आगामी चुनावमा पार्टीलाई असहयोग गर्ने जसपा भ्रातृ सङ्गठन समाजवादी युवा सङ्घको चेतावनी
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका भ्रातृ सङ्गठन समाजवादी युवा सङ्घले आगामी चुनावमा पार्टीलाई असहयोग गर्ने चेतावनी दिएको छ ।
समाजवादी युवा सङ्घले पार्टीलाई आउँदो वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा असहयोग गर्ने भएको छ । समाजवादी युवा सङ्घको प्रदेश मुख्य सचिव मनिष यादव (ओम) ले समाजिक सञ्जाल फेसबुकमा एक स्टाट्स लेख्दै यस्तो चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, ‘आज १७ गते भयो, हालसम्म पार्टीका कुनै नेता वा समितिले युवा सङ्गठनसँग न सम्पर्क गरेका छन् न त सल्लाह नै लिएको छ । न त कुनै प्रकारको पत्र नै पठाएको छ । सायद उहाँहरूलाई याद नै छैन की समाजवादी युवा सङ्घ भनेर पार्टीको कुनै भ्रातृ सङ्गठन पनि छ । जबसम्म उहाँहरूलाई याद आउँदैन तबसम्म हामी सहभागी नै नहुने की ?’
प्रदेश मुख्य सचिव यादवले नागरिक मिररसँगको कुराकानीमा चुनाव नजिकिँदै गर्दा पार्टीको तर्फबाट कुनैपनि सम्पर्क र परामर्श नहुनुले युवालाई वेवास्ता गरेको हो की भन्ने सन्देश गएको देखिन थालेको बताए ।
उनि भन्छन्, ‘युवा भनेको पार्टीको एउटा अभिन्न अङ्ग हो । युवा बिना पार्टीको कल्पना समेत गर्न सकिँदैन । जतिपनि आन्दोलन हुन्छन् वा भए ती सबैमा मुख्य भूमिकामा युवालाई अघि सारिन्छ । तर, देशको नेतृत्त्व गर्ने बेलामा, समाजको विकास गर्ने बेलामा युवालाई वेवास्ता गर्नु कुनैपनि हालतमा पच्य हुँदैन ।’
पुस्ता हस्तान्तरणको विषय पछिल्लो समय विभिन्न पार्टीमा चलिरहँदा जसपा युवालाई वेवास्ता गर्न थालिएको जस्तो देखिन थालेको उनको भनाइ छ ।
कुनै पनि पार्टीलाई निर्वाचनमा युवा सङ्घको सहयोग अतुलनिय हुने मानिन्छ । तर, जसपाले आफ्नै पार्टी निकट युवा सङ्घबाट यस्तो प्रतिक्रियाहरू आउँनु पार्टीलाई दुर्घटना निम्त्यानु रहेको राजनीतिक विशलेष्करूको भनाइ छ ।