स्थानीय तह निर्वाचन : दलहरूबीच भागबण्डामा विवाद मिल्नै बाँकी, आज आउँला निष्कर्श ?

काठमाडौँ । स्थानीय तहको निर्वाचन आउन २४ दिन मात्रै बाँकी छ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचनको तयारी तीव्र बनेको छ । निर्वाचन आयोगले मतपत्र छपाईको काम सकाउनै लागेको छ भने सुरक्षाका हिसाबले पनि गृह मन्त्रालयले तयारी गरिरहेको छ । तर, दलहरूबीच भने भागबण्डामै विवाद छ ।

सरकारको नेतृत्त्व गरिरहेको नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरमै विवादको सियो अड्किएको छ भने नेकपा एमालेमा पनि उम्मेदवारको टुङ्गो लागि सकेको छैन भने निर्वाचन सर्छ कि भनेर आशङ्का पनि गरिरहेको छ ।

६ महानगर र ११ उप महानगरको भागबण्डा नमिल्दा टिकटका लागि दौडधुप गरिरहेका आकाङ्क्षिहरूले चुनावी प्रचार प्रसार गर्ने या नगर्ने अन्यौलमा छन् भने मतदाता पनि आफूले रोजेका व्यक्तिले टिकट पाउँछन् कि पाउँदैनन् भन्ने अन्यौलमा छन् ।

निर्वाचनको मिति नजिकिएसँगै चुनाव प्रचारप्रसारमा तीव्रता दिइएन भने आफ्ना एजेन्डा नागरकसमक्ष कसरी पुर्याउने भन्ने पनि आकाङ्किक्षहरूमा अन्यौलता देखिएको छ ।

सिट बाँडफाडकै विषयमा लगातार ३ दिनदेखि सत्ता गठबन्धनको बैठक पनि बसिरहेको छ । तर, अन्तिम नतिजा आउन सकेको छैन ।

काँग्रेसले पोखरा महानगरसहित इटहरी र कलैया उपमहानगरमा दावी यथावत राखेको छ । एकीकृत समाजवादीले ६ मध्ये १ महानगर आफूले पाउनैपर्ने र पोखरा उपयुक्त हुने बताउँदै आएको छ । पोखरामा एकीकृत समाजवदीले आफ्नो दाबेदारी नछोड्ने बरू गठबन्धन छोड्ने बताउँदै आएको छ ।

यता चितवनको भरतपुर महानगरपालिका माओवादीलाई नै दिने लगभग निश्चित जस्तै छ । तर, अन्तिम निस्कर्स भने आउन बाँकी छ । काठमाडौँ महानगरमा भने एमालेबाट नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष सूरज वैद्य र काँग्रेसबाट सृजना सिंहको नाम चर्चामा छ ।

आजको गबठन्धन बैठकले यी सबै विषयमा निस्कर्स निकाल्ने आशा गरिएको छ ।

प्रतिक्रिया