युक्रेन–रुस युद्ध : आगामी २४ घन्टा युक्रेनका लागि महत्त्वपूर्ण, परमाणु आक्रमण गर्ने रुसको तयारी

एजेन्सी । युरोपिय मुलुक युक्रेनमाथि रुसले आक्रमण सुरु गरेको ५ दिन भएको छ । बिहीवार बिहानैदेखि रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको हो । शोभियत सङ्घबाट बाहिरिएको युक्रेन पश्चिमा मुलुकहरूको सैन्य सङ्गठन नेटोमा सहभागि हुने भएपछि रुसले युक्रेनमाथि कब्जा गर्नका लागि युद्ध सुरु गरेको हो ।

विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार रुसले युक्रेनमाथि विभिन्न दिशाबाट आक्रमण गरिरहेको छ । जसका कारण युक्रेनी नागरिक मात्रै होइन त्यहाँ रहेका अन्य मुलुकका नागरिक पनि त्रसित बनेका छन् भने विचल्लीमा छन् ।

रुसको आक्रमण सहन सक्ने अवस्था कमजोर हुँदै गएको र आफूसँग भएका हथियारहरू सकिन लागेको भन्दै युक्रेनले विभिन्न मुलुकसँग सहयोग पनि मागेको छ । रुस आक्रमणको तेस्रो दिनमा अमेरिका, युरोपियन युनियनले हथियार सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । तर, हालसम्म ती सहयोग भने पुगेको छैन ।

युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले आगामी २४ घन्टा युक्रेन र युक्रेकी सेनाका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् ।

युक्रेनका विभिन्न भागमा रुससँग युद्ध चलिरहेको अवस्थामा बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनसँग टेलिफोन वार्ताका क्रममा युक्रेनका राष्ट्रपति जेलेन्स्कीले अबको २४ घण्टा महत्त्वपूर्ण हुने बताएका हुन् ।

युक्रेनको प्रतिरक्षाका लागि आवश्यक पर्ने सहायता यूके र साझेदार राष्ट्रहरूबाट उसले प्राप्त गर्ने विषयमा यूकेले हरसम्भव प्रयास गर्ने जोन्सनले थपेका छन् ।

यसैबीच, युक्रेनी सेनाले युक्रेनमाथि आक्रमण गर्दै विभिन्न भागमा कब्जा गरेको बताएको छ । आफ्नो फेसबुक पेजमा युक्रेन सेनाको सशस्त्र बलका जनरल स्टाफले आइतवार जानकारी दिँदै युक्रेनी सेनाका लागि वर्तमान समय निकै नै संवेदनशिल र अप्ठ्यारो रहेको बताएको हो ।

सेनाका अनुसार रुसी सेनाले सबै दिशाबाट आक्रमण गरिरहेको र सबै क्षेत्रमा विस्फोट गराइरहेका छन् । पछिल्लो जानकारी अनुसार रुसी सेनाले दक्षिणी बन्दरगाह बर्दियान्स्कमाथि कब्जा गरिसकेका छन् । युक्रेनका उप रक्षा मन्त्रीले हालसम्म युद्धमा ४ हजार ३ सय युक्रेनी सेना मारिएका छन् । तर, यो सङ्ख्या बढ्न सक्ने पनि सेनाले बताएको छ ।

यता, रुसले युक्रेनमाथि आक्रमणका लागि परमाणु मिसाइल तयारी अवस्थामा राख्न आदेश दिएको छ । ४ दिन अघि युक्रेनमाथि आक्रमण सुरु गरेको रुसले युक्रेनमाथि कब्जा गर्नका लागि परमाणु मिसाइलबाट आक्रमण गर्नका लागि तयारी अवस्थामा रहन आफ्ना सेनालाई आदेश दिएको हो ।

रुसले परमाणु मिसाइल तैनात गरेपछि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलिन्स्किीले रुससँग वार्ता गर्नका लागि आफू तयार रहेको बताएका छन् ।

बेलारुसको सीमा क्षेत्रमा पर्सिका लागि तय भएको वार्तामा ३५ मुलुकका प्रतिनिधि सहभागि हुने बताइएको छ । तर, अमेरिका र बेलायतले वार्ताप्रति आशङ्का जनाएको छ । अमेरिका र बेलायतले वार्ताका लागि युक्रेन तयार भएपनि रुसले आक्रमण नरोक्ने भएकाले वार्ताको औचित्य नहुने टिप्पणी गर्दै आएको छ ।

यस्तै, फ्रान्सले आफ्ना नागरिकलाई रुस छाड्न आदेश दिएको छ । युरोपिय सङ्घले आफ्नो हवाई क्षेत्र रूसी विमानका लागि प्रतिबन्ध गरेको नयाँ नियमको घोषणा गरेसँगै फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोले रुसमा रहेका आफ्ना नागरिकलाई सक्दो चाडो रुस छाड्न अपिल गरे ।

रूस र युरोपबीच हवाई यातायातमा बढाइएको प्रतिबन्धका कारण फ्रान्सका नागरिक जो पर्यटक, व्यावसाय वा अध्ययनका लागि रुसमा छन् उनीहरूलाई तत्काल रुस छाड्न भनिएको छ ।

यता बेलारुसले युक्रेन युद्धमा सहयोग गर्नका लागि आफ्ना सेना रुस पठाउने भएको छ । रुसी सेनालाई आधारक्षेत्र प्रदान गरेको बेलारुसले युक्रेनमा गरिएको आक्रमणमा सघाउन अब आफ्नो सेना नै पठाउने तयारी गरिरहेको रिपोर्टहरूमा जनाइएको छ ।

द किभ इन्डिपेन्डन्टले थुप्रै स्रोतलाई उद्धृत गर्दै बेलारुसले युक्रेनमा आफ्नो फौज परिचालन गर्न सक्ने जनाएको छ । लामो समयदेखि रुसको साझेदारका रूपमा रहेको बेलारुसको उत्तरी सीमा युक्रेनसँग जोडिएको छ ।

यसअघि आइतवार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना बेलारुसी समकक्षी एलेक्सेन्डर लुकाशेन्कोले आफ्नो फौज नपठाउने प्रतिबद्धता टेलिफोनमार्फत् जनाएको बताएका थिए ।

यसैबीच, रुसमाथि पश्चिमी मुलुकले प्रतिबन्ध लगाउन थालेपछि रुसी मुद्रा घटेको छ । अमेरिकी डलरको तुलनामा रुसको मुद्रा रुबल ३० प्रतिशतले घटेको बताइएको छ । यस्तै युरोमा एक प्रतिशतले कमी आएको छ भने तेलको मूल्यमा वृद्धि भएको छ ।

युक्रेनमाथि आक्रमण गरेको विरोधमा पश्चिमी मुलुकहरूले रुसमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाउन थालेका छन् । रुसमा मानिसहरू पैसा झिक्नका लागि बैङ्क र एटीएम बाहिर लामो लाइन लगोका छन् । रुसको केन्द्रीय बैङ्कमाथि युरोपीयन सङ्घले प्रतिबन्ध लगाएपछि रुसले अब ६ सय ३० अर्ब डलरको विदेशी मुद्रा भण्डारको प्रयोग गर्नबाट बञ्चित भएको छ ।

यसैबीच, युक्रेनको राजधानी किभमा सप्ताहान्तदेखि लागु गरिएको कर्फ्यू हटाइएको छ । भूमिगत स्थानमा आश्रय लिँदै आएका मानिसहरूलाई स्थानीय समयानुसार सोमवार बिहान ८ बजेबाट त्यहाँबाट जान दिइएको छ ।

अब खाद्यान्न पसलहरू खोल्न पाइनेछ भने सार्वजनिक यातायातका साधनहरू पनि पुनः चल्नेछन् । यद्यपि सबवे रेल सेवा पहिलाको तुलनामा निकै कम चल्नेछ ।

अधिकारीहरूका अनुसार राति १० बजेबाट सुरु भई भोलि बिहान ७ बजेसम्म फेरि कर्फ्यू लागु हुनेछ ।

किन सुरु भएको हो विवाद ?

युक्रेन र रुसबीचको विवाद ९ वर्ष अघि सुरु भएको हो । कुनै बेला शोभियत सङ्घको सदस्य रहेको युक्रेनले रुस समर्थित राष्ट्रपतिलाई पदबाट हटाएपछि दुई देशबीच विवाद सुरु भएको मानिन्छ । सन् २०१३ मा युक्रेनका तत्कालिन राष्ट्रपति भिक्टर यानुकोभिचलाई रुसको समर्थन थियो भने अमेरिका, बेलायत विरोधमा थियो । सन् २०१४ मा राष्ट्रपति यानुकोभिच विरोधको सामना गर्न नसकेर देश छोडेर भाग्नुप¥यो ।

आफू समर्थित राष्ट्रपतिले देश छाडेपछि रुसले युक्रेनको दक्षिणी भाग क्रिमियामाथि कब्जा ग¥यो र फरक मत राख्नेको पक्षमा उभियो । जानकारहरू त्यहि बेलादेखि रुस र युक्रेनबीच विवाद सुरू भएको ठान्छन् । सन् २०१५ मा फ्रान्स र जर्मनीले बेलारुसको राजधानी मिन्स्कमा रुस–युक्रेनबीच शान्ति सम्झौता गराउँदै सङ्घर्ष विरामको सहमति बन्यो । तर, रुसले सम्झौताको उल्लङ्घन गर्दै आएको युरोपको आरोप छ ।

१९४९ मा शोभियत सङ्घसँग प्रतिस्पर्धा गर्न गठित नेटो सेना (जहाँ अमेरिका, बेलायतसहित विश्वका ३० मुलुक आवद्ध छन्) रुसले यसको विरोध गर्ने गरेको छ । युक्रेन नेटोको सदस्य नभए पनि उसको समर्थन छ, जुन रुसलाई चित्त बुझेको छैन ।

प्रतिक्रिया
नागरिक मिरर