सिरहामा प्रभावकारी बन्दै सामी कार्यक्रम

सिरहा । सिरहा नगरपालिका १९ सन्हैठाकी अनिता सदा अहिले उद्यमी भएकी छिन् । उनी सन्हैठा गाउँमै घर नजिक सानो नास्ता पसल सञ्चालन गरिरहेकी छिन् । चाउमीन, कचरी, समोसा बनाएर आफु सुत्नेखाट नै घर अगाडी राखेर त्यसमा नास्ता बेचेर घर गुजारा चलाईरहेकी छिन् । श्रीमान् देव चन्द्र सदा डेढ वर्षदेखि वैदेशिक रोजगारीको शिलशिलामा मलेसियामा रहेको छ । तर, कम्पनीले काम गरेको पैसा पनि नदिएपछि उनी परदेशमा र उनको परिवार स्वदेशमा बिचल्लीमा परेका छन् । देव चन्द्रले घरमा पैसा नपठाउँदा अनितालाई परिवार चलाउन धौधौ पर्दथ्यो तर उनी सिरहा नगरपालिकाले सञ्चालन गरेको सामी कार्यक्रम अन्तर्गतको वित्तीय साक्षरता कक्षा ज्ञान पाएपछि व्यवसाय गर्ने आँट आयो र पसल सञ्चालन गर्न थालिन । उनी सन्हैठामा सञ्चालित साँझो माई वित्तीय साक्षरता कक्षामा ६ महिना भित्र २१ हप्ताको कक्षा लिएपछि व्यवसाय थालेकी छिन् । श्रीमान्ले पैसा नपठाउँदा पनि अनिता अहिले आफ्नो सानो व्यवसायबाटै तीन छोरा र दुई छोरी गरी पाँचजना छोराछोरीसहित आफ्नो जीवनयापन गर्दै आएकी छिन् ।

सिरहा नगरपालिका १६ माडरकी उषा महरा गाउँमा चुडीलहठीको व्यवसाय गरिरहेककी छिन् । आफैले बनाएको चुडीलहठीबाट उषाले राम्रै आम्दानी गरेको बताईन् । सामी कार्यक्रम कार्यक्रमले बुधबार सिरहा नगरपालिकाको सभाहलमा आयोजना गरेको पत्रकारहरुसँगको अन्तकृया कार्यक्रममा उषाले वित्तीय साक्षरता कक्षा लिएपछि यो व्यवसाय सुरु गरेको बताउछिन् । उनको लागि यो कक्षा निकै फलदायी भएको बताईन् । श्रीमान् प्रदिप महरा कतारमा बैदेशिक रोजगारीमा रहेको र आफु यहाँ व्यवसाय गरेपछि परिवारमा पनि राम्रै मानमर्यदा रहेको उनले बताईन् । दुई छोरी र एक छोरालाई उनले आफ्नो सोही व्यवसायबाट पढाउछन् लेखाउछन् ।

सिरहा नगरपालिकाको अगुवाईमा सिरहास्थित जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रको सहयोगले गर्दा दलालको चंगुलबाट जोगिएको सिरहा नगरपालिका १२ सारस्वरकी देवकुमारी ठाकुर बताउछिन् । बैदेशिक रोजगारीको क्रममा साउदी अरेबियामा करिब तीन महिना अघि मृत्यु भएको श्रीमान् राजदेव ठाकुरको मृत्युवरण क्षतिपूर्ति वापतको रकम दाबी गर्न प्रकृया सुरु गर्दा नीजि बीमा कम्पनीको दलालले विभिन्न प्रलोभन दिएको बेला आप्रवासी श्रोत केन्द्र सिरहामा जाँदा दलालबाट जोगिएको सुनाईन् । उनी भन्छिन्, ‘पीडाको बेला मानवताको हिसाबले पनि मानिसले सहयोग गर्छन् । तर, यहाँ बिचौलियाले लुट्नै खोज्यो । धन्य आप्रवासी श्रोत केन्द्र सिरहा जसले समयमै सही सूचना दिएर मलाई उनीबाट जोगाए ।’

नेपाल सरकार र स्वीस सरकारबीचको द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास-स्वीस इन्टरको अपरेशनसकोप्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा संचालित “सुरक्षित आप्रवासन ‘सामी’ ” परियोजना देशको १ सय ५६ वटा स्थानीय तहमध्ये सिरहा जिल्लाको सिरहा नगरपालिकामा पनि सञ्चालनमा छन् । सिरहा नगरपालिकाले संयोजन गर्ने गरी जिल्लाको लहान नगरपालिका, अर्नमा गाउँपलिका र सुखिपुर नगरपालिकामा यो कार्यक्रम हाल संचालनमा छ । जसले पाँच वटा संभागमा काम गर्छन् । कार्यक्रम अन्तर्गत सूचनामा पहुँच, सीपमा पहुँच, न्यायमा पहुँच, वित्तीय साक्षरता कक्षा र मनोसामाजिक परामर्शका कार्यक्रमहरु यस नगरपाकिलाको वडा नम्बर १५, १६, १७ र १९ मा चलिरहेका छन् । यो कार्यक्रम निकट भविष्यमा स्थानीय तहको लागत साझेदारीमा कुल ५ सय ५७ स्थानीय तह सञ्चालन गर्ने सरकारले तयारी गरिरहेको छ।

पाँच वटा सेवा अन्तर्गत सामी कार्यक्रमले सूचनामा पहुँच अन्तर्गतमा बैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना तथा परामर्श दिने, कागजात तथा प्रमाणको सुरक्षा गर्ने,मागपत्र, भिषा तथा श्रम जाँच चेक गर्ने, न्यायमा पहुँच अन्तर्गतमा बैदेशिक रोजगारीमा जाने व्यक्तिलाई न्यायका लागि सहजीकरण गरिदिने, खोजी, उद्धार, भनेको काम र तलब नदिएपछि पैरवी गरिदिने, रोजगारीकै क्रममा मृत्यु भएपछि शव मगाउने र आर्थिक सहायतकाको कार्यमा सहजिकरण गरिदिने काम गर्दै आएका छन्। यस्तै सीपमा पहुँच कार्यक्रम अन्तर्गतमा खाना र बाससहितको ३० दिने निःशुक तालिम दिने गरेका छन् । त्यसैगरी सामीको वित्तीय साक्षरता कार्यक्रम अन्तर्गतमा बैदेशिक रोजगारीमा गएका व्यक्तिको घरपरिवारलाई फजुल खर्च घटाउने, बचत बढाउने, परिवारको वित्तीय लक्ष्य बनाउने र उत्पादनमूलक क्षेत्रमा लगानी लगाउने उद्देश्यसहित २१ हप्ते ६ महिनाको वित्तीय साक्षरता कक्षा सञ्चालन गरिरहेका छन् । यस्तै कार्यक्रमको मनोसामाजिक परामर्श कार्यक्रम अन्तर्गत पिर चिन्ता हटाउने, आत्महत्याका जोखिम घटाउने र परिवारिक कलह व्यवस्थापन गर्ने परामर्श तालिम प्राप्त जनशक्तिबाट दिदै आएका छन् ।

कार्यक्रम अन्तर्गतको कार्यक्रमहरुबाट निकै अपेक्षित उपलब्धि पाएपछि कार्यक्रममा सहभागि सिरहा नगरपालिकाका उपमेयर बबिता कुमारी साहले खुशी व्यक्त गरिन् । सामी कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा उनी जोड दिईन् । उपमेयर साहले भनिन्, ‘मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धानेको बेला बैदेशिक रोजगारीमा जाने युवा र रोजगारीमा गएपछि प्रत्यक्ष रुपमा लाभान्वित हुने उनीहरुको परिवारजनको लागि यो कार्यक्रम निकै लाभदायी छ। तसर्थ पालिकाको सहयोगमा भएपनि यो कार्यक्रमलाई थप परिमार्जित गर्दै निरन्तरता दिनुपर्छ ।’

यस्तै कार्यक्रममा सहभागि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले दातृ निकायले सहयोग नगरेपनि पालिकाले आफै लगानी गरेर भएपनि यो कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले बैदेशिक रोजगारीमा रहेकै व्यक्तिहरुबाट देशको अर्थतन्त्रले धानेको छ । हामी लगायतका राष्ट्रसेवक कर्मचारीले तलब भत्तासहितका अनेकन सेवासुविधाहरु उपभोग गरिरहेका छौं । तर उनीहरुले प्रत्यक्ष रुपमा लाभले लिने यस्ता कार्यक्रमलाई निरन्तरता नदिए पापै लाग्छ । त्यसैले पनि यो कार्यक्रमलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

अधिकृत यादवले सामी कार्यक्रममा सूचना लिएर बैदेशिक रोजगारीमा जाँदा यस नगरपालिकाको मात्रै होईन जिल्लाकै हजारौं व्यक्तिले सुरक्षित बैदेशिक रोजगारीमा गएको बताए । उनले सूचना मात्रै होईन सीप सिकेर पनि धेरै व्यक्तिहरु लाभान्वित भएको सुनाए । यस्तै न्यायमा पहुँच, वित्तीय साक्षरता र मनोसामाजिक परामर्श सेवाबाट पनि उल्लेख्य संख्यमा व्यक्ति लाभान्वित भएको अधिकृत यादवले बताए ।

वैदेशिक रोजगारका वर्तमान परिवेश, आ.ब. २०७९र०८० सालमा ७,७१,३२१ ज्ना वैदेशिक रोजगारी गएको र नेपालमा ईतिहासमा सबै भन्दा उच्च संख्या रहेका विषय सहितका प्रस्तुति प्राविधिक सहायता प्रदान गर्ने संस्था हेल्भेटास नेपालका कार्यक्रम अधिकृत राम प्रमेश मण्डलले प्रस्तुत गरेका थिए । उनले बैदेशिक रोजगारीको वर्तमान परिवेश, सामी कार्यक्रमका सेवा तथा उपलब्धीहरु, चालु आ.ब.को स्वीकृत कार्यक्रमहरु, बैदेशिक रोजगार र स्थानीय सरकारको भूमिका लगायतका विषयहरु प्रस्तुत गरेका थिए ।

उनले प्रस्तुत गरेको प्रतिवेदनमा गत आ.व. २०७९।०८० मा नेपालबाट ७ लाख २२ हजार १९९ पुरुष र ४९ हजार १२८ महिला गरी कुल ७ लाख ७१ हजार ३२७ जना बैदेशिक रोजगारमा गएको प्रतिवेदन प्रस्तुत गरेका थिए । जसमध्ये मधेश प्रदेशबाटै सबैभन्दा बढी व्यक्ति बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको तथ्यांक छ। जसमध्ये महिला ३ हजार ६२३ र पुरुष १ लाख ७७ हजार ९९० गरी कुल १ लाख ८१ हजार ६१३ जना बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएको तथ्यांकमा उल्लेख छ । यस्तै तथ्यांकमा मधेश प्रदेशको कुल मध्ये सबैभन्दा बढी धनुषा र दोश्रोमा सिरहा जिल्लाबाट बैदेशिक रोजगारीमा गएको कार्यक्रम संयोजक मण्डलले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । धनुषामा सबैभन्दा बढी ३९ हजार ३११ पुरुष र २६८ महिला तथा सिरहाबाट २९ हजार ६९१ पुरुष र २२९ जना महिलो श्रम स्वीकृति लिएको विवरण तथ्यांकमा छ ।

यस्तै चालु आ.व.२०८०।०८१ को पुष मसान्तसम्ममा पनि मधेश प्रदेशबाटै सबैभन्दा बढी व्यक्तिहरु बैदेशिक रोजगारीमा गएका हुन् । जसमध्ये सबैभन्दा बढी धनुषाबाट २७ हजार ८५० र दोश्रो सिरहाबाट २१ हजार ७२३ जना गएको कार्यक्रम अधिकृत मण्डलले प्रस्तुत गरेको तथ्यांकमा उल्लेख छ ।

कार्यक्रम अन्तर्गतको सूचनामा पहुँच ७५६५ जना, न्यायमा पहुँचका आवेदन परेको २५३ जना मध्ये ९१ जनालाई न्याय दिलाउन सहजीकरण गरेको तथ्यांक प्रस्त’त गरएिको थियो । मानसिक स्वास्थका लागि २८ जनालाई मनोसामाजिक परामर्श सेवा, ११९ जनालाई वित्तीय साक्षरता सेवा प्रदान गरिएको विवरण सहितको प्रगति प्रतिवेदन सामीमा कार्यरत्त कर्मचारीले प्रस्तुत गरेका थिए ।

प्रस्तुतीकरण पश्चत भएको खुल्ला छलफलमा सहभागि पत्रकारहरुले आम नागरिकहरुसम्म सुचना सम्प्रेषण गर्न जनचेतनामुलक कार्यक्रम आवश्यक पर्ने भएकाले सञ्चारमुखि कार्यक्रम आवश्यक पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा सहभागि केही पीडितहरुले प्रहरी पनि बिचौलियासँग मिलेको आरोप लगाएका थिए । उनीहरुले आफ्नो परिवारजन बैदेशिक रोजगारीको शिलशिलामा ठगिए पनि न्याय माग्न जाँदा प्रहरी एजेन्टसँग मिलेर आफुहरुको गुनासोको सुनुवाई नगरिदिएको स्थानीय जलेश्वरी देवीले गुनासो गरेको थिईन् ।

स्थानीय सिमा सन्देश पत्रिकाका अध्यक्ष एवं सम्पादक बैधनाथ यादवले बैदेशिक रोजगारीमा गएका पीडितहरुको न्यायको लागि सिरहाका पत्रकारहरु हरदम तयार रहेको बताए । उनले आप्रवासी श्रोत केन्द्रलाई मासिक रुपमा बैदेशिक रोजगारी सम्बन्धि विभिन्न तथ्यांकहरु सार्वजनिक गर्न आग्रह गरेका थिए । आप्रवासी श्रोत केन्द्रले तथ्यांक सार्वजनिक गर्दा बैदेशिक रोजगारीमा गएका मध्ये समस्यामा परेकाहरुको पक्षमा कलम चलाउन सहजता हुने बताएका थिए ।

कार्यक्रममा पत्रकार, लाभग्राही बैदेशिक रोजगारीमा गएका घरपरिवारका व्यक्तिहरु, नगरपालिकाका कर्मचारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घोषण सामी कार्यक्रमका संयोजक नथुनी मण्डलले गरेका थिए भने कार्यक्रम सञ्चालनमा सामी कार्यक्रमका रमेश यादव, बिर बहादुर यादव, पुष्पा यादव लगायतले सहजता प्रदान गरेका थिए ।

प्रतिक्रिया
रुन्केश कामती