नेपालले आफ्नो असंलग्न नीति विपरित युक्रेनको पक्षमा गर्यो मतदान, कस्तो पर्छ प्रभाव ?


काठमाडौं । रुसले युक्रेनमाथि गरेको आक्रमणको आठ दिन पूरा भएको छ । यो अवधिमा रुसको चौतर्फी आलोचना मात्रै भइरहेको छ भने केही मुलुक मौन बसेको छ । रुसको युद्ध रणनीतिबारे चौतर्फी आलोचना भइरहेको विषयमा संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा मतदान नै भएको छ ।
रुसले गरेको आक्रमणका कारण युक्रेनमाथि अन्याय भएको र गलत भएको विरोधमा मतदात हुँदा नेपालसहित १ सय ४१ मुलुकले रूसको विरोध र युक्रेनको समर्थनमा मतदान गरेका छन् । जबकी भारत, चीन लगायतका मुलुक मतदानमा अनुपस्थित रह्यो । तर, उत्तर कोरिया, सिरिया, बेलारुस र इरिट्रियाले रुसले गरेको आक्रमणको पक्षमा मतदान गरेको छ ।
रुसको विरोधमा मतदान गरेपछि नेपालमा भने बहस सुरु भएको छ । कारण, नेपालले असंलग्न परराष्ट्र नीतिविपरित मतदान गरेको छ । असंलग्न परराष्ट्र नीति अर्थात् यस्ता विवादित विषयमा नेपालले कुनैपनि सहभागिता जनाउँदैन । तर, आफ्नै नीति विपरित नेपालले सहभागिता जनाएको छ । जसलाई केही विज्ञहरूले सकारात्मक रुपमा लिनुपर्ने बताएका छन् भने केहीले विरोध गरेका छन् ।
परराष्ट्र मामिलाका जानकार लोकराज बरालले नागरिक मिरर डटकमसँगको कुराकानीमा नेपालले छिमेकी मुलुकले के ग¥यो भनेर हेर्नुभन्दा पनि आफैले निर्णय गर्नु राम्रो भएको बताए ।
उनले नेपालले आफ्नो कुरा र पक्ष सँधै आफैले राखेको राम्रो हुने र सोही अनुसार आफूलाई उपस्थित गराउनुपर्ने बताए ।
उनले भने, ‘अहिले युक्रेनमाथि अन्याय भएको हो । यस्तो बेला पनि नेपालले बोलेन भने नेपालमाथि अन्याय भएको बेला को बोल्छ ? त्यसकारण नेपालले ठिक गर्यो । पहिले रुस पढ्न जाने क्रम बढी थियो तर, पछिल्लो समय त्यो पनि घटेको छ । नेपालको यो कदमले कुनै घाटा वा नोक्सान हुँदैन ।’
रुसले युक्रेनमाथि युद्ध सुरु गरेको बिहीवार आठ दिन पूरा भएको छ । यस अवधिमा रुसले युक्रेनको सबैभन्दा ठूलो सहर खेरसन, लुहान्सक, बर्दियान्स्क लगायतका क्षेत्रमाथि कब्जा गरिसकेको छ ।
रुस र युक्रेनबीच बिहीवार दोस्रो चरणको वार्ता हुँदैछ । बुधवारका लागि तय भएको वार्ता थप कुराकानी गर्नुपर्ने भन्दै स्थगित भएपछि बिहीवार वार्ता हुँदैछ । बेलारुसमा हुने वार्ताका लागि युक्रेनबाट प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरिसकेको युक्रेनी राष्ट्रपति कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । रुसका प्रतिनिधिमण्डल पनि वार्ताका लागि बेलारुस पुगिसकेको छ । आजको वार्तामा सुरक्षा सुनिश्चितताको विषयमा कुराकानी हुनेछ ।
युक्रेन युद्धको आठौं दिनसम्म १० लाख नागरिकले युक्रेन छाडिसकेका छन् । युक्रेनले हालसम्म युद्धमा ९ हजार रुसी सेना मारिएको दावी गरेको छ भने रुसले त्यसलाई गलत बताएको छ । यसैबीच, युक्रेनले १६ हजार विदेशी सेना रुससँगको युद्धमा लड्नका लागि तयार भएको पनि दाबी गरेको छ ।