एमसीसी आजपनि पारित हुन सकेन, एमाले नेतासँग प्रधानमन्त्रीको छलफल सुरु

काठमाडौं। अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे आजपनि टुङ्गो लाग्न सकेन । आजको प्रतिनिधिसभा बैठकमा परियोजनाबारे सम्झौता प्रक्रिया अगाडी बढाइने कार्यसूची तय गरिएको थियो । तर, अन्तिम समयमा आएर संसद बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

संसद सचिवालयका सह प्रवक्ता दशरथ धमलाका अनुसार आजको लागि एमसीसीबारेको सम्झौता सम्बन्धी विषय कार्यसूचीमा राखिएको थियो । तर, अन्तिम समयमा आएर सभामुखले बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तुत गनुपर्ने भएपनि उनी पार्टीका कारण संसद बैठकमा सहभागि भएका छैनन् । नेकपा माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका कारण अर्थमन्त्री बैठकमा अनुपस्थित हुँदै आएका छन् । उनको सट्टा अब सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी प्रस्तुत गर्ने छन् ।

माओवादी केन्द्रले गठबन्धन जोगाउनको लागि मात्रै एमसीसी टेबल गर्न दिएको बताउँदै यसको पक्षमा मतदान नगर्ने यसअघि नै बताइसकेको छ ।

बुधवारबाट काठमाडाँैमा सुरु भएको माओवादी केन्द्र बागमती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले संसदमा एमसीसी टेबल गर्दैमा पास हुन्छ भन्ने भ्रममा नपर्न नेता कार्यकर्तालाई आग्रह गरे ।

उनले माओवादीले संसदमा एमसीसीको विरोध गर्ने पनि प्रस्ट पारेको छ ।

यता नेकपा एकिकृत समाजवादीले पनि एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । तर, मतदानको प्रक्रियामा गएको खण्डमा सांसदहरूलाई मतदान नगर्न ह्वीप लगाउने या नलगाउने बारेमा भने अझै पनि निर्णय भएको छैन । जसका कारण कतिपय सांसदले एमसीसीको पक्षमा मतदान गर्ने सम्भावना रहेको छ ।

प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले पनि यथास्थितिमा एमसीसी पारित हुन नसक्ने बताउँदै यसमा नसघाउने बताएको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले आफूहरू लामो समयदेखि संसद अवरोध गर्दै आएको र आगामी बैठकमा पनि विरोध जारी रहने बताए ।

उनले भने, ‘एमालेले कारबाही गरेको १४ जना सांसदलाई सभामुखले आफ्नो अधिकारको दुरुपयोग गरेर बचाउ गर्दै पार्टी फुटाउनमा सहयोग गरेको छ । उनीहरूलाई कारबाही नगरेसम्म र आफ्ना माग पूरा नभएसम्म संसदको विजनेस अगाडी बढ्न दिइँदैन ।’

उनले थपे, ‘यदि हाम्रो माग पूरा भयो भने एमाले तत्काल ठोस निर्णय गरेर अघि बढ्नेछ । एमसीसीको विषयमा पनि हामी तटस्थ नै हुनेछौं जबसम्म माग सम्बोधन हुँदैन ।’

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले भने एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ भने सत्ता घटक दल जनता समाजवादी पार्टीले पनि एमसीसीको पक्षमा मतदात गर्ने बताइसकेको छ ।

एमसीसी पारित गर्नको लागि हालसम्म काँग्रेसलाई जसपा र लोसपाको साथ रहने देखिएको छ । नेकपा एसले सांसलाई ह्वीप नलाएको खण्डमा केही सांसदहरू थपिन सक्ने देखिएको छ ।

एमसीसी जसरी पनि पारित गराएर छाड्ने रणनीतिमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवा छलफलका लागि पछिल्लो समय सक्रिय भएका छन् । सत्ता गठबन्धनले साथ नदिएको खण्डमा एमालेसँग मिलेर अघि बढ्नको लागि प्रधानमन्त्री देउवाले एमालेसँग अहिले छलफल सुरु गरेका छन् ।

एमालेले साथ दियो भने उसलाई सरकारमा सहभागि गराएर एमसीसी पारित गराउनका लागि प्रधानमन्त्री लागि रहेका छन् ।

यता, एमसीसीको विरोधमा संसद भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । बिहान ११ बजेदेखि नै संसद भवन नयाँ बानेश्वरदेखि बिजुलीबजार, बबरमहल, बुद्धनगर क्षेत्रमा प्रदर्शन जारी छ । प्रदर्शनकारीले प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरिरहेका छन् भने प्रहरीले भिडलाई तितरवितर पार्नका लागि अस्रु ग्यासको प्रयोग गरिरहेको छ ।

एमसीसी पारित हुने नहुने भन्ने निर्क्यौल लाग्न भोलिसम्म भने कुर्नै पर्नेछ ।

प्रतिक्रिया