वैशाख ३० गते देशभर सार्वजनिक विदा दिन सरकारलाई निर्वाचन आयोगको आग्रह

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गते देशभर सार्वजनिक विदा दिन सरकारलाई आग्रह गर्ने भएको छ ।
१५ दिनपछि हुने स्थानीय तह निर्वाचनका दिन देशभर सार्वजनिक विदा दिन सरकारलाई भन्ने आयोगले बताएको छ ।
स्थानीय तह निर्वाचनको मतदान हुने भएकाले निर्वाचनको दिन शुक्रवार देशभर सार्वजनिक विदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने आयोगले जनाएको छ ।
आयोगले आज विज्ञप्ति जारी गर्दै निर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ गतेदेखि ३० गतेसम्म ३ दिनका लागि मतदान स्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त मतदान केन्द्र तोकिएका विद्यालयहरूका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन पनि भनेको छ । साथै सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन पनि आयोगले सरकारलाई अनुरोध गर्ने भएको छ ।
आयोगले आजसम्म ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाइ सम्पन्न भएको पनि बताएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको आयोगको सूचनामा उल्लेख गरिएको छ ।
आयोगका अनुसार निर्वाचन आयोगको प्रणालीमा दिउँसो ३ ः ३० बजेसम्म प्रविष्ट भएको तथ्याङ्क अनुसार १ लाख ५३ हजार २ जना उम्मेदवारको मनोनयन दर्ता भएको छ ।
जसमा प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २, हजार १ सय ६८, उपाध्यक्षमा २ हजार ४ सय १, वडाअध्यक्ष ३५ हजार ३ सय ५३, महिला सदस्य २६ हजार सय ३२, दलित महिला सदस्य २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको छ ।