स्वदेशकै कृषि पेशाले दियो सन्तुष्टि

गुल्मी। खाइलाग्दो ज्यान, भरिलो, हंसिलो अनुहार, कलकलाउँदो जोवन अनि सरल स्वभाव, गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ पारिखर्कका दुई दाजुभाइ कमल अनि कपिल ज्ञवाली ।

एउटाले होटल म्यानेजमेन्ट त अर्कोले म्यानेजमेन्ट पढेका यी दुई भाइ अहिले ‘दाजुभाइ कृषि फार्म’ को म्यानेजमेन्टमा ब्यस्त छन् ।
वि.स २०६८ सालमा होटल म्यानेजमेन्ट पढ्दै गरेका कमल गाउँमा केही गर्ने सोंचका साथ काठमाडौंदेखि गाउँ फिरेर कुखुरा पाल्न सुरु गरेका हुन् । सुरुमा करिब ५० हजार लगानी गरेर खोर निर्माण गरी १ सय कुकुरा पाल्न सुरु गरेको उनले बताए ।

‘मेरो मन त तरकारी खेतीतर्फ आकर्षित थियो तर पानीको निकै समस्या, त्यसैले त्यो बेला कुखुरा पाल्न सुरु गरेँ ।’– उनले सम्झिए ।
उनका ५० कुखुरा मरे पनि ५० वटाबाट करिब ७ हजार आम्दानी भएको उनी स्मरण गर्छन् ।

‘आधा कुखुरा मर्दा पनि संतोषजनक आम्दानी मिलेपछि व्यवस्थित तरिकाले कुखुरा पाल्न सुरु गरेको ज्ञवालीले बताए । ‘घर नजिकै केही जग्गा लिजमा लिएर साढे ५ लाख लगानीमा २ देखि ३ हजार बोइलर कुखुरा पाल्न थालेँ ।’– ज्ञवाली बताउँछन् ।

एकदिन कुखुरालाई खुवाउने पानी ट्याङ्कीमा अपरिचित व्यक्तिले विष मिसाइदिएपछि सबै कुखुरा मरेको उनले सुनाए ।
ल्याब परीक्षणबाट त्यो पुष्टि भएको उनको भनाइ छ । त्यतिबेला १२ लाख घाटा लागेको उनले बताए ।

गाउँ फिरेको ४ वर्षमै उनी विदेश उड्न बाध्य भए । वि.स २०७२ बैशाखमा उनी दुबईको लागि उडे । करिब साढे ३ वर्ष दुबैमा उनले रगत पसिना बगाए ।

अर्काको लागि पसिना बगाउनुपर्दा निकै पोलिरहनथ्यो, तर डुबेको लगानी सम्झिँदा बस्नुपर्ने बाध्यता पनि थियो ।’– उनी भन्छन् । ‘म पनि अब गाउँमै केही गर्छु ,गाउँकै माटोसङ्ग लडिबुढी गर्छु भन्ने अठोट लिएर फर्किएँ ।’– उनी भन्छन् ।


विगत ३ वर्षदेखि ज्ञवाली अहिले कृषि कर्ममा पुनः फरक शैलीमा होमिएका छन् । उनलाई साथ दिन उनका भाइ कपिल ज्ञवालीसहित उनको पुरै परिवार नै कृषि कर्ममा होमिएको छ । ‘प्राविधिक ज्ञान थिएन, सिँचाईको पनि त्यति राम्रो व्यवस्थापन हुन सकेन । जति लगानी त्यति बराबरको मात्रै उत्पादन बेच्यौँ ।’– उनले बताए । पहिलो वर्ष लगानी मात्र उठेको तर श्रम पुरै खेर गएकोले घाटा बेहोर्नुपरेको उनको भनाई छ ।
मल्चिङ, थोपा सिँचाईलगायत अन्य प्राविधि प्रयोग गरेमा कृषि कर्मबाट निकै राम्रो हुने बुझेपछि ३० रोपनी जग्गा लिजमा लिएर करिब २५ लाख लगानीमा ५५ वटा टनेल र एउटा १२ रोपनी जग्गामा एन्टिहेल नेट प्रविधि प्रयोग गरी ठूलो मात्रामा टमाटर खेती सुरु गरेको उनी बताउँछन् । टनेल पनि आफूहरु दुई भाइ मिलेर बनाएको ज्ञवालीको भनाइ छ । अहिले सिँचाईको अभाव पनि छैन । उनीसंग आफ्नै प्राइभेट लिफ्टिङ पानी छ । फार्मभन्दा ४ सय मिटर तलबाट लिफ्टिङ पानी ल्याई साढे २ लाख लिटर पानी अटाउने प्लास्टिक पोखरी समेत बनाएको उनले बताए ।
यसरी प्रविधिसङ्ग जुधेर खेती गर्दा अहिले पुरै लगानी उठाएर पनि ८ लाखभन्दा धेरै नाफामा पुगिसकेको ज्ञवालीको भनाइ छ । दाजुभाइ कृषि फार्मले आफ्नो उत्पादन आफै बिक्री गर्दै आएको छ । ‘स्वतन्त्र रुपमा आफैले बजारीकरण गरेका छौं, बिचौलियाहरुले नाफा खान पाएका छैनन् । आफ्नो उत्पादन आफैले बजारीकरण गर्दा हुने नाफा र बिचौलियाहरुलाई दिँदा धेरै फरक पर्छ ।’– उनले भने । अहिले करिब ६ सय क्विन्टल टमाटर उत्पादन भएकोमा ४ सय क्विन्टल गुल्मी र बाँकी बुटवलमा लगेर बेचेको उनको भनाइ छ । दैनिक ४० केजी अकबरे खुर्सानी पनि बेच्दै आएको उनी बताउँछन् । आगामी बैशाखदेखि अरु कृषकले यदि आफूसंग मिलेर स्वतन्त्र बजारमा उत्पादन बेच्न चाहेमा आफूले बजारीकरण गरिदिने उनको भनाइ छ । उनले यो बर्ष थप २० रोपनी जग्गा लिजमा लिएर फार्मलाई थप बिस्तार गर्न लागेका छन् । नाकै मुनि फार्म संचालन भइरहँदा पनि अझैसम्म गाउँपालिकाबाट ज्ञवालीको फार्म अनुगमन भएको छैन, स्थानीय तहबाट कुनै अनुदान उनले पाएका छैनन् । ‘कुनै पार्टीको झोले भएको भए मैले अनुदान पाउँथे होला, तर म स्वतन्त्र किसान, टेबल टक गर्न जान भ्याउँदिन, उत्पादन तिर ध्यान दिन्छु । आजसम्म कसैले केही अनुदान दिएको छैन ।’– उनी बताउँछन् । वास्तविक किसान पहिचान गरेर मात्र अनुदान उपलब्ध गराउनुपर्ने र कृषकलाई हौसला दिनुपर्ने उनको भनाइ छ । सरकारले कृषकलाई छुट्याइएको अनुदानमा आफ्नो पनि अधिकार रहेको उनी बताउँछन् । उनले फार्म संचालन गरेबापत २ वर्षको कर समेत तिरिसकेका छन् ।

ज्ञवालीले गाउँमा रोजगारी समेत दिएका छन् । २ जना कामदार पहिलेदेखि नै निरन्तर काम गर्दै आएका छन् भने अन्य बेलामा पनि गाउँका धेरैलाई त्यहाँ रोजगार मिलेको छ । आगामी दिनमा सरकारले पनि आफ्नो कर्ममा साथ र सहयोग दिए यस् क्षेत्रकै नमुना कृषक बनेर देखाउने हिम्मत २८ बर्षिया ज्ञवालीको रहेको छ ।

प्रतिक्रिया
नागरिक मिरर