जनकपुर : गठबन्धनका उम्मेदवार लालकिशोरलाई धोखा, बागी उम्मेदवार मनोजको अग्रता दिनभर कायमै

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनका तर्फबाट जसपाका मेयर उम्मेदवार लालकिशोर साहलाई धोखा भएको उनको समर्थकहरूले सामाजिक सञ्जालमार्फत् दुःख पोखिरहेका छन् ।

उपमहानगरपालिकामा मेयरका लागि जसपाबाट र उपमेयरमा नेपाली काँग्रेसबाट उम्मेदवारी दर्ता भएको थियो । तर, मेयरमा काँग्रसको बागी उम्मेदवार मनोज साह र उपमेयरमा गठबन्धनको उम्मेदवार किशोरी साहको अग्रता दिनभर कायमै छ ।

जनकपुरधाममा पार्टीका नेता कार्यकर्ताको असहमतिका बाबजुद पनि पार्टीले गठबन्धन गरेपछि काँग्रेस नेता कार्यकर्तासहित नगरसभापतिसमेत रहेका साहले राजिनामा दिँदै मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को १३ सय ८० मत गन्दा काँग्रेसका बागी तथा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह (घण्टाघर) ले ४ सय ९० मत प्राप्त गरी अग्रता लिइरहेका छन् ।

त्यस्तै नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार शिवसङ्कर साह हिराले १ सय ५० मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार बलरमा महतो ८७ मत प्राप्त गरी तेस्रो स्थानमा छन् । स्वतन्त्र उम्मेदवार जानकीराम साह ८२ मत प्राप्त गरी चौथो स्थानमा छन् ।

त्यसैगरी लोसपाका मनोज चौधरीले ६८ तथा गठबन्धनका तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साहले ६० मत प्राप्त गरी पछ्याईरहेका छन् ।

त्यस्तै उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसबाट उम्मेदवारी दिएको किशोरी साहले ४ सय ६३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार रूणा झा १ सय ८२, स्वतन्त्र उम्मेदवार निर्मल चौधरी ८२ र लोसपाका उम्मेदवार रिता कुमारी मिश्रल ८२ मत प्राप्त गरी पछ्याईरहेका छन् ।

यसरी हालसम्मको मतगणनाको मतपरिणाम हेर्दा गठबन्धका उम्मेदवारलाई धोखा भएको प्रस्टै हेर्न सकिन्छ ।

निर्वाचन अघि गठबन्धनका शिर्ष नेताहरूको उपस्थितीमा जनकपुरधाममा भएको चुनावी आमसभामा नेपाली काँग्रेस नेता बिमलेन्द्र निधिलाई सामेल नगराउनु पनि गठबन्धनको लागि धोखा भएको हुनसक्ने नेताहरूको भनाइ छ ।

पार्टीबाट असन्तुस्क बनेका निधिले गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लाल किशोरका लागि कहिल्यै मत मागेको देखिएन । उनले सार्वजनिक रूप मै काँग्रेसको लागि लबिंग गरे । जसले गर्दा गठबन्धनको उम्मेदवार लालकिशोर साहको यस्तो अवस्था हुनसक्ने अनुमान गरिएको छ ।

निर्वाचनको मौन अवधि सुरु हुनु अघि खुल्ला रुपमै एक भिडियो मार्फत जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट मात्रै उपमेयरको उम्मेदवार किशोरी साहसहित उपमहानगरपालिकाको २५ वटै वडाबाट वडाध्यक्षको लागि उम्मेदवारी दिएको उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेको थिए ।

प्रतिक्रिया