अब कृषि मिटरको महसुल वडा कार्यालयले तिर्छ : नव निर्वाचित वडाध्यक्ष कार्की


जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ७ को मतगणना निकै रोचक थियो । कडा प्रतिस्पर्धात्मक मतगाणनाले अन्तिममा नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार दिपेन्द्र बहादुर कार्कीको पक्षमा आयो । अन्ततः कार्की २ मतले निर्वाचित भए । कार्कीले ४ सय ७४ मत प्राप्त गरे ।

यति मात्रै होईन उनका निकटतम प्रतिद्वन्द्वी सुदन कुमार कार्कीले ४ सय ७२ मत प्राप्त गरी पराजय व्यहोरे । तर, त्यस वडामा भने ४ वटै सदस्य जसपाले जित्यो ।

नवनिर्वाचित वडाध्यक्ष कार्की ५० वर्षको उमेरमा पनि अविवाहित छन् । समाजमा वर्षौदेखिको मेरो सेवाले आज मूर्त रुप लिएको वडाध्यक्ष कार्की खुशी हुँदै बताउँछन् । उनले भने,–‘यो मेरो जित होईन सम्पूणर् वडावासीको जित हो । मेरो वडाबासीहरु बढी कृषिमा आश्रित छन् , अब नियम कानूनले गर्न दियो भने किसानलाई कृषि मिटरको महसुल तिर्न पर्दैन वडा कार्यालयले तिरिदिन्छन् ।’

कृषिमा यो वडालाई नमूना वडा बनाउन सिँचाइतर्फ पनि उत्तिकै काम गर्ने उनले बताए ।

कार्कीले निजी विद्यालयभन्दा सरकारी विद्यालयको शिक्षकको तलब भत्ता कयौं गुण बढी भएपनि सरकारी विद्यालयको पढाईको गुणस्तर खस्किदै गएको समस्यालाई मध्यनजर गरी शिक्षामा सुधारको योजना ल्याउने बताए ।

वडामा रहेको विद्यालयहरूमा शिक्षाको गुणस्तरलाई उकास्न हरसम्भव प्रयास गर्ने उनको योजना छ । मेरो ५ वर्षे कार्यकालमा वडामा भएका विद्यालयहरु नमूना विद्यालयको रुपमा स्थापित गराउने मेरो प्रतिबद्धता रहेको उनले बताए ।

त्यस्तै मानिसको लागि स्वास्थ्य पनि त्यतिनै महत्वपूर्ण रहेको हुनाले स्वास्थ्य तर्फ पनि विशेष कार्यगर्ने योजना रहेको कार्कीले बताए।

नवनिर्वाचित वडाध्यक्ष कार्कीले वडालाई प्रविधिमैत्री बनाउन वडावासीहरुको लागि फ्रि वाईफाईको योजना समेत ल्याउने बताए ।

वडामा रहनुभएका ज्येष्ठ नागरिक तथा अति अशक्त अपाङ्ग व्यक्तिहरूलाई घरमै वडा कार्यालय रहेको अनुभुति गराउने मेरो जिम्मेवारी रहने वडाध्यक्ष कार्कीको भनाइ छ ।

अविवाहित रहेको नवनिर्वाचित वडाध्यक्ष कार्कीले वडावासीको प्रेसर थेग्नै नसकिने भएपछि विवाहबारे पनि सोच्ने बताए ।

प्रतिक्रिया