निर्वाचन आयोगले अटेरीका गनेश पौडेललाई दिएको ‘लौरो’ खोस्यो
पोखरा महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले पाएको चुनाव चिह्न ‘लौरो’ फिर्ता भएको छ । उनले शनिबार बिहानमात्रै चुनाव चिन्ह पाएका थिए ।
पौडेलले निर्वाचन कार्यालयले बिहान १० बजे आफूहरुलाई चिह्न छनोट गर्न लगाएर घर फर्केपछि दिन नसकिने भन्दै खबर दिएको बताए । ‘पहिले अरु स्वतन्त्र साथीहरुलाई चुनाव चिह्न रोज्न लगाएर बचेको लौरो मैले लिएको हुँ । तर, घर आइसकेपछि दिन्न मिल्दैन भन्दै खबर पठाएको छ,’ उनले भने ।
मुख्य निर्वाचन अधिकृतक श्रीकृष्ण भट्टराईले आफूहरुको प्राविधिक त्रुटिका कारण पौडेलले लौरो चिह्न पाएको उल्लेख गरेका छन ।
स्वतन्त्र उम्मेदवार बढी भएको ठाउँमा मात्रै लौरो चिह्न दिन सकिने तर, पोखरामा थोरैमात्रै स्वतन्त्र उम्मेदवार भएकाले उक्त चुनाव चिह्न दिन नसकिने गरी परिपत्र पाएको भट्टराईले जानकारी दिए । मतपत्रको वर्णानुक्रममा लौरो सातौं नम्बर भन्दा पछाडि छ । जसमा पोखराको मेयरका लागि २ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
त्यस्तै वर्णानुक्रम ७ भन्दा पछिका चुनाव चिह्न बाँड्दा आवश्यकताबिनै ठूलो संख्यामा मतपत्र छाप्नुपर्ने र त्यसले असर पार्ने उनले जानकारी दिए ।
मेयरका उम्मेदवार पौडेलले निर्वाचन कार्यालयले गल्ती गरेकाले आफूले अर्को चुनाव चिह्न नलिने अडान राखेका छन् । ‘सुरुमा आफैं वितरण गरेर पछि कसरी दिन्न भन्न पाउँछ रु मैले अर्को चुनाव चिह्न लिन आउँदिन भनेको छु,’ उनले भने ।