प्रदेश २ सरकारका युवा लक्षित कार्यक्रमः आकर्षक नारामै सिमित, विदेशको मुख ताक्दै युवा

जनकपुरधाम । मुलुकको ७ प्रदेशमध्ये प्रदेश नम्बर २ सँधै चर्चामा रहँदै आएको छ । सङ्घ सरकारसँग सुरुदेखि नै असन्तुष्ट रहेर बोल्ने प्रदेशहरूमध्ये प्रदेश २ अग्र स्थानमा रहेको छ । प्रदेश सरकार गठन भएदेखि नै युवालाई लक्षित गरेर नीति तथा कार्यक्रम अनि बजेट ल्याउने प्रदेश २ सरकारले भने अनुसारको भने काम गर्न सकेको छैन ।about:blank

प्रदेश नम्बर २ को कुल जनसङ्ख्या ६१ लाख ५९ हजार छ । प्रदेश नीति तथा योजना आयोगको तथ्याङ्क अनुसार हाल प्रदेशभरि युवाको सङ्ख्या झन्डै ५७ प्रतिशत अर्थात् ३५ लाख १० हजारभन्दा बढी छ । ती मध्ये आधाभन्दा बढी युवा विदेशमा छन् । प्रदेश सरकारले विदेश पलायन रोक्न युवा लक्षित योजना ल्याए पनि प्रभावकारी देखिएको छैन ।

सप्तरीका श्याम सुन्दर दास, वैदेशिक रोजगारीबाट घर फर्केपछि अहिले आफ्नै व्यवसायमा आवद्ध छन् । ३ महिना भयो उनले माछापालन व्यवसाय सुरु गरे । तर, सरकारबाट सहयोग पाइन्छ भन्ने सुने पनि, पाएका छैनन् ।

प्रदेश सरकारले युवालाई लक्षित गरी विभिन्न कार्यक्रम नल्याएको भने होइन । कृषि केन्द्रीत कार्यक्रम युवाका लागि भनिए पनि त्यसमा सहभागी हुन नपाएको युवाहरू गुनासो गर्छन् । त्यति मात्रै नभई, आकासेपानीको भरमा खेती गर्नेहरू र खेती गर्न चाहनेका लागि सिचाइँको व्यवस्था गर्नेहरूका लागि प्रदेश २ सरकारले योजना मात्रै ल्याएर नहुने युवाहरूको भनाइ छ ।

३ वर्षदेखि आफ्नै लगानीमा व्यावसायीक कृषिमा लाग्नुभएका जनकपुरका उपेन्द्र ठाकुरलाई पनि सरकारबाट सहयोगको अपेक्षा छ । तर, उनले आफ्नै लगानीमा अहिलेसम्म व्यवसायीक खेती गर्दै आएका छन् ।

व्यवसायीक खेतीमा लाग्न चाहने युवाहरूका लागि प्रदेश सरकार वा स्थानीय सरकारले नै कुनै योजना वा कार्यक्रम ल्याइदिँदा राम्रो हुने ठाकुरको भनाइ छ । उनले आफ्नै लगानीमा व्यवसायीक खेती गरेर ४÷५ जनालाई रोजगारी पनि दिनुभएको छ । तर, समयमै मल नपाउने, बीऊ नपाउने जस्ता समस्यालाई सहज बनाउन कसैले पहल नगरेको उनको दुखेको छ ।

युवालाई लक्षित गरेर हरेक वर्ष आकर्षक बजेट र कार्यक्राम घोषणा गर्ने प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि पनि कोरोना महामारीको क्रममा विदेशबाट घर फर्केका युवाहरुलाई भन्दै कृषिमा युवा भन्ने कार्यक्रमहरू सार्वजनिक ग¥यो । जसमा सिचाइँ समस्या समाधान गर्ने, अनुदान, मल बिउ उपलब्ध गराउने भनियो । तर, ती कार्यक्रम कागजमै सिमित भएको महोत्तरीका राम जीवन यादवको भनाइ छ ।

उनि भन्छन्, ‘म कोरोना महामारीको क्रममा नै नेपाल आएको थिए । हालसम्म बेरोजगार नै छु । हुन त केहीदिन मैले खेती किसानी गर्ने काम पनि गरे । तर, सजिलो छैन । कुनैपनि कुराको सहज उपलब्धता नहुँदा काम गर्न गाह्रो हुने र घरपरिवार पनि चलाउन मुश्किल हुन थालेको छ । न आम्दानी भयो न त केही । त्यही भएर अब म फेरी विदेश नै जाने तयारीमा छु ।’

प्रदेश २ सरकारले हरेक वर्ष युवाका लागि आकर्षित नारासहितका कार्यक्रमको घोषणा गर्छ । ‘आपके सरकार, आपके द्वार’ ,‘मुख्यमन्त्री किसान उत्थान आयोजना’ लगायत कार्यक्रमम किन प्रभावकारी हुन सकेन ? भन्ने नागरिक मिररको प्रश्नमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सम्झना कुमारी काफ्लेले भनिन्, ‘हामीले कार्यक्रम ल्याएका छौं । तर, प्रायः कार्यक्रम स्थानीय सरकारमार्फत् सञ्चालन हुन्छन् । अर्को भनेको लक्षित समूहलाई हामीले अध्ययन गरेर तथ्याङ्क सङ्कलन गरेर सेवा सुविधा उपलब्ध गराउन सकेका छैनौं । त्यहि भएर पनि कार्यक्रमहरू सोचे अनुसारको प्रभावकारी हुन सकेको छैन ।’

‘कार्यक्रम ल्याउने र घोषणा मात्रै गरेर पनि हुँदैन । त्यसको प्रभावकारीता, कसका लागि कार्यक्रम ल्याइएको हो उसको बारेमा जानकारी नभएसम्म कार्यक्रम घोषणा गरेर पनि मात्रै हुँदैन ।’ उनी थप्छिन् ।

प्रदेश २ अन्न उत्पादनका लागि उपयुक्त प्रदेशहरू मध्येको एक हो । कृषि पेशामा लाग्ने र व्यावसायीक कृषि गर्न चाहने युवाको सङ्ख्या पनि छ । तर, प्रदेश सरकारले बनाएका कार्यक्रम कार्यान्वयनमा ध्यान नदिँदा युवाहरूले विदेश ताक्नेक्रम रोकिएको छैन । अर्को भनेको ल्याइएका कार्यक्रमपनि लक्षित समूहसम्म नपुग्ने र जनप्रतिनिधिले आफ्ना नजिककालाई कार्यक्रममा समावेश गर्ने गरेको आरोप पनि उत्तिकै लाग्ने गरेकोे छ ।

उब्जनीको हिसाबले सात प्रदेशमध्ये सबैभन्दा उत्तम मानिएको प्रदेश २ मा कृषि पेशाबाट पलायन हुने क्रम बढेपछि पछिल्लो समय उत्पादनमा पनि कमी आउन थालेको छ । जसका कारण प्रदेश २ लाई कृषिमा आत्मनिर्भर बनाउन र युवालाई स्वदेशमै रोजगारी दिने वातावरण पनि गुम्दै गएको छ । जुन पक्कैपनि चिन्ताको विषय हो ।

प्रतिक्रिया
सुदिप कुमार शर्मा