भएकै हो त मुलुकमा ग्यासको हाहाकार ! कि हल्लाले नेपालीको भान्सा प्रभावित ?


काठमाडौँ । नाकाबन्दी हुने हल्ला होस् वा इन्धनको मूल्य वृद्धिको हल्ला । या लकडाउनको कुरा नै किन नहोस् । त्यसको सबैभन्दा पहिलो असर भनेको नेपालीको भान्सामै पर्छ । किन ? थाहा छैन । पसलमा ग्यास छ भनेर यीनै बेला सोध्न जाँदा ग्यास त आउनै छोड्यो भनेर पसलेले जवाफ फर्काउँछ । जबकी भरिएका ग्यास सिलिण्डर एक दिन अघि मात्रै झारेको हुन्छ ।

हल्लाको भरमै यहाँ सबै घटना हुन्छ । कसैले सामाजीक सञ्जालमा लेखेकै भरमा यहाँ सबैकुराको अभाव हुन थाल्छ । हामी पनि कतिसम्मको असचेत नागरिक छौं भने कागले कान लिएर गयो भनेसी कानै नहेरी नछामी कागको पछि लाग्छौं ।

नेपालमा बेला बेला यी समस्या भइरहन्छ । हुन त यसपटक धेरै दिन भयो होला ग्यासको अभाव सुनिएको । सबै सामान्य अवस्थामा थियो पहिले लकडाउन पछि । तर, उता युक्रेन र रुसबीचको युद्धले नेपालीको भान्सालाई कतिसम्म प्रभावित बनायो भने ग्यासको अभाव हुन्छ भनेर हल्ला चल्यो अनि मानिसहरू ग्यासको जोहोमा लाग्न थाले ।

हुन पनि हो, विश्व बजारमा बढ्दो पेट्रोलियम पदार्थको मूल्य र ग्यासको कुरा चलेपछि र भारतले पठाउने इन्धनको मूल्य सूचिले नेपालीलाई असर नगर्ने कुरै हुँदैन । आखिर, हामी परनिर्भर जो छौं ।

मुलुकको विकास र समृद्धिको लागि हामी दातृ निकायसँग ऋण माग्छौं र आफ्नो मुलुकको विकास गर्छौ । यतिसम्मको दयनीय अवस्था छ हाम्रो की दातृ निकायले हामीले सहयोग गरेन, अनुुदान दिएन भने हामीले आफ्नो वृद्धि विकास गर्न सक्दैनौं । हाम्रो मात्रै होइन हाम्रा मित्र मुलुकहरूको अवस्था पनि त्यस्तै छ ।

ऋण लिने र समयमै तीर्न नसक्दा मुलुकको विदेशी मुद्रा सञ्चिति कम हुँदै गएको छ भने ऋण पनि थपिँदै गएको छ । यीसबका कारण मुलुकमा आर्थिक मन्दी हुन सक्ने र श्रीलङ्काको जस्ता अवस्था आउन सक्ने पनि बहस हुन थालेको छ ।

यीसब बहसको असर फेरि नेपालीको भान्सामै देखिन थालेको छ । मुलुकमा आर्थिक मन्दी हुने र भारतले खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको अभाव हुने हल्ला सुनेपछि नेपालीहरू त्यसको जोहोका लागि घन्टौं लाइनमा लाग्छन् ।

भारतले खाना पकाउने ग्यास र इन्धनको मूल्य बढाएर पठाउने भनेपछि नेपाली बजारमा ग्यास र पेट्रोल अभाव भयो । सम्बन्धित निकाय र सरोकारवालाले अभाव भएको पुष्टि नगर्दै नेपाली बजारमा अभाव हुने भएपछि सर्वसाधारण घन्टौं लाइनमा बस्न थाले ।

अझै पनि सर्वसाधारण ग्यास र पेट्रोलको लागि लाइनमा बस्छन् । कारण, कति बेला अभाव भइदिन्छ भन्ने थाहा छैन ।

नेपाल राष्ट्र बैङ्कको सरकारसँग मात्र ६ महिना धान्न सक्ने रकम रहेको वक्तव्य बाहिरिएसँगै मानिसको घुँईचो ग्यास पसलदेखि प्रेटोल पम्पसम्ममा देख्न सकिन्छ । त्यस्तै दृश्य काठमाडांैको अनामनगरमा रहेको नेपाल ग्याँसको डिपोमा करिब एक सातादेखि छ ।

बिहान हुने बित्तिकै रित्तो ग्यासको लामबद्ध लाईन देखिन्छ । रित्ता सिलिन्डरको आवाजबाट सुरु त्यस क्षेत्रका सर्वसाधारणको दिन । तीनै मध्येको एक हुन्, सरिता सुनार । उनको बिहानी पनि यसरी नै सुरु हुन्छ ।

अनामनगरको थापाँगाउँमा बस्दै आएकी उनि करिब ३ दिनदेखि लाइनमा बस्दै आएकी छिन् । भन्छिन, ‘३ दिन भयो रित्तो भाडो ल्यायो, पालैपिलो बस्यो । यस्तै छ दैनिकी ।’

ग्यास सिलिन्डरको लाईनमा अर्का थिए बाबु थापा । थापा हनुमानस्थान बस्छन् । उनि पनि दुई दिनदेखि लाईनमा बसेको सुनाउँछन । थापा भन्छन, ‘सरकारको जुहारीमा जनताले जहिल्यै सास्ति भोग्न पर्छ ।’ थापाको पिडा सास्तिको मात्र थिएन । उनले आफ्नो व्यवसाय नै बन्द गरेर लाइनमा बसेको सुनाए । ‘घरमा सकिन आटेको सिलिन्डर भएको कारण लाईनमा बाध्यता भएर बस्न परेको हो, उनले भने, ‘सहजै ग्यास पाईदैन भनेरै पसल बन्द गरेर लाईनमा ग्यास पर्खेको छु ।’

सुनार र थापा जस्ता सयौँ सर्वसाधारणको दैनिकी नै ग्याँस पाइने नपाइने विलखबन्दमा रहेको छ । तर, सोमवार सरकारका अर्थमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलनको आयोजना गर्दै भने, ‘देशमा त्यस्तो अवस्था छैन । चुनावलाई केन्द्रित गर्दै भोटको राजनितिमा लागेकाले भ्रम छरेको हो ।’

अर्थमन्त्री शर्माको भनाइलाई भने जनताले सहजै पत्याउँदैनन् । ग्यासको लाईनमै बसिरहेकी विष्णु श्रेष्ठ भन्छिन, ‘सरकारले हल्ला हो भन्दा, खै त, सहज रुपमा ग्यास पाईएको ?’

नेपाल ग्यासका अनामनगर डिपोकि व्यवस्थापक रमिता पौडेल भने ग्यासको एक्कासी माग बढेकोले सहजै प्रदान गर्न नसकेको बताउँछिन् ।

‘ग्याँस प्रयाप्तमात्र छ । तर, ह्वात्तै दैनिक माग भन्दा दोब्बर भएकोले सिमित आएको हो ।’

उनका अनुसार ग्याँस दैनिक रुपले दुई पटक गरेर सयबढी सिलिन्डर आउने गरेको छ । तर, लाईन देखेर र हल्लाको भरमा लाग्दा ग्याँस सञ्चितिकरण गरेको बताउँछिन् । उनि भन्छिन्, ‘प्रयाप्त मात्रामा ग्याँस छ । नपाउने भन्ने हुन्न । आएको सिलिन्डर सबैलाई बाढिएकै छ ।’

यता जनतामा अवस्था भयाभय भएको मानसिक्ताले पनि लामोलाईनमा लाग्दा सहजै प्राप्त गर्न नसकेको उपोभोक्ता अधिकार मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

उनले भने, ‘सरकारले आवश्यक बस्तुको आपूर्तीलाई सहजबनाउँदै जनतालाई सेवा प्रदान गर्नपर्छ ।’ उपभोक्ता मञ्च आफैले पनि सरकारलाई ग्यास लगायत अति आवश्यक वस्तुमा भइरहेको कालोबजारी अनुगमन गर्न समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।

ग्यास त एउटा उदाहरण मात्रै हो । अहिले नेपालीको भान्सामा नुनदेखि हरेक खाद्यपदार्थको अभाव र महँगीको मार परेको छ । युक्रेन र रुस युद्धलाई बहाना बनाएर नेपालीको भान्सामा थेग्नै नसक्ने गरी महँगी बढेको छ । हजार रुपैयाँ लिएर तरकारी किन्न जाँदा एक झोला तरकारी पनि आउँदैन । किन यस्तो महँगो भनेर पसलेलाई सोध्दा यस्तै हो, बजारमा केही पाउँदैन अनि महँगो भइहाल्छ नी भनेर जवाफ फर्काउँछ ।

बाढीपहिरोको विपद होस् वा कोरोना महामारी अथवा विदेशमा देखिने कुनै पनि समस्या होस् त्यसको सबैभन्दा पहिले नेपालीको भान्सामै समस्या देखिन्छ । आखिर कहिल्यैसम्म हामी परनिर्भर भएर बस्ने र नारामै आत्मनिर्भरको कुरालाई सिमित राख्ने ?

प्रतिक्रिया