भारतीय प्रधानमन्त्री मोदी बुद्ध पूर्णिमाको अवसरमा नेपाल आउने

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् । भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार मोदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् ।
एक महिना अघि मात्रै देउवाले भारतको औपचारिक भ्रमण गरेका थिए । त्यसैले मोदीको नेपाल भ्रमणको क्रममा द्विपक्षीय कुराकानी नहुने हिन्दूको समाचारमा उल्लेख छ ।
तर, यसबारे नेपालको परराष्ट्र मन्त्रालयले कुनै औपचारिक टिप्पणी गरेको छैन ।
स्रोतका अनुसार देउवा र मोदी मायादेवी मन्दिरमा दीप प्रज्ज्वलन समारोहमा सहभागी हुनेछन् । उनी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट हेलिकप्टर चढेर लुम्बिनी ओर्लिने छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीबीच लुम्बिनीमा भेट हुने ठानिएको छ ।
प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतको भ्रमण गरेका थिए । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।