सत्ता गठबन्धन टुट्ने अवस्थामा छ : महेश बस्नेत
चितवन । नेकपा (एमाले) का नेता महेश बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको दावी गरेका छन् । भरतपुर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले सरकारले स्थानीय तहको चुनाव सार्न खोजेको बताए ।
‘सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यो कारणले निर्वाचनलाई सार्न खोजेको छ,’ उनले भने, ‘एउटा विप्लवलाई चुनावमा ल्याउन सकिन्छ भन्ने बहानाको षड्यन्त्र र अर्कोचाही संवैधानिक परिषद्ले नियुक्त गरेका निर्वाचन आयोग लगायतका नियुक्तिलाई अदालतसँग सेटिङमा हटाएर चुनाव सार्न सकिन्छ कि भन्नेतर्फ पनि लागेको देखिन्छ । गठबन्धन जोगिन्छ कि जोगिँदैन भन्नेमा सत्ता गठबन्धन दलका नेतामा नै आशंका रहेको उनले बताए ।
उनले भने, ‘भरतपुरमा गठबन्धनले अस्वीकार गर्छौँ भनेर काँग्रेसले खुला भनेको अवस्था छ । काँग्रेसका ठूला नेताहरू पनि गठबन्धन गर्ने या नगर्ने भनिरहेको अवस्था छ ।’ अर्कातिर एमालेको चुनाव चिह्न सूर्य लिएर साना दलका उम्मेदवारले चुनाव लड्न पाउने गरी गरेको सहमतिलाई गठबन्धन नभन्न बताए । ‘नेकपा एमालेको आकर्षण र प्रभावबाट विभिन्न दलका नेताहरू नजिक हुनु भनेको एमालेसँग निकट हुनु हो,’ उनले भने ।