नाटक “ढकियामे नागरिकता’’ किन हेर्ने ?

काठमाडौँ । मधेश भन्ने बित्तिकै तपाईंको मनमा के आउछ ? सङ्घीय राजधानी काठमाडौंमा बसेर कुरा गर्ने हो भने मधेश भनेको मधेशी बोल्ने, घुम्टो ओढ्ने महिलाहरू, धोती लगाउने लगायत सम्झना आउँछ होला । तर, नेपालकै एउटा महत्वपूर्ण भाग रहेको मधेशमा कस्ता पीडा छन् त्यसका बारेमा बुझ्न शासन र सत्तामा रहेकाले अझै बुझ्न सकेका छैनन् । मधेशका विभिन्न समस्या र पीडा मध्यको एक जो आजसम्म राष्ट्रिय मुद्दा बन्न सकेको छैन त्यो हो मधेशका झन्डै १० लाखभन्दा बढी नागरिक नागरिकताविहीन छन् ।

सदियौदेखि बसोबास गर्दै आएका ती नागरिक आखिर किन नागरिकताबिहीन छन् ? त्यसका लागि सरिता साहद्वारा निर्देशित नाटक “ढकियामे नागरिकता’’ ले जवाफ दिन्छ ।

कथा देहातको ग्रामिण जीवनको कर्मकाण्डबाट सुरु हुन्छ । एउटा परिवार आफ्नो जीवनमा रमाईरहन्छ । कथा एउटा किसान परिवारको घर र छिमेकको वरपर घुम्छ । किसान परिवारको मूल नेतृत्व गर्ने मंगला पण्डित(राज शर्मा पंगेनी), श्रीमति (सुजिता साह), अनु (सरिता साह) र अर्जुन (अनिल कुर्मि) को वरपर घुम्छ ।

यो परिवारमा कुनै व्यक्तिसँग नागरिकता हुँदैन । बाउबाजे, पुर्खादेखि मंगला आफ्नो जीवनयापन गर्दै आएको हुन्छ । मंगला जो उमेरले ५४ वर्षको छ, उसहित उनको घरमा कसैको नागरिकता छैन ।

मंगलाकी छोरी अनु नागरिकता बिना जागिर नपाउने अवस्थामा पुग्छिन् र छोरा अर्जुनले १२ कक्षा पछि छात्रवृतिका लागि अब्बल हुँदाहुँदै पनि नागरिकता बिना अवसर गुमाउँछ । उनीहरूले नागरिकता पाउन के कस्ता समस्या भोग्नुपर्छ । समाजमा रहेको अनेकौ नागरिकताको सबाल समस्याको चित्रण हो ढकियामे नागरिकता । नेपाल सरकारको नीति र नियममा भएका त्रृटिहरूको चित्रण हो नाटक “ढकियामे नागरिकता’’ ।

नागरिकता पाउन एउटा समान्य मानिसले कति दुःख पीडा सहनुपर्छ भन्ने कुरा नाटकले कडा रुपले प्रस्तुत गरेको छ । यी सबै कुरा चित्रण हेर्न शिल्पी थिएटर पुग्नैपर्ने हुन्छ ।

करिब एक घण्टा तीस मिनेटको नाटकले मान्छेलाई एकदम मनखादै कथावस्तुमै बाध्न् सफल भएको छ । निर्देशक सरिता साहले देहात सम्वाद गज्जब तरिकाले समेटेको छ।

पहाडिया शासकदेखि नेताको मीठा र लोभ्याउने तरिका पनि समेटेको छ नाटकले । वडाअध्यक्षदेखि वडा सचिवले गर्ने कर्तुत र झुठो आश्वासन जस्ता कुरा पनि अटाएको छ ।

कथाले भाई बहिनीको प्रेम गाउँघरमा एकै परिवारमा हास्य व्यंग्य, रोदन र छिमेकको साहनुभुतिजस्ता कथा बडो रोचक तरिकाले समेटेको छ ।

लेखक निर्देशक सरिता साहको प्रस्तुति अझ बलियो बन्दै गरेको देखिन्छ । मुख्यपात्रको भुमिकामा रहेकी उनले अब्बल प्रस्तुती दिएकी छिन् । यसअघि उनले दुई नाटक निर्देशन गरिसकेकी छिन् ।

छोरी, दिदी र नन्दको भुमिकामा रहेकी सरिताले चाखलाग्दो अभिनय गरेकी छिन् । आमाको भुमिकामा रहेकी सुजिता साहको अभिनय एकदमै जीवन्त छ । मधेस घर भएकाहरुले उनको अभिनय सटिक र एकदमै मिल्दोजुल्दो देखिन्छ । यसअघि ‘लु’ नाटक र केही सडक नाटक गरेकी उनले यस नाटकमा दमदार प्रस्तुती दिएकी छिन् ।

अर्जुनको भुमिकामा रहेका (अनिल कुर्मी) ले पनि एकदमै राम्रो अभिनय गरेको देखिन्छ । बुवाको भुमिकामा रहेका मंगला (राज शर्मा पंगेनी) पनि पुरै नाटक बुवाले देखाउने आँट र साहस देखाउन सफल भएका छन् ।

रमिता यादवको सानो अभिनय भएपनि आफ्नो अभिनयमा अब्बल देखिएकी छिन् ।

नाटकमा सरिता साह, अनिल कुर्मि, सुजिता साह, रमिता यादव, राज शर्मा पंगेनी, विकास जोशी, सुदिप जंग कार्की, आदित्य मिश्रा, आकाश झा, सुस्मिता पोखरेलको अभिनय रहेको छ।

नाटकले गीत सङ्गीत र सामाचकेवा जस्ता पर्वलाई पनि एकदम रोचक तरिकाले समेटेको छ । हास्यव्यङ्ग र घर घरमा हुने किचलो जस्तो दृश्यले आफ्नो घरको कथा भने जस्तो लाग्छ । यो नाटक भोलिसम्म शिल्पी थिएटरमा चल्नेछ ।

नाटक हेरेपछि : तराई मधेशका मान्छे नेपाली बोल्न नजान्दा, भारतबाट श्रीमति भित्र्याउँदा जस्ता अनेकौ कुराले नागरिकताबाट बञ्चित हुनुपरेको घटनाको यथार्थ चित्रण हो नाटक “ढकियामे नागरिकता’’ ।

तस्वीरहरु : सामाजिक संजालबाट

प्रतिक्रिया
रोशन यादव