जनकपुर उपमहानगरका स्वतन्त्र उम्मेदवार साहको चुनावी प्रचार अभियान प्रभावित, चुनाव चिह्न नभएको भन्दै धर्नामा

जनकपुर । जनकपुर उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार मनोज साह चुनावी प्रचारप्रसार छोडेर धर्नामा बसेका छन् ।
धनुषाको लागि निर्वाचन आयोगले सार्वजनिक गरेको नमूना मतपत्रमा आफ्नो चुनाव चिह्न नभए पछि उनी धर्नामा बसेका हुन् ।
मेयरका प्रत्यासी साहलाई निर्वाचन अधिकृतको कार्यालयले ‘घण्टाघर’ चुनाव चिह्न प्रदान गरेको थियो । तर, आयोगले सार्वजनिक गरेको धनुषाको नमूना मतपत्रमा ‘घण्टाघर’ चुनाव चिह्न नभए पछि उनी अहिले निर्वाचन कार्यालय धनुषामा धर्ना दिइरहेका छन् ।
उम्मेदवार साह आफ्ना समर्थकसहित जनकपुरधामस्थित निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा छन् ।
उम्मेदवार साहले जनकपुरधाममा मेयर २८ जना उम्मेदवार रहेको र आफूसहित ११ उम्मेदवारको चुनाव चिह्न नमूना मतपत्रमा नरहेको बताका छन् । उनले चुनाव चिह्न नै मतपत्रमा नराखेर राजनीतिक षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् ।
उनले भने, ‘नमूना मतपत्र सच्याउन आयोग र निर्वाचन अधिकृतलाई हिजैदेखि पटक–पटक आग्रह गरेको छु । २४ घण्टा भयो तर नसच्याएपछि बाध्य भएर धर्नामा बसेका छौं ।’
सत्ता गठबन्धनको भागबन्डामा जनकपुरधामको मेयर जसपाको भागमा परेपछि आक्रोशित बनेका साह काँग्रेस नगर सभापतिबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवार बनेका छन् ।
यता, सहायक निर्वाचन अधिकृत मिहिलाल यादवले पूरानो नमूना मतपत्रमा घन्टाघर चुनाव चिह्न नभएपनि नयाँ मतपत्रमा रहेको प्रष्ट पारेका छन् ।
नागरिक मिररसँगको विशेष कुराकानीमा उनले पहिला छापिएको नमूना मतपत्रमा साहको चुनाव चिह्न नभएपनि नयाँमा उनले पाएको चुनाव चिह्न भएको हुँदा प्रचार प्रसारमा कुनै समस्या नहुने बताए ।
चुनावको मिति आउन अब ११ दिन मात्रै बाँकी रहँदा साहले चुनावी प्रचारप्रसार गर्न नपाएको गुनासो व्यक्त गरेका छन् ।