नेपालका १८ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य सम्बन्धी समस्या : अध्ययन

काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।

‘असमानता हटाउन आवश्यक छ सबैको साथ र योगदानः सुलभ, समान र उपयुक्त मानसिक स्वास्थ्य हाम्रो अभियान’ नाराका साथ यसवर्षको विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज भर्चुअल कार्यक्रमको आयोजना गरेर नेपालमा मानसिक स्वास्थ्यको अवस्थाबारे जानकारी दिएको छ । जसमा नेपालका १८ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिने गरेको छ ।

राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ का अनुसार अपाङ्गता गराउने १० प्रमुख कारकहरूमध्ये ५ वटा मानसिक स्वास्थ्य रहेका छन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल, २०७७ का अनुसार नेपालमा विशेषगरी चिन्ताजन्य समस्या, डिप्रेशन, आत्महत्या, साइकोसिस लगायतका मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिने गरेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर झन्डै ४५ प्रतिशतमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिएको छ । विश्वका १० खतरनाक रोग जसले मानिसको दैनिक क्रियाकलापमा असर गर्छ । तीमध्ये ५ वटा मानसिक रोगका कारणले गर्दा हुने गरेको छ ।

मानसिक स्वास्थ्य सम्बन्धी समस्या देखिए त्यसको समयमै परामर्श गरेर निको पार्न सकिन्छ भने कतिपय अवस्थामा औषधि पनि सेवन गरेर निको हुन्छ । तर, नेपालमा मानसिक स्वास्थ्य सम्बन्धी समस्या भएकाहरूको उपचार र परामर्शका लागि जनशक्ति अभाव छ । जसका कारण यो समस्या झन् भयावह बन्दै गएको छ ।

कोरोना महामारीपछि नेपालसहित विश्वभर नै मानसिक स्वास्थ्य सम्बन्धी समस्याका कारण मानिसहरू पीडित भएका छन् । यो समस्या समाधानका लागि सम्बन्धीत सबै क्षेत्रले मिलेर काम गर्नुपर्ने हुन्छ ।

यस्तो छ नेपालमा मानसिक स्वास्थ्य सम्बन्धी अवस्था :

प्रतिक्रिया
नागरिक मिरर