले सञ्चय कोष र जिवन बीमामा पनि उद्योगले जालझेल गरेको बताउँछन् । ३५ जनाको सञ्चय कोषको रकम बैंकलाई लामो समयदेखि नबुझाएको उनले जानकारी दिए ।
‘हाम्रो सबै कागजात उद्योगले नै राखेका छन् । सुरुमा हाम्रै सेवाको लागि कागजात माग्यो,’ उनले भने, ‘तर, अब कुनै पनि कागजात हामीलाई उद्योगले दिदैन । बीमा र सञ्चय कोषको कागजात पनि हामीलाई दिएको छैन् ।’
२०४७ सालमा उद्योगले गरिदिएको जीवन बीमाको लाभ अहिलेसम्म लिन नसकेको मजदुरहरू बताउँछन् । कच्चा पदार्थ नभएका कारण उद्योगमा बन्द हुने अवस्थामा छ । गत पुस २९ गतेदेखि काम पनि दिएको छैन् । तर, उद्योगले कोरोना महामारी र उद्योग मर्मत सम्भारको कारण मजदुरलाई बेतलबी विदामा राखेको बताउँदै आएका छ ।
तलव किस्ता अनुसार दिने सहमति भएअनुसार मजदुरहरू पटक पटक आन्दोलन गरेर उद्योगको काम प्रभावित बनाइरहेको उद्योगका प्रबन्धक संतोषले बताए ।
तपाईंले किन श्रमिकको तलव दिन आनाकानी गर्नुभएको भन्ने प्रश्नमा उनले काम विशेषले पोखरा आएको र थप कुरा पछि गर्ने भन्दै फोन राखे । त्यसपछि उनले दुई दिनदेखि फोन रिसिभ गरिरहेका छैन् ।
व्यवस्थापन पक्षकै अमरेशचन्द मेहताले मजदुरको तलव लामो समयदेखिको बाँकी रहेको स्वीकार गर्दै सञ्चालकबीच विवादका कारण तलवमा ढिलाई भएको बताए । पटक पटक सञ्चालक फेरबदलका कारण मजदुर मारमा परेको उनको भनाइ छ । यद्दपी चालु महिनामै समस्या समाधान हुने उनले आश्वासन दिए ।