फर्केर हेर्दा २०७८ : राजनीतिक उथलपुथलदेखि प्राकृतिक विपतिले झक्झक्याउने वर्ष

आजबाट नयाँ वर्ष वि.सं. २०७९ सुरु हुँदै छ । पछिल्लो दुई वर्षदेखि कोरोना महामारीका कारण धुमधामका साथ मनाउन नसकिएको नयाँ वर्ष यसवर्ष भने धुमधामका साथ मनाइँदै छ । नयाँ योजना र उमङ्गका साथ नयाँ वर्षको स्वागत गर्नका लागि सारा नेपाली र नेपाल तयार छन् ।

नयाँ वर्षको अवसरमा आफन्तजन, इष्टमित्र सबैले एक अर्कासँग खुसियाली साटिरहेका छन् भने नयाँ वर्षमा कुनैपनि अप्रिय घटना नहोस् भनेर कामना पनि गरिरहेका छन् । तर, नयाँ वर्षको स्वागत गर्दै गर्दा वितेको २०७८ वर्षको पनि समिक्षा भने हामीले गर्नै पर्छ ।

२०७८ सालमा राजनीतिक उथलपुथल भयो भने स्वास्थ्य क्षेत्रमा निकै क्षति भयो । जबकी बेमौसमी वर्षाका कारण कराडौंको नोक्सानी पनि नेपाल र नेपालीले व्यहोर्नु पर्यो ।

सुरु गरौँ २०७८ को वैशाखबाटै, कोरोना महामारीको दोस्रो चरणको लहर सुरु भइसकेको अवस्थाबाटै हामीले २०७८ को स्वागत गर्यौं । वर्षको सुरुवातमा कोरोनाको दोस्रो लहरले जनजीवन निकै प्रभावित बनाउँदै गर्दा मुलुकको स्वास्थ्य प्रणालीलाई एकपटक फेरी उदाङ्गो बनाइदियो ।

दोस्रो चरणको लहरमा भयावह बनेको कोरोना महामारीका कारण हालसम्मकै धेरै मानिसको मृत्यु भयो । हालसम्म मृत्यु भएकामध्ये झन्डै ९५ प्रतिशतको मृत्यु कोरोनाको दोस्रो चरणको लहरमा भयो । त्यसका बाबजुद सरकारले २०७८ मै कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनायो र दैनिक झन्डै ९ लाखसम्मले खोप लगाए । हाल २ करोड २१ लाख भन्दा बढिले कोरोना विरुद्धको कम्तिमा एक मात्रा खोप लगाईसकेका छन् । २०७८ मै सरकारले कोरोनाको अतिरिक्त मात्रा खोप लगाउने र ११ वर्षभन्दा माथिका १८ वर्ष मुनिका बालबालिकालाई पनि खोप लगाउन सुरु गर्यो ।

२०७८ लाई प्राकृतिक विपत्तीको वर्षको रुपमा पनि लिक सकिन्छ । असारमा सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले ठुलो क्षति पु¥यायो भने, कार्तिकमा बमौसमी वर्षाले एक लाख ११ हजार ६ सय नौ हेक्टरमा लगाइएको धानबाली नष्ट ग¥यो । जबकी सयभन्दा बढीको मृत्यु पनि भयो । वर्षभरी नै महङ्गी बढिरहँदा, अर्थतन्त्र झनै कमजोर बन्दै गएको छ ।

राजनीतिक अवस्था पनि सहज देखिएन । २०७४ मा मुलुक सङ्घीयतामा जाँदै गर्दा बनेको सरकार स्थिर र स्थायी सरकार रहला भन्ने अपेक्षा गरिएको थियो । तर, २०७८ मा त्यो सम्भवना सकियो । २०७८ को जेठ ८ गते, दोस्रो पटक प्रतिनिधिसभा विघटन पछि सुरु भएको राजनितिक उतारचढाव वर्षभरी नै देखियो ।

भदौसम्म आईपुग्दा, सबैभन्दा ठुलो दल एमाले फुट्यो, नयाँ पार्टीको रुपमा नेकपा एकिकृत समाजबादी गठन भयो । विभाजनबाट माओवादी र जसपा समेत अछुतो रहेनन् । तर, त्यसअघि नै काँग्रेस सत्ताको नेतृत्वमा पुगिसकेको थियो । सभापति देउवा पाचौँ पटक प्रधानमन्त्री बन्दा, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले साथ दिएका थिए ।

एमालेले सङ्घीय सरकार मात्रै गुमाएन, प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेश सरकार पनि गुमायो । राजनितिक जोड घटाउनमा तलमाथि भएपनि, मूख्य दलहरुले महाधिवेशन गरे, जुन यो वर्ष भएको सबैभन्दा सकारात्मक राजनितिक घटना हो । तर, राजनितिकै कारण वर्षभरी नै अदालत विवादित बन्यो । जुन विषय प्रधानध्यायाधिस विरुद्धको महाअभियोगमा आएर रोकिएको छ । यो वर्ष सबैभन्दा चर्चामा रहेको राजनितिक विषय अमेरिकी सहयोग परियोजना (एमसीसी) पनि हो । जुन, विवाद र विरोधका बाबजुद वर्षको उत्तरार्धमा संसदबाट पारित भयो ।

काँग्रेस नेतृत्वको सरकारले प्रतिस्थापन बजेट ल्याउने तयारी गर्दा इतिहासमै पहिलो पटक राज्य बजेटबिहिनको अवस्थामा पुग्यो । प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जवरालाई महाअभियोग लगाउनेदेखि नेपाल राष्ट्र बैङ्कका गर्भनरलाई निलम्बन गर्ने सम्मका काम २०७८ मा भयो ।

इन्धनले पनि नेपालका लागि २०७८ सम्झन लायक बन्यो । २०७८ मा कम्तिमा पनि १० औं पटकसम्म मूल्य वृद्धि भयो । १८ सयको हाराहारीमा खाना पकाउने ग्यासको मूल्य पुग्यो भने पेट्रोल, डिजेलको मूल्य पनि आकासियो ।

२०७८ मा नेपालले आफ्नो विदेश नीति विपरित रुसको युद्ध रणनीतिबारे संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा मतदान गर्यो । असंलग्न परराष्ट्र नीति अर्थात् यस्ता विवादित विषयमा नेपालले कुनैपनि सहभागिता जनाउँदैन । तर, आफ्नै नीति विपरित नेपालले सहभागिता जनायो । जुन विषयमा बहस र आलोचना पनि भयो ।

सडक दुर्घटनाको सिलसिला रोकिएन भने, समाजमा आपराधिक घटना पनि भई नै रहे । चलचित्र र गीत सङ्गीतमा कोरोना प्रभाव देखियो । पर्यटन व्यवसाय ठप्प जस्तै बन्यो । नेपाली खेलकुद जगतमा राष्ट्रिय टोलीको कप्तानलाई हटाउने काम पनि वर्ष २०७८ मै भयो । यी सबका बीच ८ वर्षदेखि थन्किएको नेपालको एक मात्र रेल सेवा जनकपुर–जयनगर रेल पनि गुड्यो । यो नेपालको लागि ऐतिहासिक क्षण रह्यो । 

प्रतिक्रिया