जनकपुरधाम उपमहानगरको मेयर बन्न तछाडमछाड, एउटै पार्टीका चार जना आकाङ्क्षी


जनकपुरधाम । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनको तयारीमा दलहरू सक्रिय भएर लागि रहेका छन् । शिर्ष नेताहरू पनि आ–आफ्ना जिल्लामा सक्रिय छन् । जसमध्येको एक मधेश प्रदेशको धनुषा जिल्ला पनि हो ।

शिर्ष तहका नेताहरूले प्रदेश राजधानी जनकपुर उप महानगरपालिकाको मेयरमा आफ्ना उम्मेदवारलाई जिताउन सक्रिय छन् । शिर्ष नेतासँगै पार्टीको तर्फबाट मेयरको लागि आफ्नो नाम सिफारिस गरिदिनका लागि निरन्तर छलफलमा छन् ।

एक त उप महानगर त्यसमाथि प्रदेशको राजधानी भएपछि यसपटक जनकपुरधाम उप महानगरपालिकाको मेयरका लागि एउटै पार्टीबाट दुईदेखि तीन जनासम्म  आकाङ्क्षीहरू देखिएका छन् । उनीहरू टिकटका लागि शिर्ष नेताहरूसँग लविङ पनि गर्न थालेका छन् । टिकट पाउने सम्भावना नदेखिएका अकाङ्क्षीहरू दल परिवर्तन गरेर पनि मेयरको टिकट पाउने होडबाजीमा देखिएका छन् ।

तुलनात्मक हिसाबले अघिल्लो निर्वाचनभन्दा यसपटकको निर्वाचनमा मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकामा बढी देखिएको छ ।

यहाँ एक दर्जन अकाङ्क्षीले आफ्नो दावी प्रस्तुत गरिरहेका छन् । प्रदेश सांसददेखि पूर्व मेयर पनि आन्तिरक तयारीमा छन् । वर्तमान नगर प्रमुख लालकिशोर साह तत्कालीन महन्थ ठाकुर नेतृत्त्वको राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए । निर्वाचनपछि उपेन्द्र यादव नेतृत्त्वको समाजवादी पार्टी र ठाकुर नेतृत्वमा रहेको राजपा मिलेर जनता समाजवादी पार्टी (जसपा) बन्यो । त्यो एकता धेरै वर्ष टिक्न सकेन ।

जसपाबाट अल्गिएर पुनः ठाकुर नेतृत्व लोकतान्त्रिक समाजवादी (लोसपा) बन्यो । लोसपमा मेयर पदको अकाङ्क्षी धेरै देखेर वर्तमान मेयर साहले कित्ता फेरेका छन् । जसपाबाट उनको उम्मेदवारी निश्चित जस्तै छ । यद्दपी अघिल्लो निर्वाचनमा  तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालको तर्फबाट मेयरका प्रत्याशी हाल जसपाका नगर अध्यक्ष विसुनदेव साह पनि उम्मेदवारी दिने बताउँछन् ।

‘म अघिलो चुनाव पनि लडेको हुँ । पार्टीले प्राथमिकतामा मलाई नै राख्नुपर्छ । म पार्टीको नगर अध्यक्ष पनि हो । लालकिशोर जी (जसपा) मा आएदेखि नै उहाँलाई सहयोग गर्दै आएको छु,’ उनले भने, ‘पार्टीले जे निर्णय गर्छ जसलाई टिकट दिन्छ म सहयोग गर्छु पार्टीको निर्णयमा बाधक बन्दिन ।’ जसपाबाट अर्का एक जनाले मेयरमा आफ्नो दावी दिएका छन् । उनी मधेश प्रदेशका सदस्य हुन् बजरङ्ग यादव ।

०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट मेयर पदको प्रत्याशी उम्मेदवार हुन् मनोज कुमार साह । उनी तत्कालीन राजपाका उम्मेदवार लालकिशोरका निकटम प्रतिद्वन्द्वी थिए । आगामी निर्वाचनमा पनि नेपाली काँग्रेसले साहलाई अघि सार्ने बुझिएको छ । साह काँग्रेस नेता विमलेन्द्र निधि निकट मानिन्छन् । नगर उपसभापति राकेश विक्रम पनि युवा उम्मेदवारको रुपमा काँग्रेसबाट दावी गर्दै आएका छन् । यसयघिको उपप्रमुख पदमा उम्मेदवारी दिएका थिए । सोही पार्टीबाट पूर्व मेयर बजरङ्ग साह पनि मेयरका अकाङ्क्षी छन् । उनले टिकट नपाए पार्टी त्याग गर्ने चेतावनी दिएको चर्चा पनि छ ।  
लोकताान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मात्रै चार जनाले मेयरमा दावी गरिरहेका छन् । लोसपाका प्रदेश सांसद एंव पार्टी प्रमुख सचेतक प्रमेश्वर साह सुडी, हालका उप मेयर रिता मिश्र, मनोज चौधरी र जानकी राम साहले मेयरका लागि पार्टीभित्र छलफल गरिरहेका छन् । तर, टिकट कसले पाउने भन्ने टुङ्गो लाग्न बाँकी छ ।

सांसद साहले कार्यकारीको रुपमा काम गर्न पाउने भएकाले मेयरको रुपमा आफूलाई ल्याउन खोजेको बताउँछन् भने उप–प्रमुख रिता मिश्रले महिला नेतृत्वको आवश्यकता औल्याउँदै आफँुलाई प्रस्तुत गरिरहेकी छिन् । जनकपुरमाध वडा नं. ७ का वडा अध्यक्ष जानकी राम साह र पार्टीका नगर अध्यक्ष मनोज चौधरीले आफूहरू सक्षम रहेकाले मेयरमा लड्ने सोचमा रहेको बताउँछन् ।

एमालेबाट पनि दुई जनाले मेयरमा दावी गरिरहेका छन् । जनकपुर उद्योग वाण्ज्यि सङ्घका पूर्व अध्यक्ष शिव शंकर साह (हिरा) र उमेश चौधरीले तयारी गरिरहेका छन् ।

जनकपुरमा एमाले कमजोर देखिएका कारण अकाङ्क्षी पनि कम रहेको बताइन्छ ।

‘पार्टीले अहिलेसम्म मलाई अगाडी सारेको छ । पार्टीले टिकट दिए आफूले नै चुनाव जित्ने साहको दाबी छ । उनी भनछन्, ‘मैले वाण्ज्यि सङ्घको अध्यक्ष भएर काम गर्दा धेरै विकास गरेको र कामको मूल्याङ्कन गरी नगरबासीले मत दिनेछ । तरपनि, पार्टीले जे निर्णय गर्छ त्यो स्वीकार गर्छु ।’
नेकपा माओवादी केन्द्र, नेकपा (एकिकृत समाजवादी) र जनमत पार्टीको जनकपुरमा हालसम्म उम्मेदवारको खासै चर्चा सुनिएको छैन भने कोही खुलेर आएका पनि छैनन् । यी दलहरूले उम्मेदवार उतार्छन् या कुनै दललाई समर्थन गर्छन् भन्ने विषय अहिले गौन छ । तर, हेर्न बाँकी छ ।

यसैपनि ५ वर्षे कार्यकालमा जनकपुरधाम उपमहानगरले खासै विकास र प्रगति गर्न सकेको छैन । हालका मेयर साहको कार्यशैलीले नगरबासीलाई चित्त बुझेको छैन भने उनको एकलौटी निर्णयका कारण कार्यालय भित्रकै कर्मचारी पनि असन्तुष्ट छन् । त्यसकारण दोहोरिने उम्मेदवार र नयाँ उम्मेदवार कसले जनकपुरधाम उपमहानगरको बाजी मार्नेछन् भनेर वैशाख ३० सम्म कुर्नै पर्नेछ ।

प्रतिक्रिया
एसके यादव