‘‘छठ’’ आस्था र सद्भावको पर्व
जनकपुरधाम । नियम निष्ठा र विधिपुर्वक मनाईने साझा सांस्कृतिक पर्व हो छठ । कात्तिक शुक्ल चतुर्थीदेखि विधिवत रूपमा सुरु गरी चार दिनसम्म हर्षोल्लासका साथ छठ मनाइन्छ ।
जनकपुरसहित देशभरि तथा भारतीय राज्य विहारमा भव्यतापूर्वक मनाईने छठ पर्व कात्तिक शुक्ल चतुर्थी अर्थात सोमबारदेखि सुरु भएको हो ।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सम्पुर्ण शक्तिको स्रोत सुर्यको उपासनाको यो महापर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन उदाउँदो सुर्यलाई अर्घ दिएपछि विधिवत रुपमा समापन हुनेछ। छठ पर्व ब्रत अवधिभर माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामल लगायतका खाद्यवस्तुहरु अनिवार्य रुपमा बार्ने गरिन्छ।
चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने विधिलाई नहाय–खाय भन्ने गरिन्छ। प्राय बढी जसो महिलाहरुले मनाउने यस छठ पर्वमा पर्व प्रारम्भ भएसँगै चोखो र चनाखो भएर सम्पुर्ण विधिहरु गर्नुपर्ने मान्यता रही आएको क्षीरेश्वरनाथ नगरपालिका –५ महेन्द्रनगरका सुधा सिंह बताउँछिन्।
भगवान सुर्यदेवको उपासना गरिने छठमा व्रतालुले व्रत सङ्कल्प गरेको भाकल अनुसारको केरा, उखु, भान्टा,अर्तकपात बदही , दुध, माटोको हात्ती, ढकनी चढाउने परम्परा रहेको छ। छठ पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन एक बिहानै नुहाई धुआई गरी निराहार व्रत बसेका व्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ दिने परम्परा रही आएको छ। तराई–मधेशमा यस विधिलाई साँझको अर्घ अर्थात ‘सझुका अर्घ’ भनिन्छ। पोखरी, इनार, तलाउ, नदी आदि ठाउँहरुमा टेन्ट फूलमालाले सजाइएको घाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई सूर्यलाई अर्घ दिएपछि यो पर्व सम्पन्न हुने परम्परा रहेको छ। बिहानको उदाउँदो सूर्यलाई दिइने अर्घलाई ‘भोरका अर्घ’ भनिन्छ।
छठ पर्वको बैज्ञानिक, धार्मिक र सामाजिक महत्व
वैज्ञानिक दृष्टिकोणले पनि सूर्यको पूजा उपासना स्वस्थ्य शरीरका लागि लाभदायक मानिन्छ । सूर्यको किरणले छालासम्बन्धी रोग निको पार्छ भने वैज्ञानिक र धार्मिक विश्वाससमेत रहेको छ । सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्म रोग निको हुने जनविश्वास छ । यो पर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य पनि त्यतिकै रहेको जनकपुरका बरिष्ठ साहित्यकार डा.राजेन्द्र बिमल बताउछन् ।
छठ पर्वले एक ठाउँमा भेला गराएर साँचो अर्थमा समान व्यक्तित्वको आदर्शसमेत स्थपित गर्दछ । यही आस्था र विश्वास बर्षायामको मासम परिवर्तन भएसँगै बाटोघाटो, पोखरी, कुवाँ र जिर्ण अवस्थामा आएपछि इतिहास वर्णित जलाशयलाई सरसफाइ गरी बेहुली झैँ सिङ्गारिर एकै ठाउँमा समाजका ब्राहमण देखि डोम समाजसम्मको व्यक्तिहरु पूजाआजा गर्ने भएको हुनाले उुले सामाजिक सदभाव कायम गर्ने पर्वको रुपमा पनि मनाईन्छ ।
आस्थाको महापर्वका रूपमा छठ पर्व वर्षमा दुईपटक मनाउने गरिन्छ । शरद् ऋतुको कार्तिक षष्ठीका दिन र अर्को वसन्त लागेको चैत महिनाको षष्ठीका दिन मनाइने पर्वमा श्रद्धालुमा अन्य पर्वभन्दा भिन्नै उल्लास र आस्था हुन्छ ।
ज्योतिषशास्त्रका आधारमा छठ पर्वको समयमा ब्रम्हाण्डमा सूर्य दक्षिणायनतिर हुने भएकाले कन्या राशि समय पर्ने र यस बेलालाई सूर्यको प्रकाश प्रखर तथा प्रभावशाली र मानवका लागि आल्हादकारीसमेत मानिएको छ ।
भौतिक उर्जा, प्रकाश, आरोग्य, उपासना, आत्मोत्कर्ष, चतुष्प्रद फल, मोक्ष प्राप्ति, आयु, प्राण, आत्मोन्नति, व्रह्मचर्य तथा श्रद्धाको उदीयमान प्रतिक मान्दै सूर्यलाई अर्घ दिई छठ मनाईन्छ ।
संसारमा सूर्य पूजाको परम्परालाई हेर्ने हो भने सबै सभ्यता, धर्म, समुदाय र युगमा सूर्यको पूजा भएको पाइन्छ । बेबोलोनका निवासीले सूर्यलाई पूजा गर्थे भने युनानी परम्परामा आज पनि सूर्यलाई अपोलोको रूपमा पूजाआजा गर्ने गरिन्छ ।
छठ नेपालको एउटा प्रमुख र मिथिलाको सर्वप्रमुख पर्व हो । सूर्य जगतको आदि कारण भएकोले आदित्य, उर्जा–शक्ति उत्पत्ति गर्ने स्रोत को रुपमा चिनिन्छ । सौर्य–शक्तिलाई जन्म दिने जननीको प्रतिक पनि मानिन्छ ।
मिथिलांचलमा यस सूर्यपूजालाई पराशक्ति प्रकृति पूजाको रुपमा, लोकविधि–विधानानुसार परम्परागत रुपले पूजा गर्ने परम्परा छ । यसै तिथि–मितिमा छठिमाईको पूजा सूर्यपूजा सँगै गरिन्छ । मिथिलामा छठिमाईको आसि र सत्या असीम र अटूट रुपमा मानिन्छ । छठीमाईको जन्म प्रकृतिको छैठौं अंशबाट भएको हो र यसैकारणले उहाँको नाउ छठी मैया पर्न गएको हो । साथै अर्को रुपमा अनआर्यहरुले सुुर्यलाई स्त्रीय देवताको रुपमा पुजा गर्छन, त्यसैले आजका दिन सुुर्यलाई पुजा गरेपछि छठि मैया भनिन्छ ।