चौथो लहरको जोखिम बढेको भन्दै खोप अभियानलाई तीव्रता दिन सरकारको आग्रह

काठमाडौँ । सरकारले कोरोना महामारीको चौथो लहरको जोखिम बढेको भन्दै खोप अभियानलाई तीव्रता दिन भनेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीवार सूचना जारी गर्दै पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेदर बढ्दै गएकाले नेपालमा पनि जोखिम बढेको बताएको हो ।

मन्त्रालयले कोरोना महामारीबाट जोगिनका लागि एक मात्रै विकल्प कोरोनाविरुद्धको खोप रहेकाले खोप अभियानलाई तीव्रता दिन भनेको छ ।

कोरोनाको चौथो लहरको जोखिम बढ्दै गएको कोरोनाविरुद्धको खोप लगाउन बाँकी सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई खोप लगाउन भनेको छ । यस्तै कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएकाले खोप लगाएको ३ महिना पूरा भए पश्चात बुस्टर मात्रा लगाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा.सङ्गिता कौशल मिश्रले सङ्ख्यात्मक रूपमा सङ्क्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायमै रहेको हुँदा जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरिन् ।

‘वर्तमान अवस्थामा सङ्क्रमणको जोखिम कायमै रहेकाले सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन र संवेदनशील भई जनस्वास्थ्यको मापदण्ड पालना गर्न र गराउन हुन सम्बन्धित निकायलाई अनुरोध गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।’

प्रतिक्रिया