साँझ ७ बजेसम्म जम्मा ६४ प्रतिशत मतदान खस्यो, ६ महानगरमा कहिलेबाट हुन्छ मतगणना ?

काठमाडौँ । स्थानीय तहको निर्वाचन २०७९ लगभग सम्पन्न भएको छ । देशभरका केही मतदान केन्द्रमा झडप तथा विवादका घटनाहरू भएको भएपनि अन्य स्थानमा शान्तीपूर्ण तरिकाले मतदान भएको हो । ७ सय ५३ ओटा स्थानीय तहका लागि आज भएको निर्वाचनबाट ३५ हजार २ सय २१ जना जनप्रतिनिधि चयन हुनेछन् । हालसम्म निर्वाचनमा सहभागि भएकामध्ये ३ सय ९० जना निर्विरोध निर्वाचित भइसकेका छन् ।

निर्वाचन आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचनमा मतदान गर्ने समय तोकेको भएपनि मतदाताहरू अबेरसम्म लामबद्ध भएर मतदानको प्रक्रियामा सहभागि भइरहेका छन् ।

निर्वाचन आयोगका अनुसार अहिले साँझ ७ बजेसम्म देशभर लगभग ६४ प्रतिशत मत खसेको छ । अरु स्थानमा मतदान जारी रहेको हुँदा अन्तिम परिणाम आइसकेको छैन ।

यता, नेपाल प्रहरीका अनुसार देशभर रहेका १० हजार ७ सय ५६ मतदान स्थलमा २१ हजार ९ सय ५५ मतदान केन्द्रमध्ये ४५ स्थानमा मतदान स्थगित भएको छ ।

देशभरका १ सय १० स्थानमा झडपका घटना भएका छन् । झडपका कारण २४ जना नागरिक सामान्य घाइते भएका छन् । मतदानलाई प्रभावित बनाउने गरी देशभरका विभिन्न मतदान केन्द्रमा झडप भएपनि अहिले कतिपय स्थानमा स्थिति सामान्य बनिसकेको छ ।

मतदान सकिएसँगै ठाउँठाउँमा आजै मत गणना सुरू गर्नेपनि तयारी भइरहेको छ । तर, कतिपय स्थानमा मतदान नै ढिला सुरू भएको, विवाद र झडपका कारण प्रभावित बनेको कारण मतदानको समय लम्बिएको थियो । मतदान केन्द्रमा अबेर साँझसम्म मतदान जारी रहेको हुँदा ती स्थानमा भने मतगणनाको काम भोलिबाट सुरु गरिने पनि निर्वाचन अधिकृतहरूले बताएका छन् । कतिपय स्थानबाट मतपेटिका जम्मा गरेर मतगणना स्थल सम्म ल्याइपु¥याउनको लागि पनि समय लाग्ने देखिएको छ । म्याग्दी, डोल्पा लगाएतका केही स्थानबाट मतपेटिका सम्बन्धित स्थानमा ल्याइपु¥याउनको लागि समय लाग्ने भएपछि हेलिकप्टरको माग गरिएको छ । यद्यपी मतपेटिका ल्याउनको लागि हेलिकप्टर जाने नजाने बारेमा भने निर्णय भइसकेको छैन ।

देशभरका महानगरहरूमा पनि मतगणनाको तयारी भइरहेको छ । काठमाडौँ महानगरमा पहिले मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जम्मा गर्ने र त्यसपछि सर्वदलिय छलफलका आधारमा गणनाको मिति तोक्ने तयारी भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले बताए । यसपटक छिटो छरितो तवरले मतगणना गर्ने गरि तयारी भइरहेको उनले बताए ।

यस्तै ललितपुर महानगरमा पनि भोलिदेखि मात्रै मतगणना सुरु हुने भएको छ । आज सबै स्थानबाट मतपेटिका सङ्कलन गरिसके पछि भोलि बिहानदेखि मतगणना सुरु हुने प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । पोखरा महानगरपालिकामा भने भोलि मात्रै मतगणना सुरु गरिने भएको छ । मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईका अनुसार आज बेलुका अबेरसम्म सबै वडाका मतपेटिका सङ्कलन हुने भएकाले भोलि मात्रै मतगणना सुरु हुने छ ।

देशका ६ महानगरपालिकामध्य सर्वाधिक चासोको रूपमा हेरिएको भरतपुर महानगरपालिकामा शान्तीपूर्ण तरिकाले मतदान सम्पन्न भएको छ । भरतपुरमा पनि भोलि मात्रै मतगणना सुरु हुनेछ ।

वीरगञ्ज महानगरपालिकामा पनि भोलिदेखि मात्रै मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगञ्जले मतगणना आजैदेखि सुरु गर्न सक्ने स्थिति नरहेको बताएको छ । मतदान सकिए पनि सर्वदलिय बैठक बसेर मात्रै मतगणना सुरु हुने भएकाले भोलिदेखि मात्रै मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।

विराटनगर महानगरपालिकामा भने आज अबेर राति नै मतगणना सुरु हुने बताइएको छ । सबै मतलान केन्द्रबाट मतपेटिका सङ्कलनको काम सम्पन्न भइसकेको र आजै सर्वदलिय बैठक बसेर मतगणना गर्ने तयारी भइरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले मतगणनाका लागि सम्पूर्ण तयारी भइसकेको बताएको छ ।

प्रतिक्रिया