स्थानीय तहको निर्वाचनमा सुरक्षाको चाँजोपाँजो मिलाउन निजी क्षेत्रको हेलिकप्टर
सरकारले स्थानीय तहको निर्वाचनमा आवश्यक परे निजी क्षेत्रको समेत हेलिकप्टर प्रयोग गर्ने भएको छ । गृह मन्त्रालयले वैशाख ३० गते देशभर एकैसाथ हुन लागेको स्थानीय तहको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन निजी क्षेत्रको हेलिकप्टरसमेत प्रयोग गर्ने भएको हो ।
गृह मन्त्रालयमा आज सरकारका प्रतिनिधि र वायुसेवा सञ्चालक सङ्घमा आबद्ध विभिन्न एयरलाइन्सका प्रतिनिधिहरुसँग बसेको बैठकमा सडक नपुगेका दुर्गम स्थानमा मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिकाको ओसारपसारमा निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्नेबारे छलफल भएको छ ।
त्यस्तै स्थानीय निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित तरिकाले सम्पन्न गर्न सबै प्रकारको सुरक्षाको चाँजोपाँजो मिलाउनका लागि आवश्यक परेमा हवाई सेवा पनि तत्काल उपलब्ध हुनेगरी तैनाथ अवस्थामा राख्न बैठक बसिएको मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए ।
बैठकले ‘स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउने प्रयोजनमा हेलिकप्टर सेवालाई प्राथमिकताका आधारमा प्रयोग गर्ने’ निर्णय गरेको छ । निर्वाचन सुरक्षामा निजी हेलिकप्टर प्रयोग गर्दा वायुसेवा सञ्चालक सङ्घले मिलाएको पालोका आधारमा गरिने प्रवक्ता पोखरेलले जानकारी गराए ।
बैठकमा श्री एयरलाइन्ससँग रहेको एमआई १७ हेलिकप्टर निर्वाचन प्रयोजनमा कुनै पनि बखत आवश्यक पर्ने भएकाले तैनाथ अवस्थामा राख्ने निर्णय गरेको हो ।