स्थानीय तहको निर्वाचन २०७९ को लागि मतदान सुरु, मतदाता उत्साहित
काठमाडौँ । आगामी पाँच वर्षको लागि जनप्रतिनिधि छनोट गर्न आज देशभरका ७ सय ५३ वटै स्थानीय तहमा मतदान हुँदैछ ।
अहिले ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहने छ । मतदाता नामावलीमा नाम भएका व्यक्तिहरूले मतदान केन्द्रमा गएर मतदान गर्न सकिनेछ ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिका गरी ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वडाका ३५ हजार २ सय २१ जनप्रतिनिध चयन हुनेछन् ।
निर्वाचनबाट देशभरका ७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ जना निर्वाचित हुने छन् । ३५ हजारभन्दा बढी जनप्रतिनिधि चयन हुनका लागि देशभर १ लाख ४५ हजार ११ जनाले उम्मेद्वारी दिएका छन् । यो चुनावमा १ करोड ७७ लाख ३३ हजार मतदाता रहेका छन् । तर, निजामती कर्मचारी, सुरक्षामा खटिएकाहरू र मतदानमा खटिएका अधिकृतहरू भने यसपटक पनि मतदान गर्नबाट बञ्चित हुने भएका छन् ।
निर्वाचनमा मतदान गर्नका लागि मतदाताहरू बिहानैदेखि लाइनमा लागिसकेका छन् ।
निर्वाचनलाई उत्सवका रूपमा ग्रहण गरी सहभागी हुन प्रमुख निर्वाचन आयुक्त थपलियाले अपिल गरेका छन् ।
पाँच वर्ष पछि हुन लागेको निर्वाचनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरिन् । लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएकाले आवधिक निर्वाचनमा भाग लिन उनेले आग्रह गरिन् ।
मतदान गर्न जाने मतदाताले आफ्नो परिचय खुल्ने कार्ड लिएर जानुपर्ने छ । आयोगले मतदाता नामावलीमा समावेश हुनुपर्नेछ । मतदाता सूचीमा नाम भएका तर मतदाता कार्ड नभएकाले भने जग्गाको लालपूर्जा, राहदानी, नागरिकता लगायतका कागजातको सक्कल देखाएर पनि भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
यसैबीच, नेपाल प्रहरीले सुरक्षाको विषयलाई चिन्ता नगर्न आम मतदाताहरूलाई आग्रह गरेको छ । प्रहरीले अति संवेदनशिल तथा संवेदनशिल मतदान केन्द्रहरूको पहिचान गरेको छ भने सोही अनुसार सुरक्षा सर्तकता बढाएको जनाएको छ ।
शीर्ष नेताहरूले भोट हाल्ने मतदान केन्द्र तथा झडप हुन सक्ने सम्भावित क्षेत्र पहिचान गरी सुरक्षाकर्मी खटाईएको प्रहरी प्रवक्ता विष्णुकुमार केसीले बताए ।
तस्वीर : बुधेश्वर रजक