धनुषा काँग्रेस सभापतिका लागि ३ जनाले गराए उम्मेदवारी दर्ता

जनकपुरधाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनमा धनुषामा ३ जनाले उमेदवारी दर्ता गराएका छन् । बिहीबार निर्वाचन कार्यालयमा तीन समूहबाट उमेदवारी दर्ता भएको हो । निर्वाचनमा शेरबहादुर देउवा, विमलेन्द्र निधि र डा. शेखर कोइराला समूहबीच प्रतिस्पर्धा देखिएको छ ।

बिहीबार धनुषा सभापतिका लागि संस्थापन पक्षबाट एकजना र संस्थापन इतरबाट दुईजनाले उमेदवारी दिएका छन् । संस्थापन पक्षबाट सन्तोष यादवले र संस्थापन इतर समूहबाट क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार र संविधानसभा सदस्य दिनेश प्रसैलाले उमेदवारी दर्ता गराएका हुन् । पजियार नेता निधि निकट छन् भने प्रसैला कोइराला समूहबाट उमेदवार बनेका हुन् ।

यस्तै, जिल्ला कार्य समितिको उपसभापतिका लागि ६ जनाले उमेदवारी दर्ता गराएका छन् । उपसभापतिका लागि गणेशप्रसाद जयसवाल, हरिशंकर साह, राम सोभित दाहा (धानुक), सुरेन्द्र प्रसाद चौधरी (मुन्ना), गणेश झा र लक्ष्मीनारायण यादवले मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

यस्तै सचिवका लागि ९ जनाले उमेदवारी दिएका छन् । निर्वाचन समितिकाअनुसार सचिव पदका लागि नरेश यादव, श्याम चन्द्र यादव, नवल किशोर यादव, प्रभाकर झा, केवल ठाकुर (शर्मा), धिरेन्द्र मोहन झा, शिवशंकर कुमार गोइत, दिपेन्द्र कुमार भडखेर र कन्हैया कुमार कर्णले उमेदवारी दिएका छन् ।

यस्तै, धर्मनाथ यादव, सुरेश कोइराला, महेश कुमार बस्नेत, इन्द्रकुमार महतो, विजय कुमार यादव र मो. साकिर राइनलगायत ६ जनाले सहसचिवमा उमेदवारी दिएका छन् ।

प्रतिक्रिया