टोखाको प्रमुखमा एमालेका अधिकारी र उपप्रमुखमा कांग्रेसका तामाङ निर्वाचित
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार प्रकाश अधिकारी निर्वाचित भएको छ । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणनामा कांग्रेसकी उम्मेदवार रजनी थापालाई झिनो मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालयका लागि नगरप्रमुखमा निर्वाचित भएको हो ।
निर्वाचित अधिकारीले १० हजार ३४० मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थापाले १० हजार १६६ मत प्राप्त गरेको टोखाका निर्वाचन अधिकृत सविता शर्माले जानकारी दिएको छ । अधिकारी र थापाको मतान्तर १७४ रहेको थियो ।
यस्तै उपप्रमुखमा कांग्रेसका उम्मेदवार मुरारी तामाङ निर्वाचित भएको छ । विजयी तामाङले १० हजार १३२ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ज्ञानमाया डङ्गोलले नौ हजार ५१८ मत प्राप्त गरेका छन् । उपप्रमुखमा पराजित डङ्गोल अघिल्लो कार्यकालमा टोखाको उपप्रमुख थियो । कूल ३४ हजार ६७६ मतदाता रहेको टोखामा २५ हजार ५६३ मत खसेको थियो । काठमाडौँको उत्तरी क्षेत्र नुवाकोटसँग जोडिएको उक्त नगरपालिकामा ११ वडा रहेका छन् ।